अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको रकम हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले कामै नगरी सरकारी रकम हिनामिना गरेको भेटिएसँगै वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष,सचिव,कोषाध्यक्ष र लेखापरीक्षकविरुद्ध मुद्धा दायर गरेको हो ।
बिज्ञापन
अख्तियारका अनुसार जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित ‘चुली डडमेला सामुदायिक वन उपभोक्ता समूह’ का तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकहरुले काम नै नगरी नक्कली बिल भरपाई बनाएर सरकारी रकम हिनामिना गरेको भेटिएसँगै उनीहरुविरुद्ध विशेषमा मुद्धा लगेको हो ।
बिज्ञापन
अख्तियारका अनुसार, वनमा आगलागी नियन्त्रणका लागि ५२ जना खटिएको भन्दै २ लाख ३७ हजार ५०० रुपैयाँको नक्कली भरपाई बनाएर खाएको तथा वन हेरालु नै नराखी ९० हजार रुपैयाँ तलब बापत खर्च देखाएको भेटिएको छ । यस्तै,वन समूहको निर्णय पुस्तिकामा ४ लाख ७३ हजार रुपैयाँ खर्च भएको देखाइएको सो कामै नभएको भेटिएको अख्तियारले स्थलगत निरीक्षण गर्दा फेला परेको छ ।
अख्तियारले वन समूहका तत्कालीन अध्यक्ष अमृते दमाई र कोषाध्यक्ष धनसरी राना विरुद्ध ९ लाख ६५ हजार ८७३ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको माग गरेको छ।
यस्तै, तत्कालीन सचिव रामकुमारी राना विरुद्ध ८ लाख ४० हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ। घटनामा दर्तावाल लेखापरीक्षक भोजराज शर्मा पाण्डेको समेत मिलेमतो देखिएको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।आयोगले अनुसन्धानका क्रममा पदाधिकारीहरूले वनको रकम निकासा गरी आफूखुसी चलाएको र त्यसलाई छोप्न विभिन्न नक्कली शीर्षक खडा गरेको पाइएको देखिएसँगै अध्यक्ष दमाईं र कोषाध्यक्ष राना, लेखापरीक्षक पाण्डेसहितलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको माग गरेको छ ।


























