जेनजी पुस्ताको प्रर्दशन अराजक भए पछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले थप विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ । यस अघि बानेश्वर क्षेत्रमा मात्र जारी गरिएको कर्फ्यु आदेशलाई बानेश्वरका अलावा सिंहदरबार, राष्ट्रपति कार्यालय महाराजगञ्ज, उपराष्ट्रपति कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय लगायत क्षेत्रमा समेत कर्फ्यु लगाइएको हो ।
बिज्ञापन
प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी भएको आदेशअनुसार, काठमाडौँ महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, वा घेराउ गर्न पाउने छैन भन्दै आदेश जारी गरेको हो ।
बिज्ञापन
जस अनुसार,शितल निवास महाराजगन्ज क्षेत्र, उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोल्सासम्म कर्फ्यु लागेको छ ।
त्यस्तै, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म,नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म र सिंहदरबार क्षेत्रमा पनि भद्रकाली मन्दिरको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मावि मोडसम्म कर्फ्यु आदेश जारी भएको छ ।
बिज्ञापन
पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म जारी भएको प्रशासनले जनाएको छ ।
काठमाडौँको अनामनगरस्थित हनुमानथान हुँदै सिंहदरबारको गेटतर्फ आउने सडकमा सवारीमा रोक लगाइएको छ। यो क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ।
माइतीघरतर्फबाट भने सवारी अनामनगरतर्फ जान दिइएको छ। जेनजीको प्रदर्शन उग्र बनेसँगै सिंहदरबारसहितका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।
प्रदर्शनका क्रममा अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । सयौं घाइतेहरुमध्ये केहीको ट्रमा सेन्टर र केहीको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।