”नेताहरू नेता होइन, जोकर भन्ने छाप अन्तर्राष्ट्रिय रुपमा परिसकेको छ”

२०४८, ०५१ र ०६४ मा कपिलवस्तुबाट चुनाव जितेका र पटक–पटक  मन्त्रीसमेत भइसकेका दीपकुमार उपाध्याय अहिले राजनीतिमा निष्क्रियप्रायः छन् । २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पर्यटनमन्त्री थिए । दोस्रो संविधानसभा चुनाव हारेपछि सुशील कोइराला नेतृत्वको सरकार हुँदा भारतका निम्ति राजदूत भए । ०७२ मा ओली सरकारले फिर्ता बोलायो । फेरि प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा नियुक्त भए । अवधि बाँकी छँदै आफ्नै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेको बेला चुनाव लड्न राजदूत पदबाट राजीनामा दिए । यसरी पद त्यागी–त्यागी चुनाव लडेका उनी बलदेव खनालबाट पराजित भए । खनाल पछि कृषिमन्त्री भए ।

बिज्ञापन

 

बिज्ञापन

० भारत–पाकिस्तान तनावको असर नेपालमा के–के पर्न सक्ला ?

‑ थुप्रै नेपाली युवा भारतीय सेनामा छन् । भिआइपीको सुरक्षादेखि फ्रन्ट लाइनमा डिफेन्ड गर्ने हाम्रै युवा छन् । यदि, भारत–पाकिस्तानको तनाव उत्कर्षमा पुग्यो भने त्यसको प्रत्यक्ष असर त्यहाँ पर्दछ । युद्ध भन्नेबित्तिकै विभिन्न सामाजिक, राजनीतिक, आर्थिक असर पनि परिरहेको हुन्छ । यदि यो तनाव लम्बियो भने झन पीडादायी हुन्छ । हाम्रो भूराजनीतिमा चीन र भारत, भारत र पाकिस्तानबीच द्वन्द्व हुने अनेकन कारणमध्ये सीमारेखा पनि एक हो । एक्सन कि रियाक्सन हुन्छ, जहाँ पनि । भारतमा यस घटनाका कारण तीव्र आक्रोश छ । यसलाई बुद्धिमत्तापूर्वक, मानवीय आधारमा, शान्तिपूर्वक, क्षति नपुर्‍याई कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

० पाकिस्तानीलाई भारतले देश छोड्न आदेश दिएपछि उनीहरु भुटानी शरणार्थीझैँ नेपाल आउने खतरा कत्तिको देख्नुहुन्छ ? 

‑ भारतीयलाई नेपाल आउन कुनै भिसा चाहिँदैन । पासपोर्ट होल्डरले आफ्नो आइडी कार्ड देखाएर सजिलै नेपाल आउन सक्छ । यही कारण नेपाल सरकार अझै चनाखो रहनुपर्ने स्थिति छ । त्यस्ता मानिस बिनाउद्देश्य त पक्कै आउँदैनन् । यसरी भित्रिएकाहरूलाई मानवीय व्यवहार नगरौँ पनि भएन । मानवीय व्यवहार गर्दा भारतले हाकाहाकी आतंकवादीलाई प्रश्रय दियो भन्न सक्छ । त्यही कारण अहिले हामी एकदमै चनाखो हुनै पर्छ ।

० अहिले भारतसँगको कूटनीतिक सम्बन्ध कुन तहको पाउनुहुन्छ ? 

‑ छताछुल्ल, लथालिंगै भयो । गर्न नहुने कुरा भए । भारतसँग सीमाना जोडिएको दक्षिणी भूभागमा ऊसँग नमिल्ने गतिविधि गर्न दियौं भने सुरक्षा थ्रेट गरेको सम्झन्छ । मनाङ, मुस्ताङ वा कतै पनि भारतीय वा अमेरिकनलाई त्यस प्रकारका गतिविधि गर्न दिएको खण्डमा चीनले रुचाउँदैन । अहिले हाम्रो कूटनीतिक अपरिपक्वता सतहैमा देखिने खालको भएको छ । उत्तर र दक्षिण दुवै छिमेकीले गुनासो गरिरहेका छन् । कहिले रियलाइज गर्ने ? अनेकन नाममा चिनियाँलाई खुला गतिविधि गर्न दिएका छौं । बिआरआईलाई मान्यता दिएका छौं । त्यसले भारतलाई के असर पारेको होला ? अर्काेतिर मुस्ताङमा भारतलाई के–के खोल्न दिने भनी निर्णय भएको भन्ने अखबारमा पढ्न पाइन्छ । स्वाभाविक हो यस्ता कुराले चीन झस्कन्छ । हामीले अनुमति नदिई कुनचाहिँ विदेशी आउँछ ?

० मोदी र ओलीबीच एकल वार्ता भयो बैंककमा । हाम्रा प्रधानमन्त्रीले ठीकै भयो भने पनि उताकाले धार्मिक र साँस्कृतिक कुरा भएको भनिरहनुभएको छ । त्यसको आशय के हो ? 

‑ कूटनीतिक रुपमा भेटघाट हुनु सुन्दर पक्ष हो तर व्यावहारिक पक्ष भनेको यस्ता भेटघाट र कुराकानीको परिणाम कुर्नुपर्ने हुन्छ । परिणाम कुर्दा कुनै तात्विक असर देखिनुपर्छ । त्यस्तो केही पाइन्न । भारतीय मन्त्री आएका छैनन् । ब्युरोक्रेटसँग द्विपक्षीय मिटिङ भइरहेको सुनिएकै छ तर न्यानोपना छैन । बिझेका कुरामा वार्ता र संवादमार्फत मल्हमपट्टी लाग्नुपर्ने हो । तर, त्यसो भएझैँ लाग्दैन ।

० कतिपयले भारतीय संस्थापन पक्ष हिन्दुत्वका नाममा राजतन्त्र फर्काउने तहसम्म गइरहेको भन्दै छन् । त्यस्तो गुञ्जायस देखिन्छ र ? 

– राजनीतिमा हरेक कुराको सम्भावना हुन्छ तर परिस्थितिको त्यसअनुसार मूल्यांकन गर्ने चलन हामीकहाँ छैन । यसबीच अनेकन तन्त्र फेरियो र गणतन्त्र आएको वर्षौं बित्यो तर अझै जनतामा राजनीतिप्रति वितृष्णा छ ? यो अवस्था आउनुमा दोषी को ? ठुल्ठूला भनिएका दल आलोपालो गरी सत्तामा छन् । देशलाई अगाडि बढाउन नसकिएको, देश आर्थिक रुपले अप्ठ्यारोमा परेको, युवालाई देशमा अड्याउन नसकेको, चरम निराशा बढेकोमा को जिम्मेवार ? लोकतन्त्र, गणतन्त्र जे भनिए पनि त्यसका प्राण अर्थात् मूल्य–मान्यता भनेको नैतिकता हो । नेतृत्व र नेतामा नैतिकताको खडेरी लाग्नु नै आजको स्थितिको प्रमुख कारण हो । मुलुकमा सुशासनको भाषण प्रशस्त सुनिन्छ । सुन्दर, शान्त नेपाल भनिन्छ । तर एक पछाडि अर्काे भ्रष्टाचारको कुरा मात्र आउँछन् । हामी आफू सुधिएनौं, सुधार्न सकेनौं भने अरुलाई दोष दिएर बच्ने उपाय छैन ।

० नेपाल–भारत सम्बन्धका जटिलता के–के देख्नुहुन्छ ? 

‑ हिजोसम्म सीमा विवाद परराष्ट्रको प्रोटोकोलमा अंकित कुरा थियो । कालापानी र सुस्ता विवादित क्षेत्र हो भनेर भारतले भन्दै आएको थियो । बीचमा हामी चुच्चे नक्सामा रमायौं । तपाईंसँग लालपुर्जा छ तर ६० वर्षदेखि अरुले नै प्रयोग गरिरहेको छ । यस्ता कुरामा कूटनीतिज्ञता, गाम्भीर्यता, परिपक्वता चाहिने हो तर हामी सस्तो लोकप्रियतामा रमायौं । यस्ता कुरालाई प्राथमिकतामा राष्ट्रिय एजेण्डा बनाएर जानुपर्ने हो तर हाम्रो होडबाजी सत्तामा जानेतिर मात्र केन्द्रित रह्यो ।  भाषणमा राष्ट्रिय हितका कुरा गर्ने, व्यवहारमा सत्ताबाट हट्नासाथ दण्डित भइएको मानसिकता राख्ने परिपाटी छ । देशभित्र र आफ्नो पार्टीभित्रै कसैले टेर्दैन र अलमल छ भने विदेशीले कसरी टेर्छ ?

० वर्तमान सत्ता समीकरण परिवर्तन गर्न भारत लागिरहेको छ भन्ने चर्चामा कत्तिको सत्यता पाउनुहुन्छ ? 

‑ उसले चाहेरमात्र के हुन्छ र ? बंगलादेशकै परिणाम हेरौं न । हामी आफू नसुध्रिने अनि भारतलाई मात्र दोष लगाउने ? यो जस्तो मूर्खता अरु केही हुँदैन । यसरी न अमेरिका न त चीन कसैलाई दोष लगाउनु हुँदैन । हामी नै भ्रष्ट भएपछि अरुले खेदिहाल्छन् नि ! हामीले निमन्त्रणा नगरी कुनै भारतीय गुप्तचर वार्ताको लागि आएर घण्टौं एकान्त वार्ता गर्न सक्छ ? जासुससँग वार्ता गर्ने अनि राष्ट्रियता चर्काचर्का कुरा पनि गर्ने ! योजस्तो द्वैधचरित्र अरु के हुन सक्छ ? अहिले नेतासँग जनता र राष्ट्रको सम्बन्धविच्छेद भएको छ । देशको क्रेडिबिलिटी घटेको बेला विदेशीले नखेले कसले खेल्छ त ?

० वैशाख ४ गते ‘र’को स्टेशन चिफ आठ–नौ घण्टाका लागि दिल्ली गए । सिंगापुरमा उपचार गर्ने देउवा बैंकक जानुको कारण ‘र’ लाई भेट्न भन्ने छ । त्यही आशंकाको बीच केपी ओली र देउवाबीच बैंककमै फोनवार्ता हुने गरी छड्के हान्ने तहमा अविश्वास किन बढ्यो ?

‑ नेताहरू नेता होइन, जोकर भन्ने छाप अन्तर्राष्ट्रिय रुपमा परिसकेको छ । जे बोल्छन्, त्यो कुरा कहिल्यै पूरा गर्दैनन् । जे गर्दैनन्, त्यही बोल्छन् । एक–अर्कालाई धोखा दिने र आफू सत्तामा जानेबाहेक कुरै छैन । चुनावपछि देशलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता कसैमा देख्नुहुन्छ ? आर्थिक रुपमा कसरी सम्पन्न बनाउने भनेर कोही लागेका छन् ? एक दिन मर्नुपर्छ भनेर सोच्नु पर्दैन ?

० केपी ओलीको मिर्गाैला पहिलो प्रत्यारोपण दिल्लीमा भयो, विद्या भण्डारी, आरजु राणाहरूको उपचार पनि त्यतै भएको हो । अहिले उपचारका लागि सिंगापुर, बैंकक नजिक तर दिल्ली किन दूर हुन थाल्यो होला ? 

– आध्यात्मिक चेत हराउँदै गएपछि छट्पटी बढ्दै जान्छ । अहिले जति पनि सम्पत्ति जुटाइएको छ, त्यसरी आर्जित सम्पत्ति कुनै न कुनै दिन कानुनले समात्छ भन्ने चिन्ता छ । बदमासी गरेर अकुत नथुपारेको भए त्रास हुँदैनथ्यो । हिजो गणेशमान, कृष्णप्रसाद भट्टराईहरूले बोल्दा उहाँहरू प्रति विश्वास थियो । अहिलेका नेता विदेशीका स्वार्थको पोका हुन् भन्ने प¥यो । तपाईं र मेरो नैतिकताले काम गर्दैन । नेताको नियतिलाई हामी बदल्न सक्दैनौं ।

० गत साता बैंककबाट फर्किएका कांग्रेस सभापति देउवाले मैले यी–यी रोगको उपचार गरेँ भनेर देशवासीलाई जानकारी दिन नपर्ने ? 

‑ पारदर्शिता भएको भए किन यस्तो हुन्थ्यो ! एउटा निष्पक्ष आयोग बनाएर सबै कुरा जिम्मा लगाउने हो भने धेरै नेता बच्दैनन् । अहंकारले व्यक्तिको त भलो हुन्न नै देशको पनि हित गर्दैन ।

० ०४६ यता भारतबाट आठ जना राजदूत कार्यकाल पूरा नगरी फिर्ता हुनुलाई कसरी लिने ? 

– हाम्रो कूटनीतिलाई परराष्ट्र मन्त्रालयले लहडमा चलाइरहेको छ । भारतीयले परराष्ट्र मन्त्रालयको स्वीकृतिबेगर काम गर्न पाउँदैनन् तर हाम्रो त भगवान भरोसामा चलेको छ मुलुक ।

० पार्टीभित्रका कामको समन्वय गरिरहनुभएको छ ?

‑ कृष्णजीको संगत गर्ने मौका पाएँ । उहाँ आफैंप्रति इमान्दार बन्ने कोसिस गर भन्नुहुन्थ्यो । आफैंमा रमाउने, आश र त्रासबाट मुक्त हुने । राष्ट्रको हितमा जे देखेको हो त्यो बोल्दिने । मैले भनेको कुरामा कसैलाई रुचि छैन भने किन बोल्ने ? तन, मन आनन्दमा छ । कसैसँग आस, त्रास छैन । मात्र मुलुक बिग्रिएला भन्ने मात्र चिन्ता छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बैरोमा क्युआर कोडबाटै घुस,सुव्वासँग को- को बेखुस ?

”नेताहरू नेता होइन, जोकर भन्ने छाप अन्तर्राष्ट्रिय रुपमा परिसकेको छ”

सचिवलाई दुई वर्ष पूरा नगरी सरुवा नगर्न सुझाव

रहेनन् पत्रकार फणि महत

बर्ष दिनमै एक खर्ब अनियमित खर्च,१३ खर्ब नाग्यो बेरुजुको भ्योल्युम

सम्पत्ति शुद्धीकरणमा देखिदैंछ सुधार

समाचारप्रति नर्सिङ प्रमुख श्रेष्ठको गम्भीर ध्यानाकर्षण

उपसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष