भ्रष्ट सुब्बादेखि सहसचिवसम्मको सम्पत्ति जफत गर्ने प्रस्ताव क्याविनेटमा

अकुत आर्जन गर्ने र श्रीसम्पत्ति ससुराली, सालीदेखि गर्लफ्रेण्डका नाममा लुकाउने एकपछि अर्का भ्रष्ट कर्मचारीको सम्पत्ति राज्यले जफत गर्ने काम बल्ल अगाडि बढेको छ ।
गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले त्यस्ता कर्मचारीद्वारा आर्जित सम्पत्ति जफत गरी राज्यमातहत ल्याउने प्रस्ताव बल्ल क्याबिनेटमा पठाएको हो । विभागका महानिर्देशकको कुर्सीमा सुरेश पन्थी पुगेसँगै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कर्मचारीको विवरण, उनीहरूको चल–अचल सम्पत्ति खोज्न टिम परिचालन गरिएको थियो । विशेष अदालत, फैसला कार्यान्वयन निर्देशनालय, राष्ट्र बैंक, यातायात व्यवस्था विभागसँग जफत गर्नुपर्ने सम्पत्तिको रेकर्ड लिने काम चलिरहेको विभागले जनाएको छ । केही कसुरजन्य सम्पत्ति जफतका लागि प्रक्रिया अघि बढिसकेको र बाँकीको खोजी कार्य भइरहेको विभागले जनाएको छ ।

बिज्ञापन

सोही अनुसार सर्वोच्चबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको गृह मन्त्रालयले जनाएको छ । यसरी सम्पत्ति जफत गर्न लागिएका कर्मचारीमा नासुदेखि सहसचिवस्तरसम्मका रहेका छन् ।  सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जनाएका छन् । जसमा नायब सुब्बा तहका कर्मचारीदेखि सहसचिव तहका कर्मचारीसम्म रहेका छन् ।

बिज्ञापन

विभागका अनुसार पुर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारी बहादुर कार्की, केशरजंग खड्का र रामात्रा चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । जसमा वीरगञ्ज भन्सारका नासु केदारनाथ ढुंगाना, आन्तरिक राजश्वका नासु उमेशकुमार रेग्मीदेखि जलउत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन डिजी अजितकुमार मिश्र, आन्तरिक राजश्व विभागका डिजी मुरारी कार्की, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव आनन्दप्रसाद खनाल, रामाज्ञा चतुर्वेदी, केशरजंग खड्का, सरिता गिरी, केदारनाथ ढुंगानालगायत छन् ।

कसूरजन्य सम्पत्ति व्यवस्था विभागका अनुसार अकुत आर्जनमा मुछिएर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरिसकेको छ । उक्त सम्पत्ति सरकारीकरण गर्ने प्रक्रिया भने अहिले बल्ल अगाडि बढाइएको हो । खनालले गैरकानुनी ढङ्गबाट आर्जित सम्पत्ति श्रीमती पद्मा, छोराहरू अनिल, अमित र आभाष खनालको नाममा राखेको, एक चर्चित निर्माण व्यवसायीलाई ३२ लाख ऋण दिएको भेटिएसँगै उक्त सम्पत्ति जफत प्रक्रियामा गएको छ ।

बिज्ञापन

उनका नाममा एस फाइनान्समा २५ हजार ९ सय ७६, स्टान्डण्ड चार्टड बैंकमा १ लाख ७८ हजार २ सय २३, नेपाल बैंक धरान शाखामा ३ लाख १० हजार ३१३, राष्ट्रिय वाणिज्य बैंक टंगालमा २ लाख २१६, नेपाल बैंकमा ५७ हजार रहेको छ भने छोराको नाममा विभिन्न बैंकमा १० लाख बढी रहेको छ । यस्तै विभिन्न बैंकको लकरमा १५ लाख ७१ हजार ८८२ को गरगहना रहेको भेटिएको छ भने कांग्रेस नेता जिपछिरिङ लामा सञ्चालक रहेको लामा कन्स्ट्रक्सनलाई ३२ लाख ऋण सापटी दिएको पाइएको छ । यस्तै भक्तपुरको साविक कटुञ्जे गाविस वडा नम्बर २ ९क० को कूल १७ कित्ताको ४ रोपनी १ आना ३ पैसा जग्गा कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा लालपुर्जा कायम भएको छ । उक्त जग्गाको चल्तीको बजारमूल्य १८ करोड माथि पर्न आउँछ । टाउन डेभलपर्स कम्पनीमा रहेको ५१ सय कित्ता शेयर जफत गरी नेपाल सरकारको राजश्व खातामा ५१ लाख पठाइसकिएको छ ।

यस्तै, रामाज्ञा चतुर्वेदी, श्रीमती र छोरा छोरीको नाममा विभिन्न बैंकमा रहेको १४ लाख बढी रकम, नेपाल मेडिकल कलेजमा रहेको ३० हजार कित्ता शेयर, ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका नाममा रहेको ३० हजार कित्ता र शिखर पेन्टसमा रहेको ५ हजार कित्ता शेयर जफत हुने भएको छ । पर्सा र काठमाडौं ३५, काठमाडौं ७ (ख) मा रहको घर जग्गा जफत प्रक्रिया पनि अगाडि बढेको छ ।

आन्तरिक राजश्व कार्यालय क्षेत्र नम्बर १, बबरमहलको नायब सुब्बा पदमा कार्यरत रहँदा उमेशकुमार रेग्मीद्वारा आर्जित अकुत रकम श्रीमती सञ्जना, सासू उषादेवी काफ्ले, जेठीसासू सुशीलाकुमारी काफ्ले, सिर्जना काफ्ले र सालो सुधीरकुमारलगायत आफन्तका नाममा राखिएको भेटिएपछि त्यसलाई जफत गर्ने काम टुंगोमा पुग्दै छ  । कामनपा ९ को कित्ता नम्बर ६३ मा रहेको ६ आना २ दाम जग्गा, सोही जग्गामा बनेको घरदेखि चल अचल जफत भई मालपोत कार्यालय डिल्लीबजारलाई प्राप्त भइसकेको जनाइएको छ । यस्तै अजितकुमार मिश्रका नाममा रहेको काठमाडौं लाजिम्पाटस्थित ८ आना २ दाम जग्गामा बनेको घर, शकुन्तला कार्कीका नाममा रहेको काठमाडौं सिनामंगल ९ स्थित १० आना ३ दाम क्षेत्रफलमा फैलिएको घर जग्गा, भारतीय नागरिक निरञ्जन होजाइले निर्मल राईको नामबाट नक्कली नागरिकता बनाई जोडेको अवैध सम्पत्तिसमेत सम्पत्ति सरकारीकरण गर्ने काम अगाडि बढेको छ ।

होजाइले झुटो परिचय बनाई ४१५९३९४ नम्बरको नागरिकता प्रमाणपत्र मात्र लिएनन्, सिन्धुपाल्चोकमा सामान्य मजदुरी गर्ने रामचन्द्र र सेती गिरीकी छोरी सरितासँग २०६५ मंसिरमा विवाह समेत गरे । निर्मल ट्रेर्डस, निर्मल राई हाउजिङ्ग एण्ड प्रोपर्टी, सरिता गिरीका नाममा विभिन्न सात वटा बैंकमा रहेको २ करोड २७ लाख ९७ हजार ३८२ रूपैयाँ कोषको नाममा स्थानान्तरण गरिँदै छ । सर्वोच्चबाट फैसला भएको नौ वर्षपछि उनीहरूको नाममा रहेको सम्पत्ति सरकारीकरण हुन लागेको हो ।

यस्तै केदारनाथ ढुंगानाको नाममा चितवन र ललितपुरमा ३ रोपनी बढी क्षेत्रफलमा फैलिएको घर जग्गा र ९ लाख मौज्दा, खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्काका नाममा ललितपुर महानगरपालिका २ (क) सानेपामा १ रोपनी ६ आना र अर्को कित्ता नम्बर १८६ मा रहेको १ आना १ पैसा जग्गाबाट आँंशिक जग्गा जफत हुँदैछ । यस्तै दिनेश बस्नेतका नाममा विभिन्न बैंक तथा वित्त संस्थामा रहेको ८५ लाख बढी रकम जफत प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।