हाकिम माग्दै जनप्रतिनिधिहरू मन्त्रालयतिर धाइरहेका छन् अनि खटाइएका अधिकृतहरू हाजिर गर्नै दिइएन भन्दै मन्त्रालयमा ताँती लागिरहेका छन् !
बिज्ञापन
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले गत भदौं १३ मा देशैभरका स्थानीय तह निमित्तको राज अन्त्य गरिएको दावी गरेकी थिइन । सो समयमा १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकामा ती स्थानीय तहमा उपसचिव र शाखा अधिकृतहरुलाई खटाइएको थियो । मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो। यस क्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर ती कर्मचारीहरुलाई स्थानीय तहमा खटाएको जनाइएको थियो ।
बिज्ञापन
तर यसरी खटाइएकामध्ये ७० प्रतिशत कर्मचारी दुई महिना पूरा हुँदा सम्म ती स्थानीय तहमा हाजिर भएका छैनन् । केहीले स्वास्थ्य र पारिवारिक समस्या देखाएर सिंहदरबारमै फिर्ता हुन बल गरिरहेका छन् भने २४ जना हाकिमहरु स्थानीय तहमा पुगेर पनि हाजिरै हुन पाइएन भन्दै मन्त्रालयमा फिर्ता भएका छन् । केहीलाई फ्रेस र अनुभवविहिन भन्दै फिर्ता पठाइएको छ भने निमित्तको राज हट्दा अनियमितता गर्न नपाइने भएका कारण कतिपय स्थानीय तहहरुले हाकिमलाई फिर्ता पठाइदिएका छन् । लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई केन्द्रित गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञानको अभाव छैन भन्दै दुई दर्जन पालिकाले फिर्ता गराउन थालेपछि सामान्यको टाउको दुखाई हुने नै भयो ।
सामान्यको कर्मचरी प्रशासन,स्थानीय कर्मचारी प्रशासन शाखा हेर्ने कर्मचारीहरुको कमजोरीका कारण यस अघि खटाइएकामध्ये ७० प्रतिशत कर्मचारीहरु धमाधम सरुवा उल्टाउन केन्द्रित छन् ।
निजामती सेवा नियमावलीले कर्मचारीलाई सरुवा गरिएको २१ दिनभित्र सम्बन्धित कार्यालयबाट रमाना लिई खटाइएका कार्यालयमा हाजिर हुन जानुपर्ने व्यवस्था गरेको भए पनि विभागीय मन्त्रालयको लाचारीपनाका कारण कर्मचारीहरु स्थानीय तहमा पुगेका छैनन् । अझैं १७९ स्थानीय तहमा निमित्तकै राज चलिरहेको छ ।मन्त्रालयले यसरी खटन पटन गरेकामध्ये ९६ अफिसरहरुमात्र पालिकामा पुगेर काम गरिरहेका छन् । २४ अधिकृतहरु बाटैबाट फिर्ता भएसँगै १७० बढी अफिसर तहका कर्मचारीहरु सिंहदरबारमै हल्लिएर तलब पचाइरहेका छन् ।
बिज्ञापन
गत १३ भदौंमा खटाइएका हाकिमहरु हाजिर हुन नपुगेपछि मन्त्रालयले भदौ ३१ र असोज २१ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारीलाई रमाना दिन सम्बन्धित कार्यालयलाई परिपत्र गरेको थियो ।
यस अघि पनि मन्त्रालयले फ्रेस अफिसरलाई स्थानीय तहमा खटाउँदा २० भन्दा बढी बाटैबाट फर्किएका थिए । यसरी जनप्रतिनिधिले हाजिर हुन नदिएका ती महिला अफिसरलाई कर्मचारी थन्काउने अड्डाका रूपमा परिचित जिल्ला समन्वय समितिमा खटाइएको थियो ।


























