निजामती सेवामा महिला सचिवको संख्या ८ पुगेको छ ।
बिज्ञापन
आज बिहान बसेको न्याय सेवा आयोगको बैठकले एकै पटक दुई जना महिला सहसचिव सचिवमा बढुवा गरेसँगै महिला सचिवको संख्या ८ पुगेको हो ।
बिज्ञापन
सोमबार विहान बसेको न्याय सेवा आयोगको बैठकले कानून समूहका दुई सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा सिफारिस गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएपछि वरिष्ठतम सहसचिव निर्मला अधिकारी भट्टराई सचिवमा बढुवा भएकी हुन । जेठ २८ गतेदेखि नै सचिव पद खाली भए पनि निर्मलालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा उनलाई कामु सचिवको जिम्मेवारी दिएर पठाइएको थियो । ०६७ साल साउनमा महिला कोटाबाट कानुन समूहको शाखा अधिकृत भएकी निर्मला पेन्सनबाटै बञ्चित हुनुपर्ने स्थिति थियो । तर केही ढिलो गरी बढुवा हुँदा उनले पेन्सन पाउने भएकी हुन ।
सत्य निरुपणमा कार्यरत रहेका सचिव पाराश्वर ढुंगानाको कानुन मन्त्रालयमा सरूवा भएपछि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निर्मलालाई त्यहाँ कामु सचिवको जिम्मेवारी दिएको थियो । नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठले पनि ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै अर्की सहसचिव इन्दिरा दाहाल भट्टराई सचिव बढुवा भएकी हुन ।
बढुवा पछि सत्य निरुपण तथा मेलमिलाप आयोगको सहसचिव रहेकी निर्मला बढुवापछि पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमै रहनेछिन् । उनी बढुवाको सिफारिस हुनुअघि कामूको जिम्मेवारीमा थिइन् । यस्तै निर्वाचन आयोगमा दरबन्दी रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा कार्यरत सहसचिव इन्दिरा नेपाल कानून आयोगमा सिफारिस भएकी छिन् ।
बिज्ञापन
यी दुई सचिवमा बढुवा भएसँगै निजामती सेवाको सबैभन्दा सर्वोच्च पद सचिवमा कार्यरत महिलाको संख्या ८ पुगेको छ । जसअनुसार सञ्चार तथा सूचना मन्त्रालयमा राधिका अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लक्ष्मीकुमारी बस्नेत, ऊर्जा जलस्रोत तथा सिचाइँमा सरिता दुवाडी, खानेपानी मन्त्रालयमा प्रमिला देवी बज्रचार्य कार्यरत छन्। यसैगरी महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षकको पदमा बिन्दू श्रेष्ठ, कोशी प्रदेशको प्रमुख सचिवमा चन्द्रकला पौडेल सचिवको रुपमा कार्यरत रहेका छन् ।