इन्जिनियर दिनेशप्रसाद भट्ट हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख हुन्। उनी २०८१ सालको चैत्र ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका हुन् । भट्ट वातावरण तथा जलवायु परिवर्तनका अनुभवी विज्ञ हुन्। उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथलीलगायत विभिन्न क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरिसकेका छन् । भट्टले विश्व बैंक, एसियन विकास बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, स्विस विकास सहयोग, फिनिस विकास संस्था र ग्रीन क्लाइमेट फण्ड जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा सञ्चालित परियोजनाहरूमा परामर्शदाता भएर कार्य गरिसकेका छन् । भट्ट खानेपानी, सरसफाइ तथा वातावरणसम्बन्धी पाँच पुस्तकका लेखक समेत हुन्। हाल उनी जलवायु परिवर्तनसम्बन्धी पीएचडी अध्ययनरत छन् । पदभार ग्रहण गरेपछि भट्टले पाँच वर्षभित्र नेपाललाई विपद् उत्थानशील (Disaster Resilient) बनाउने लक्ष्य लिएका छन्। उनी स्थानीय सरकारलाई बलियो बनाउने, टोल टोलमा स्वयंसेवक तयार गर्ने, र विपद् पूर्वतयारीमा जोड दिने योजनामा छन् ।
बिज्ञापन
विपद् आउन सक्ने सम्भावनाः- जोखिम क्षेत्रहरू कति सतर्क अवस्थामा
वर्तमान समयको विश्लेषण गर्दा, नेपालको भौगोलिक स्वरूप, जलवायु प्रणाली र पछिल्ला मौसमीय गतिविधिहरूका आधारमा हेर्दा सबैभन्दा बढी जोखिम भूकम्पपछिका असरहरू, बाढी र पहिरो देखिएको छ। विशेष गरी अहिले वर्षा याम प्रारम्भ हुने चरण मा छौं, जसले गर्दा देशका पहाडी तथा हिमाली भूभागहरूमा भूस्खलन र बाढीको खतरा तीव्र रुपमा बढेको देखिन्छ। हामीले नेपालको बाढी, पहिरो र अन्य प्राकृतिक जोखिमहरूको मूल्याङ्कनका लागि विगत २० वर्षको डेटा अध्ययन गरेका छौं। त्यो अनुसार— गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका कतिपय जिल्ला (जस्तै म्याग्दी, रोल्पा, रुकुम, बझाङ, बागलुङ) मा भारी वर्षासँगै सक्रिय पहिरो खतराको क्षेत्र चिनिएको छ। तराईका जिल्लाहरू— विशेष गरी सप्तरी, बर्दिया, रौतहट, र सर्लाही—मा नदीहरूको जलस्तर तीव्र बढ्ने संकेत देखिएकाले बाढीको खतरा उच्च छ। यसका अतिरिक्त, हालैको समयमा सिन्धुपाल्चोक, दोलखा, र रामेछाप जस्ता भूकम्पपछिका असरहरू अझै पनि भू–चाप सक्रिय रहेको क्षेत्रमा परेकाले सानातिना भूकम्पका झट्का पनि जोखिमयुक्त छन्। यद्यपि, भूकम्प पूर्वानुमान गर्न सकिने प्रविधि नभएकाले, हामी निरन्तर तयारी र जोखिम न्यूनीकरणमा केन्द्रित छौं। यसबाहेक, जलवायु परिवर्तनको प्रभावले गर्दा वर्षा प्रणाली असमान हुँदै गएको छ, जसले अप्रत्याशित ढंगले अत्यधिक वर्षा वा सुख्खा उत्पन्न गरिरहेको छ। त्यसैले हामीले हाललाई तीन प्रमुख सम्भावित विपद्को प्राथमिक सतर्कता सूची तयार पारेका छौं । बाढी, भूस्खलन र स्थानीयकृत साना भूकम्पजन्य झट्काहरू। अन्त्यमा, म यस माध्यमबाट सम्पूर्ण नागरिकहरूलाई आह्वान गर्न चाहन्छु कि, तपाईं बसोबास गर्नु भएको क्षेत्र जोखिमयुक्त हो कि होइन भन्ने जानकारी लिनुहोस्, स्थानीय तहको सूचना पालना गर्नुहोस्, र विपद् अवस्थालाई सामान्य नभइ गम्भीर रूपमा लिनुहोस्। प्राधिकरण तर्फबाट हामी सतर्क र तयारी अवस्थामा छौं।
बिज्ञापन
सम्भावित जोखिमको पूर्व मूल्याङ्कन कसरी
हामीले राष्ट्रिय विपद् सूचना पोर्टलमा आधारित भई जीआईएस म्यापिङ, जोखिम सूचकांक, र विगतका तथ्यांकहरू प्रयोग गरेर उच्च जोखिम क्षेत्रहरू पहिचान गरेका छौं। त्यसका आधारमा स्थानीय तहहरूसँग सहकार्य गर्दै जोखिम पूर्वानुमान, मानचित्र अद्यावधिक, र आवश्यक तालिमहरूको कार्यान्वयन भइरहेको छ।
कुन क्षेत्रहरू उच्च जोखिममा
जोखिम आधारित प्राथमिकताको सूची तयारी भइसकेको छ र सम्बन्धित प्रदेश तथा जिल्लाका विपद् व्यवस्थापन केन्द्रहरूमा पठाइएको छ। उदाहरणका लागि—रुकुम पश्चिम, रोल्पा, म्याग्दी, स्याङ्जा, इलाम लगायतका पहाडी क्षेत्र पहिरोको दृष्टिले संवेदनशील छन् भने तराईका बाँके, बर्दिया, सप्तरी, र महोत्तरी जस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन्।
बिज्ञापन
जोखिम क्षेत्रका बासिन्दालाई सूचना प्रवाह कसरी
हामीले सूचनाको बहु–माध्यम प्रणाली अपनाएका छौँ—एसएमएस सेवा, स्थानीय एफएम रेडियो, समुदाय स्वास्थ्य स्वयंसेवक, स्कुल मार्फत सूचना प्रवाह भइरहेको छ। प्रारम्भिक चेतावनी प्रणाली अन्तर्गत गाउँपालिकामा रहेका स्थानीय प्रतिनिधिहरूलाई सीधा सूचना पठाइन्छ। नेपाल टेलिकम र एनसेलमार्फत १० लाखभन्दा बढी जनसंख्यालाई सचेतना सन्देश पठाइएको छ।
बाढी आउन लागेको कसरी थाहाँ पाउने
आप्नो बस्ती बाढीबाट सुरक्षित छ की छैन भन्ने कुरा कुन स्थानमा बस्ती बसेको छ, त्यो स्वयंलाई बढी थाहा हुन्छ । जस्तो ठूला ठूला नदीतट क्षेत्रमा धेरै टाढा टाढाबाट पानीको सतह बढ्न सक्ने हुँदा बर्षायाममा जहिले पनि बाढी आउन सक्छ । यसका लागि आफ्नो बस्तीलाई सुरक्षित ठाउँमा बसाउनु पर्छ । यदि तपाई ठूला नदीहरुको तटिय क्षेत्रमा बस्नुहुन्छ भने तपाईको मोबाईलमा ११५५ नम्बरबाट मेसेज आउछ, त्यो ध्यानपूर्वक पढ्ने । तपाई स्वयंले पनि आफ्नो वस्तीमा बाढी आउने संभावना कतिको छ भनेर पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बुझ्न सक्नुहुन्छ ।
आपतमा परियो भने कसरी मद्दत माग्ने
यदि तपाई बाढी पहिरो लगायत अन्य जुनसुकै विपद्का घटनाको चपेटामा पर्नुभयो र मद्धत चाहियो भने ११४९ नम्बरमा फोन गरेर उद्धार र राहतका लागि मद्धत माग्न सक्नुहुन्छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
उद्धारमा खटिने जनशक्ति र साधन
हामीसँग ७ वटा प्रदेशमा प्रदेश आपतकालीन उद्धार टोली तयारी अवस्थामा छन्। राष्ट्रियस्तरको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विषेश प्रशिक्षित जनशक्ति तयारी अवस्थामा छन्। साथै, ५०० भन्दा बढी स्वयंसेवकहरू तयारी अवस्थामा छन्। हेलिकप्टर, डुङ्गा, एम्बुलेन्स, मोबाइल मेडिकल टिम तयारी अवस्थामा छन्।
आपतकालीन सामग्री
हामीले नेपाल खाद्य संस्थान र स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर प्रत्येक प्रदेशमा न्यूनतम राहत सामग्री (फुड किट, न्यानो कपडा, औषधि, स्वच्छता किट) राखेका छौं। हाल २५ हजार परिवारका लागि पर्याप्त सामग्री तयारी अवस्थामा छ, थप आवश्यक परेमा ७२ घण्टा भित्र आपूर्ति गर्न मिल्ने व्यवस्था मिलाइएको छ।
प्रत्यक्ष समन्वयमा
प्राधिकरणले गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य सेवा विभाग, मौसम तथा भूगर्भ विभाग, रेडक्रस, युएन एजेन्सीहरू, टेलिकम कम्पनीहरूसँग प्रत्यक्ष समन्वय गरिरहेको छ। राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र मार्फत सबै निर्णय एकद्वार प्रणालीमा गरिन्छ।
अहिलेको अवस्थामा सबैभन्दा ठूलो चुनौती
हालको सबैभन्दा ठूलो चुनौती भनेको—दुरदराज क्षेत्रसम्म सूचना र साधन पु¥याउने, असहाय समूहको तत्काल सुरक्षा, र अविरल वर्षाका कारण आवागमनमा देखिएको अवरोध हो। साथै, विपद्को समयमै पूर्वानुमान भए पनि जनमानसमा त्यसको गम्भीरता बुझाउन अझै समय लागिरहेको छ।
२४ घण्टाको प्राथमिकता
पहिलो २४ घण्टामा हाम्रो प्राथमिकता—(१) उच्च जोखिम भएका क्षेत्रमा सतर्कता फैलाउने, (२) सुरक्षित विस्थापन सम्पन्न गर्ने, (३) उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, र (४) राहत सामग्रीको वितरण सुनिश्चित गर्नु हो। यसका लागि हरेक घण्टामा अपडेट लिने र सूचना साझेदारी गर्ने संयन्त्र सञ्चालनमा छ।