संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको तीन सातासम्म पनि उपसचिव र शाखा अधिकृतहरु सम्बन्धित स्थानीय तहमा नपुगेको भन्दै उनीहरुलाई तत्काल रमाना दिन पत्राचार गरेको छ ।
मन्त्रालयले गत भदौं १२ गते विभिन्न स्थानीय तहहरूमा कामकाज गर्नका लागि उपसचिव र शाखा अधिकृतहरुलाई खटाइएको थियो । यसरी खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूमध्ये अधिकांश कर्मचारीहरू हालसम्म पनि खटाइएको स्थानीय तहमा हाजिर हुन नगएको भेटिएसँगै मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिएर पठाउन मन्त्रालय,आयोग,सचिवालय र निकायलाई परिपत्र गरेको छ ।
बिज्ञापन
भगवति न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पारिएको दावी गरिएको थियो । उनको कार्यकालमा भदौं दोश्रो साता १०५ नगरपालिकामा उपसचिव र ८६ गाउँपालिकामा शाखा अधिकृतहरु खटन पटन गरिएको दावी गरिए पनि विकशित राजनीतिक घटनाक्रमपछि अधिकांश उपसचिव र शाखा अधिकृतहरु खटाएको ठाउँमा नगएको पाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
निमित्त अधिकृतका भरमा सञ्चालन भइरहेको स्थानीयतहहरुमा पूर्ण जिम्मेवारीसहितका मन्त्रालय,आयोग,सचिवालय,निकाय अन्तर्गत कार्यरत कर्मचारीहरूलाई स्थानीय तहमा कामकाजका लागि खटाएको थियो । मन्त्रालयले स्थानीय तहमा प्रभावकारी सेवा प्रवाह र वित्तीय सुशासन सुनिश्चित गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको जनाएको थियो ।
यसरी खटाइएका कर्मचारीहरु स्थानीय तहमा नगए पछि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको पदमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई निजामती सेवा ऐन तथा नियमावलीमा उल्लेख भएका प्रावधान बमोजिम यथाशीघ्र रमाना दिई पठाउन आग्रह गरेको छ ।
मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै कर्मचारीहरूलाई खटाइएको स्थानीय तहमा पठाउन मन्त्रालय,आयोग,सचिवालय,निकायहरूलाई आग्रह गरेको हो