सरकारले एकै पटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय,निकाय,कार्यालय,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका ती सहसचिवहरुको सरुवा गरिएको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार ४५ जना प्रशासन सेवाका सहसचिवहरु रहेका छन् भने ८ जना इञ्जिनियरिङ र बाँकी कृषि र वन सेवाका कर्मचारीहरु रहेका छन् । सरुवाको सूची अनुसार सचिव बढुवामा हुने लाइनमा रहेका कमल प्रसाद भट्टराईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा खटाइएको छ भने लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट कविन्द्र नेपाललाई प्रधानमन्त्री कार्यालय,गण्डकी प्रदेशबाट रमेश नेपाललाई काजमा युवा तथा खेलकुद मन्त्रालयमा खटाइएको छ ।
मोतिराम सापकोटालाई लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा खटाइएको छ । यस्तै,राष्ट्रपति कार्यालयबाट सुशील ढकाल भूमि व्यवस्था मन्त्रालय,यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा निजी सचिव रहेका विनोद कुँवरलाई समावेशी आयोगमा खटाइएको छ । राष्ट्रपतिको कार्यालयबाट प्रदीप कोइराला भूमि मन्त्रालयमा आइपुगेका छन् ।
सरुवाको सूची हेर्दा १८ जना सहसचिवहरु प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएर गएका छन् भने १२ जना सहसचिवहरु प्रदेशबाट सिंहदरबार आएका छन् ।
संघीय कार्यालयबाट प्रदेशका कार्यालयमा सरुवा भएका सहसचिवहरुमा कमल प्रसाद भट्टराई मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,उर्जाबाट देवराज निरौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश,कृषि मन्त्रालयबाट पशुपति ढुंगनालाई कोशी प्रदेश,उर्जाबाटै योगेन्द्र मिश्रलाई कर्णाली प्रदेशमा खटाइएको छ ।
यस्तै,वन मन्त्रालयबाट नवराज पुडासैनीलाई बागमती प्रदेश,कृषिबाट संजयकुमार यादवलाई मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
यस्तै,लमजुङको प्रमुख जिल्ला अधिकारी रहेका डा टेकराज पाण्डे दुई महिना नबित्दै गण्डकी प्रदेशमा खेदिएका छन् । गृहबाटै खिमबहादुर रायमाझीलाई लुम्बिनी प्रदेश,उद्योगबाट विपिन आचार्यलाई कर्णाली पुर्याइएको छ भने लामो समयदेखि लोकसेवा आयोगमा रहेकी गीताकुमारी होमेगाई बागमती प्रदेश,लगानी वोर्डबाट आस्मान तमाङलाई कोशी प्रदेश,राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट शेषनारायण पौडेललाई गण्डकी प्रदेश,पूर्व सचिव मधु मरासिनीको भाइ अर्थबाट उद्योग हुँदै लुम्बिनी प्रदेशतिर पठाइएको छ ।
यस्तै,गृहबाट कृष्ण लम्साल गण्डकी,नारायण रिसाल कोशी,लिला शर्मा कर्णाली,बन्धु बास्तोलालाई लुम्बिनी,कृषिबाट जीवनाथ भुषाललाई बागमती प्रदेशमा खटाइएको छ ।

























