नेपालमा २०४६ को आन्दोलनले बहुदलीय प्रजातन्त्र ल्याएको हो । २०४६ को आन्दोलनको उपलब्धीले चित्त नबुझाएर एउटा कम्युनिष्ट घटकले साम्यवाद ल्याउने भनेर भूमिगत भयो। साम्यवादलाई बुझ्ने भाषामा भन्दा आफ्नो बाहेक अरू दल वा राजनीतिक विचारलाई निषेध गर्ने, निजी क्षेत्रको भूमिकालाई निस्तेज गर्ने समेतको एक दलीय ब्यबस्थालाई साम्यवाद भनिन्छ।
बिज्ञापन
विश्वबाटै हराउदै गएको यो बिचारले नेपालमा समेत सार्थकता पाउने कुरै भएन। बित्थामा १७ हजार भन्दा बढी जन र अरबौ धनको क्षति गराएर यिनीहरूको आन्दोलन संसदीय फांट मै अबतरण हुन बाध्य भयो।कम्युनिजम् बचाउने भए बहुदलीय जनवादको बिकल्प छैन भन्ने मदन भण्डारीको बिचारलाई लिएर नेकपा एमाले भन्ने पार्टी बन्यो। मदन भण्डारीको बिचार नमानेर भूमिगत भएर आन्दोलनमा लागेकाहरू असफल भै सके पछि वाम विचार बोक्नेहरू बहुदलीय जनवाद बोकेको नेकपा एमालेमा समाहित हुदै गरेको अवस्थामा यही पार्टीको अध्यक्षता गरिरहेका ब्यक्तिले आफू संग असहमत हुने आफ्नै पार्टीका नेता कार्यकर्ता उपर हतौडा लगाएर बहुदलीय जनवादको उपहास गरी रहेको देखिएको छ। नेकपा एमाले बृत्तबाट बहुदलीय जनवाद भनेको बहुलवाद र बहुदललाई स्वीकार गर्ने प्रजातान्त्रिक पार्टी हो भन्ने गरेको सुनिन्छ। राज्य निर्माणमा राज्यको भूमिका मात्र हैन निजी क्षेत्रको भूमिका पनि अपरिहार्य हुन्छ भन्ने मान्यतामा उभिएको पार्टी हो भन्ने गरिन्छ। त्यसो त हाल आएर नेपालका राजनीतिक दलहरू प्रजातन्त्रबाट लोकतान्त्रिक गणतन्त्र मै गई सकेको अवस्थामा यिनीहरू आफू र आफ्ना दलहरूलाई बढी लोकतान्त्रिक वा अझै प्रजातान्त्रिक बनाएका छन् वा भएका छन् भनेर मान्नु पर्ने हुन्छ। प्रजातन्त्रलाई उच्चारण गर्न संकोच मानेर आफूलाई जन तान्त्रिक भने पनि विश्वमा प्रजातन्त्रको विलल्प छ भने त्यो अझ उन्नत प्रजातन्त्र हो, यसको विकल्प कुनै पनि किसिमको अधिनायकता वा राजतन्त्र वा साम्यवाद हुन सक्दैन। त्यसैले आफ्नो र आफ्नो पार्टीलाई अझै उन्नत प्रजातान्त्रिक बनाउनुको बिकल्प कुनै पार्टी वा त्यसका नेता संग छैन।
बिज्ञापन
नेपाली समाजमा एउटा उखान चरितार्थ छ त्यो हो- मुखमा राम राम बगलीमा छुरा। राम भनेको सकारात्मकता हो, आध्यात्मिक सोचको पर्याय हो, यस्तो चिन्तन वा भावना हुनेले जे मुखले बोल्छ ब्यबहारले त्यही गर्छ भन्ने हो तर पनि यस्तो प्रवृत्ति भएका मानिस यो समाजमा हुने भएरै होला मुखले राम राम भन्ने तर ब्यबहारले ठीक त्यसको उल्टो ब्यबहार गर्ने अर्थात राम राम भन्दै विश्वासघात गर्ने। ठीक त्यस्तै देखिएको छ आजभोली नेपालका नक्कली प्रजातान्त्रिक नेताहरूको ब्यबहार। आफूलाई प्रजातन्त्रिक हुं भन्नेहरूबाट नै आफू संग विमति राख्ने हरू उपर कारवाहीको डण्डा चलाएर प्रजातान्त्रिक ब्यबहारको उपहास गर्ने नेताहरूकै कारण हाल हाम्रो देशका शासन ब्यबस्थाले पींडा खेप्नु परेको छ।
नेपालका राजनेता हुं भन्नेको ब्यबहार देख्दा पुरानो शिक्षामा कक्षा ९/१० मा पढेको William Cowper द्वारा लेखिएको The solitude of Alexander Selkirk नामको कविताको Phrase “ I am the monarch of all I survey “ को याद आउछ। यो कविताको सार थियो- My Right There Is None To Disturb. अर्थात मेरो अधिकार उपर औंला ठड्याउने अधिकार कसैलाई छैन।विषय वा प्रसंगले यो भनाई नेपालका ठूलै दलको हुं भन्ने मध्ये कोही उपर पर्न गएको भए ता पनि नेपालका कुनै पनि नेता यो प्रवृत्तिबाट अलग छैनन्। आफूलाई पाएको अधिकार आर्यघाट सम्म नै लैजान चाहने अभिलाषा सबै नेता संग छ जुन प्रजातन्त्रमा सुहाउने विषय हैन।
बिज्ञापन
यिनले बुझ्नु पर्यो कि यिनीहरू कार्ल मार्क्स, स्टालिन, लेनीन, माओको जमानामा छैनन्। यो २१ औं शताब्दी हो र यो अबधिमा हरेक वयस्क विश्वका हरेक घटनाका जानकार छन्। यस्तो अवस्थामा पनि आफू बाहेक अरूलाई अनदेखा गरी अगाडि बढ्न खोजे केही दिन अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले तानशाह हुन खोज्दा भोगेको परिणति हाम्रा नेता महोदयले भोग्नु नपर्ला भन्न सकिदैन, यो प्रसंगमा वंगलादेशको घटना पनि ताजै छ। त्यसैले महेन्द्र माला पढेर नेपालमा राजनीति गर्न आएको भन्दैमा बासी भै सकेको महेन्द्र पथमा नहिड्न नेपालका कुनै पनि नेतालाई हरेक नेपालीले निर्देशन दिन चाहन्छन्।