सरकारले एकैलटमा १३ सचिवहरुको सरुवा गरेको छ । गत शुक्रवारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । मन्त्रिपरिषदले २ सिनियर सहसचिवलाई कामूको जिम्मेवारी दिएर प्रदेशमा खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाएर त्यहाँका सचिव रविलाल पन्थलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याएको छ । पछिल्लो समय मन्त्री राजकुमार गुप्तासँग सम्बन्ध विग्रिएको थियो सुवेदीको । मन्त्री र सचिवबीच बोलाचल नै बन्द भएको स्थिति थियो । पन्थ २०६९ साल फागुनमा सहसचिव बनेका रविलाल २०७८ असोजमा सचिवमा बढुवा भएका थिए। भाइ सचिव बनेको ३ वर्षपछि दाजु महादेव सचिवमा बढुवा भएर प्रदेशतिर पठाइएको थियो । यो लटमा उनको पनि सरुवा भएको छ ।
बिज्ञापन
यस्तै सधै छानेर राम्रा मन्त्रालयमा जाने कर्मचारीको परिचय बनाएका कृष्णहरि पुष्कर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्यटन मन्त्रालयतिर जान जोडबल गरिरहेका थिए तर उनलाई पर्यटनमा लैजान मन्त्री बद्री पाण्डे सकरात्मक नहुँदा मधेसका सदाबहार मन्त्री शरदसिंङ भण्डारीले सम्हालेको श्रममा पुर्याइएको छ । पुष्कर अहिले प्रधानमन्त्री कार्यालयको सुशासन र सुरक्षा हेर्ने जिम्मेवारीमा थिए । यस अघि बैकुण्ठ अर्याल मुख्यसचिव दाहिने हुँदा उपराष्ट्रपति कार्यालयमा दुई दिनमात्र हाजिर गरेर श्रमतिर पुगेका मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा थन्काइएको छ । यस्तै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई पठाइएको छ भने त्यहाँका डा गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकमा पठाइएको छ । गत साउनमा उपराष्ट्रपति कार्यालयमा पुगेकी लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा खटाइएको छ । मुख्य सचिवबाट रिङ आउट भएका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको बताइएको छ। यस्तै वागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा हरिप्रसाद लम्साललाई श्रममा ल्याइएको छ भने सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन् ।
सरुवाको सूची अनुसार, लोकनाथ पौड्यालको कर्णाली प्रदेशमा पठाइएको छ । यस्तै चूडामणि शर्मा पौडेलको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइपुगेका छन् ।
बिज्ञापन
अस्तिको क्याविनेटले दुई बरिष्ठ सहसचिवहरु बाबुराम अधिकारीको लुम्बिनी प्रदेश र मदन भुजेलको मधेस प्रदेशमा कामु सचिवको रुपमा खटाउने निर्णय गरेको छ ।