भिभिआइपी क्वार्टरकै आडमा विदेशी धर्मको प्रचार प्रसार ! त्यो पनि एक दुई वर्षदेखि होइन कि डेढ दशकदेखि ।
उपप्रधानमन्त्री, उपसभामुख, मन्त्री, प्रदेश प्रमुखहरूका निम्ति भव्य बंगला छ भैँसेपाटीमा । सोही बंगलाबाट २ सय मीटर नजिकै बस्दै आएका छन्, डेनिएल्स क्रोनी, १५ वर्षदेखि । अमेरिकन नागरिक पाँच तल्ले घर भाडामा लिएर पत्नी र बालबच्चासहित ६ सदस्य बस्दै आएका छन् । भिजिट भिसामा आएका उनले स्टडी हुँदै बिजनेश भिषा लिन थालेको डेढ दशक बित्यो । कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नै नामबाट कर्लिस पब्लिकेशन प्रा लि दर्ता गराएका छन् तर त्यसले कुनै प्रकाशन गर्दैन बरु भाडाको घरको चार तल्लामा २० भन्दा बढी १६ वर्ष मुनीका बालबालिका राखिएको छ । ती दुर्गम हिमाली जिल्ला डोल्पा, मुगुबाट ल्याइएका हुन् । अनाथ आश्रम चलाएर पुण्य कर्म गरिरहेका उनको खास कामबारे धेरैलाई थाहै थिएन । बालबालिकालाई ललितपुर बसपार्क, लगनखेललगायत विभिन्न क्षेत्रमा क्रिश्चियन धर्म प्रचार प्रसारका लागि प्रयोग गर्दै आइरहेको बताइन्छ । नेपाली राम्रोसँग बोल्ने उनी मोटरसाइकल चलाएर धर्म प्रचार गर्दै हिँड्ने गरेको भेटिएसँगै अध्यागमनको हिरासतमा छन् ।
बिज्ञापन
एकाथरि भिसा लिएर अर्कैथरी काम गर्दै आएका तीन इण्डोनोसियन समेत उसैगरी पक्राउ परेका छन् । मुस्लिम धर्मको प्रचार प्रसार गर्ने तिनलाई उसैगरी अध्यागमन कार्यालयले ललितपुरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । धोबिघाटमा हिमालय शिक्षा र हितैसी गल्र्स होस्टलका नाममा धर्म प्रचार गर्ने तिनलाई ५ गते पक्राउ गरिएको हो । ती होस्टेलमा करिब ५० जना छात्रालाई कुरान पढाइराखेको अवस्थामा विभागका निर्देशकसमेतको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । धर्म प्रचारका लागि साह इन्टरनेशनल र युकेको एक धर्म प्रसार संस्थामार्फत् बर्षेनी २ करोड ५० लाख रुपैयाँ आउने गरेको ललितपुरकै ज्वागलमा समेत व्वाइज होस्टेल राखी विभिन्न जिल्लाका बासिन्दालाई कुरान पढाउने गरेको अध्यागमनका निर्देशक टिकाराम ढकालले जनाए ।
बिज्ञापन
विभागका अनुसार, यसबीच बङ्गलादेशका ६, चीनका सात, अमेरिकाका तीन, पाकिस्तानका ३, कोरिया, फ्रान्स, रसिया लगायतका गरी ३० विदेशी नागरिकलाई डिपोर्ट गरिसकिएको छ । अहिले विभागको हिरासतमा विभिन्न मुलुकका ६ नागरिक छन् । कारागार व्यवस्थापनको रेकर्डमा असार महिनासम्ममा कूल कैदीमध्ये झण्डै ५ प्रतिशत अर्थात् १४२७ विदेशी छन् । जसमा अधिकांश भारतीय र बाँकी पाकिस्तान, बेलारुस, जाम्बियन, तिव्बेतियन र क्यानेडियन छन् ।