भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको छ । मन्त्रालयको नियमित सरुवा भदौं /असोजमा हुँदै आएको छ । तर आर्थिक बर्ष सकिने समयमा एक दर्जन सडक आयोजनाका प्रमुखहरु सरुवा गरिएको छ । यसरी सरुवा गरिँदा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत लिइएको छैन ।
बिज्ञापन
सचिव र डिजीलाई वाइपास गरेर कर्मचारीहरुको सरुवा भएको बताइएको छ । सरुवामा परेका कर्मचारीहरुमा यस अघि सरुवामा परेका शुभराज न्यौपानेको सरुवा उल्टाइएको छ । अर्जुन अर्याल,ज्ञानेन्द्र झा,थानेश्वर खत्री,कल्पना अधिकारी,कुवेर नेपाली लगायत सरुवामा परेका छन् ।
सरुवा उल्टाउन सफल शुभराज न्यौपाने सभामुख देवराज घिमिरेका नातेदार हुन । यस अघि पोखरा सडक क्षेत्रीय कार्यालयबाट आरआरआइपी आयोजनामा सरुवा गरिएकोमा सरुवा उल्टाएर राष्ट्रिय सतर्कता केन्द्र पुर्याइएको छ । उक्त ठाउँमा मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अर्जुन अर्याललाई पठाइएको छ । अर्जुन बसेको कार्यालयमा ज्ञानेन्द्र झा पुगेका छन्।
उता,मध्यपहाडी लोकमार्ग आयोजनाका कुवेर नेपालीलाई विभागमा तानेर त्यहाँ थानेश्वर खत्रीलाई पठाइएको छ । सोही आयोजनाका डिभिजनल इञ्जिनियर कल्पना अधिकारी कालीगण्डकी सरुवा भएकी छन् । यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये उत्तर–दक्षिण सडक आयोजना, मध्यपहाडी आयोजनालगायतमा कार्यरत इञ्जिनियरहरु पनि हेरफेर मन्त्रालयले जनाएको छ ।
यस अघि गत वैशाखमामात्र बेमौसमी सरुवा गरेको थियो । त्यतिबेला मदन भण्डारी सडक आयोजनका प्रमुख बेलबहादुर भुजेललाई मन्त्रालयको जलमार्ग महाशाखा, उक्त महाशाखामा कार्यरत दीप बाराहीलाई मदन भण्डारी सडक आयोजनमा पठाइएको थियो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा कार्यरत शुभराम न्यौपानेलाई सडक सुधार तथा विकास आयोजना (आरआइडिपि) खटाइएकोमा महिना दिन नबित्दै उक्त सरुवा उल्टाउन सफल भएका हुन । सडक सुधार तथा विकास आयोजनामा कार्यरत नरेन्द्र सुबेदीलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरामा पठाइएको थियो । उक्त समयमा रेल तथा मेट्रो आयोजना सर्लाहीमा कार्यरत डिइ सन्तोष कर्णलाई सडक विभागमा लगिएको छ भने रेल तथा मेट्रो आयोजना सर्लाहीमा किरण कार्कीलाई खटाइएको थियो । कार्की हाल सडक विभागमा कार्यरत छन्। यसैगरी सडक डिभिजन धनुषामा कार्यरत सिडिइ अरुण लाल कर्णलाई हुलाकी राजमार्ग वीरगन्ज पु¥याइएको भने हुलाकी राजमार्ग वीरगन्जमा कार्यरत सिडइ दीपक झालाई सडक डिभिजन धनुषामा लगिएको छ। यस्तै,सञ्जय पन्थीलाई रेल विभागबाट सडक विभागमा लगिएको छ। हुलाकी सडक आयोजना बाँकेका प्रमुख लिलाबहादुर भण्डारीको सरुवा अन्तिम समयमा रोकिएको स्रोतले बतायो। उनलाई बाँकेबाट सडक विभागमा ल्याउने तयारी भएको थियो।
कर्मचारीहरुले भने आर्थिक वर्ष सकिनै लागेको बेला प्राविधिक कर्मचारीहरूको सरुवा हुनु अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । भदौ÷असोजमा भएको भए यो सरुवा स्वाभाविक थियो तर यतिबेला गरिएको सरुवा स्वाभाविक छैन । केही कर्मचारीको सरुवा भने अन्तिम समयमा उल्टिएको छ ।
































