भ्रष्टाचार मुद्धामा गाउँपालिकाको अध्यक्ष,प्रमुख प्रशासकीय सहितलाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाको अध्यक्ष कृष्ण रोकाया र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको हो ।
बिज्ञापन
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही २ वर्ष कैद र ९ लाख ७५ हजार जरिवानको सजाय सुनाएको हो । स्वार्थ बाझिनेगरी कृषि अनुदान लिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई अदालतले दोषी ठहर गरेको छ ।
अध्यक्षले परिवारका सदस्यको नाममा फर्म स्थापना गरी कृषि अनुदान दुरुपयोग गरेको भेटिए पछि अदालतले उनलाई दोषी ठहर गरेको हो । रोकायाले आफ्नै परिवारका सदस्य सम्मिलित उपभोक्ता समिति गठन गरी निजी नाममा कृषि फार्म दर्ता गरी प्रतिस्पर्धामा छनौट हुनेगरी मापदण्ड बनाई कृषि अनुदान लिएको देखिएको र स्वार्थ बाझिने गरी सुनियोजित रुपमा आफ्नै फर्मलाई अनुदान प्राप्त गर्न भूमिका खेलेको देखिदा बदनियतपूर्वक भ्रष्टाचारजन्य कसुर गरेको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृतलाई पनि गाँउपालिकाका अध्यक्ष कृष्ण रोकायाकै सरह कसुर गरेको भन्दै दोषी ठहर गरेको छ । यस्तै भ्रष्टाचारको आरोप लागेका हंश रोकाया, सेतु रोकाया र तुलराज रोकायालाई एक वर्ष कैद र ४ लाख ८७ हजार रुपैंया जरिवाना भएको छ । हंश र सेतु उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष थिए भने तुलराजले सचिवको हैसियतमा कागजात मिलाउने काम गरेका थिए ।
गाँउपालिकाको उपाध्यक्ष जोसी धामी, इञ्जिनियर रामराज शाही, लेखापालहरु पूर्ण प्रसाद आचार्य र पदमबहादुर धामीले आरोपबाट सफाई पाएका छन् । विशेष अदालतले फैसलाको पूर्णपाठ तयार गर्न बाँकी छ ।



































