सरकारले हिजो राती १२ बजेबाट घर जान लागेका चार डिआइजीको उद्धार गरेको छ । आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेर ती डिआइजीहरुको पदावधि एक बर्ष थपिएको छ । यस्का पछाडि भावी एआइजी र आइजी बनाउने खेलोमेलोले समेत काम गरेको सशस्त्र सम्बन्ध अधिकारीहरुले जनाएका छन् । अघिल्लो क्याविनेट बैठकमा सशस्त्रको डिआइजीको पदावधि थप सम्बन्धी गृहको प्रस्तावमा पुर्नविचार गरौंला भनेका प्रधानमन्त्री ओलीले हिजो सशस्त्र प्रहरीका चार डिआइजीको एक बर्ष पदावधि थप्नकै लागि हिजो साँझ सात बजे क्याविनेट डाके्र मध्यरातीदेखि घर जान लागेका चार डिआइजीको उद्धार गरिदिएका हुन । हिजो मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर चार जना डिआइजीको पदाअवधि एक बर्ष थप्ने निर्णय गरेको हो । हिजो बसेको क्याविनेटले डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थप भएको हो ।
बिज्ञापन
गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख,नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन् । डिआइजीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुअघि सबैको एक वर्ष थपिएको हो । सशस्त्र मुख्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले दुई साता पहिल्यै डीआईजीहरु शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङको एक वर्ष अवधी थपको सिफारिस मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरेको थियो । सोही अनुसार हिजो आकस्मिक मन्त्रिपरिषद्को बैठक बसेर चार डिआइजीको उद्धार गरिएको हो । सशस्त्र प्रहरी नियमावली–२०७२ मा आइजिपीको सिफारिसमा सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।
बिज्ञापन
यसरी पदावधि थप्दा एआइजीमा बढुवा र एक जनालाई आगामी नेतृत्व गर्न अवसर जुर्छ । यसरी डिआइजीबाट समय थपिएकामध्ये सुवेदी २०५४ चैत १८,गिरी र मगर २०५६ असार ३ र नेम्वाङ ०५६ कै टोलीको वैकल्पिकका रुपमा नेपाल प्रहरी सेवामा भर्ना भएका थिए । उनीहरु २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा एक तह बढुवासहित उक्त संगठनमा समायोजन भएका हुन् ।
आफ्नो कार्यकाल पूरा गरेर सशस्त्र प्रहरीका आइजी राजु अर्याल आगामी वैशाखमा अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । सो पछि अहिले पदावधि थप भएका गिरी,मगर,नेम्वाङ, सुवेदी पालैपालो एआईजी हुँदै एक आईजी बन्ने अबस्था आउने छ ।