भ्रष्टाचारमा मुछिए चोख्याउने विशेष अदालतका श्रीमान् – यौनजन्य र अश्लील हर्कतमा मुछिए बचाउने सामान्य प्रशासनका हाकिम । पछिल्लो एक बर्षको अन्तरालमा मात्र दर्जन बढी सरकारी अधिकारीहरु यौनकाण्डमा मुछिएका छन् । जसमध्ये एक जना कारागारमा छन्, केही धरौटी तिरेर सम्बन्धित कार्यालय हाँक्दै छन्, अन्यलाई नसिहत दिनु त परैको कुरा साधारण स्पष्टीकरणसमेत सोधिएन र तीन महिना सामान्यको बरण्डामा थन्क्याएर जिम्मेवारीमा खटाइएको छ ।
बिज्ञापन
यस्ता काण्ड चाहिँ प्राय पूर्वकै जिल्लामा घटिरहेको छ । हिजोमात्र एक अहेब यस्तै यौनकाण्डमा मुछिए पछि अहिले प्रहरीको नियन्त्रणमा पुगेका छन्,उनी हुन अहेव दीपक सापकोटा । सापकोटा झापाको शान्तिनगर स्वास्थ्य चौकीका सिनियर अहेबका रुपमा कार्यरत छन् । उनले सोही शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले शिवसताक्षी–१० दोमुखाको एक होटलबाट पक्राउ गरेको हो । स्वास्थ्य शाखाकी ती महिला कर्मचारीका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र आफ्नी श्रीमतीलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहेब सापकोटा र ती महिला कर्मचारीलाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ ।
बिज्ञापन
यस्तै यौनकाण्डमा मुछिएका एक् हाकिमलाई साधरण नसिहत समेत नदिइ अहिले मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएर खटाइएको छ । झापकै दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका डमरु निरौलाले उक्त पालिकाको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर उपद्रो मच्चाएको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै सामान्यले अतिरिक्त समूहमा तानेको थियो । साढे तीन महिना हाजिर मात्र गरेर तलब पकाएका उनलाई वीरगञ्ज मालपोत कार्यालयको हाकिमको जिम्मेवारी दिएर खटाएको छ । यो बीचमा उनलाई पटक पटक सरुवा गर्न खोजिए पनि सामान्य प्रशासन मन्त्रीदेखि भूमि व्यवस्था मन्त्रीसम्मलाई मिलाएर उनी सोही मालपोत कार्यालयको जिम्मेवारीमै रहेका छन् ।
अघिल्लो बर्ष पूर्वकै एक पालिका प्रमुख र लेखा प्रमुखको कार्यालयभित्रै रोमान्स सार्वजनिक भयो । इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सोही कार्यालयमा कार्यरत लेखा अधिकृत रेश्मा राईसँग यस्तै रोमान्स गरिरहेको भिडियो नै सार्वजनिक भयो । यस्ता उच्छ्रुखल गतिविधिमा संग्लग्न राईद्धयमाथि कुनै कारवाही त कारबाही नगरी लिखु पिके गाउँपालिका, सोलुखुम्बु पठाएको छ । ऐनअनुसार स्थानीय तहको कर्मचारी हुन्, उनको सरुवा एउटा स्थानीय तहबाट सोही प्रदेशभित्रको अर्को तहमा मात्र हुने व्यवस्था छ । ऐनअनुसार, उनी कोशी प्रदेशभित्रका कुनै पनि स्थानीय तहमा सरुवा हुन सक्छिन् । तर, महिला कर्मचारीको हकमा सामान्यका हाकिम बढी नै उदार भएर उनलाई माइजोगमाई गाउँपालिकाबाट सामान्यमा तानिएको छ ।
बिज्ञापन
गत भदौंमै अर्का उपसचिव यौनकाण्ड लागेर प्रहरी हिरासतमै पुगे । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले ३५ वर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो । ती महिलासँगको संसर्गपछि गर्भ बस्यो । ४ महिना गर्भपतन गराउन खोज्दा अत्यधिक रक्तश्रावपछि सतहमा आयो । उनीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता पनि भयो । पछि चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले २५ हजार रूपैयाँमात्र लिएर धरौटीमा छाड्न आदेश दिए । अहिले उनी पूर्ववत् जिम्मेवारी सम्हालिरहेका छन् ।
यता, घरमा काम सघाउने युवतीमाथि यौनशोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल जेलमा छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । उनीबाहेक यौनकाण्ड लागेका कर्मचारी भने पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् ।
गत बर्ष नै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव रुपेशकुमार साहलाई बलात्कारको आरोपमा पक्राउ परे । सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबर्जस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएको करिब डेढ महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै पटक– पटक बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भए पछि फरार भएका उनी पछि प्रहरीमा आत्मसर्मपण गर्न पुगेका थिए ।
यता काठमाडौंमा घर भएका रोशन अधिकारीले अधिकृतमा नाम निकालेपछि उनको पहिलो पोष्टिङ नै दार्चुलाको मार्मा गाउँपालिकामा भयो ।उनैले वैदेशिक रोजगारसम्बन्धी छात्रवृत्तिमा स्नातकोत्तर तह पढ्ने अवसर पनि पाएका थिए तर त्यहाँबाट सरुवा नमिलेपछि आफू बस्दै आएको सरकारी क्वार्टरमा आफैंले आगो झोसे । यस्तो गम्भीर अपराधमा मुछिएका उनी डेढ लाख धरौटी तिरेर उन्मुक्ति पाइसकेका छन् ।
पछिल्लो समयमा झण्डै एक दर्जन सरकारी उच्च अधिकारीहरु यौन काण्डमा मुछिए,कोही बलत्कारकै आरोपमा पक्राउ परे । तर तीमध्ये एक जना मात्र अहिले जेलभित्र छन्,बाँकी कर्मचारीलाई न स्पष्टीकरण सोधियो न त नसिहत नै दिइयो । एकातिर भ्रष्टाचारका मुद्धा चल्दा चोख्याउने विशेष अदालत, यौनजन्यकाण्डमा सामान्य प्रशासनका हाकिमहरुले सुन पानी छर्कने भए पछि निजामतीभित्र दण्डहिनता मौलाउँदै गएको चिन्ता पोख्छन्,केही कर्मचारीहरु ।