काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेर सञ्चालित एक बोर्डिङ स्कूलमा डोजर चलाएको छ । धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको टोलीले लोयल्टी एकेडेमीको कम्पाउण्डमा डोजर चलाएको हो ।
बिज्ञापन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका पूर्व अध्यक्ष समेत रहेका विजय सम्बाहाम्फेद्धारा सञ्चालित सो विद्यालयले सरकारी जग्गा मिचेर विद्यालय सञ्चालन गरेको पाइएपछि उपत्यका विकास प्राधिकरणबाट खटिएको टोलीले शनिवार अपरान्ह सो विद्यालयमा डोजर चलाएको हो । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको र झण्डै पाँच रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएसँगै त्यहाँ डोजर लगाइएको हो ।
बिज्ञापन
निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर र नक्सा सुधार गरिएको लालपुर्जा दिइएको भेटिएको थियो । साम्वाहाम्फे लोयल्टी स्कुलका सञ्चालकसमेत हुन्। उनी र उनकी श्रीमतीका नाममा मात्रै पाँच रोपनी सरकारी जमिन दर्ता भएको र सोही जग्गामा लोयल्टी एकेडेमी सञ्चालन हुँदै आएको थियो ।
धोबीखोला क्षेत्रको जमिन व्यक्तिका नाममा दर्ता भएको विषयमा छानबिन गर्न चाबहिल मालपोत कार्यालयका तत्कालीन प्रमुख शंकरप्रसाद भेटवालको संयोजकत्वमा समिति बनेको थियो। समितिले निलो पुलदेखि लोयल्टी स्कुल हुँदै एकता बस्तीसम्मको धोबीखोलाकिनारको जमिन अतिक्रमण गरी भौतिक संरचना बनाइएको प्रतिवेदन बुझाएको थियो। समितिले प्रतिवेदन बुझाएको लामो समयपछि आज काठमाडौं उपत्यका विकास प्राधिकरणको टोलीले सरकारी जग्गा अतिक्रमणकारीको जग्गामा आज डोजर चलाइएको हो ।
बिज्ञापन
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून अधिकृत) घनश्याम पौडेलको उपस्थितिमा लोयल्टी एकेडेमीको कम्पाउण्डमा डोजर चलाइएको हो।