सर्वाेच्च अदालतले मर्यादाक्रम अनुसार कर्मचारीको तलब समायोजन गर्ने परमादेश दिएको छ । यही असार १० गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी निर्धारण गर्न परमादेश दिएको थियो सो को पूर्ण पाठ हिजो सार्वजनिक भएको हो । अदालतको आदेश अनुसार तलबमान समायोजन साउन १ गतेदेखि नै लागु हुने छ । समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेशसँगै अधिकृतदेखि सहसचिवसम्मको तलब बढ्ने छ ।
बिज्ञापन
२०७६ वैशाख १६ गते सरकारले कर्मचारीहरूको मर्यादाक्रम निर्धारण गरेको थियो । उक्त मर्यादाक्रममा समान रहे पनि तलबमान असमान भएको भन्दै सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयका कर्मचारीहरू भरतप्रसाद मैनाली, गोविन्द खनाल,सर्वोच्चका उपरजिस्ट्रारहरू नीराजन शर्मा र नीराजन पाण्डे, सर्वोच्चकै इजलास अधिकृतहरू भेषराज कोइराला र ज्ञानेन्द्र दाहाल, गृह मन्त्रालयमा कार्यरत कानुन अधिकृत ऋषि पौडेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरे, सर्वोच्चका शाखा अधिकृत वसन्त मैनाली, महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता बाबुराम भट्टराई, लेखा अधिकृत कृष्णप्रसाद पन्थ, सर्वोच्चका लेखा अधिकृत टामलाल अधिकारीसहित विभिन्न कार्यालयमा कार्यरत ३३ राजपत्राङ्कित कर्मचारीले रिट दायर गरेका थिए ।
बिज्ञापन
उक्त रिटको सुनुवाई गर्दै असार १० मा समान मर्यादाक्रममा समान तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश दिएको थियो ।
फैसलामा भनिएको छ,मर्यादाक्रममा रहेका कर्मचारीको तलब बढी र अघिल्लो मर्यादाक्रममा रहेका कर्मचारीको तलब कम निर्धारण भएको देखिँदा तलबमानमा वैज्ञानिक आधार लिई मर्यादाक्रम अनुसार अघिल्लो मर्यादाक्रममा हुने पदाधिकारीको बढी र पछिल्लो मर्यादाक्रममा रहेकाको कम हुने गरी आर्थिक वर्ष २०७९र८० को तलबमान समायोजन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको भन्ने उल्लेख भएको देखिन्छ ’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सोही बमोजिम राष्ट्रसेवक कर्मचारी, पदाधिकारी र श्रमिकको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न एक उच्चस्तरीय तलब सुविधा आयोग गठन भई सो आयोगले नेपाल सरकार समक्ष आफ्नो प्रतिवेदन समेत पेस गरिसकेको भन्ने बेहोरासमेत उक्त लिखित जवाफमा उल्लेख भएकै देखिन्छ ।’
बिज्ञापन
सर्वाेच्चले फैसलामा कर्मचारीहरूलाई मर्यादाक्रमानुसारको आधारभूत तलबमान कायम नहुँदा नेपालको संविधान, नेपाल पक्ष बनेका अन्तर्राष्ट्रिय कानुनी दस्ताबेजहरूको प्रावधान, सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तहरू समेतको विपरीत हुन गई निजहरूको समानताको हक समेतमा गम्भीर आघात पर्ने देखिएकाले निजामती कर्मचारीहरूको वैध अपेक्षा र मनोबललाई ध्यानमा राखी निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरूको आधारभूत तलबमान समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी अविलम्ब सुरु तलबमान समायोजन र निर्धारण गर्नू गराउनू आदेश दिएको छ ।
यो सँगै असमान मर्यादाक्रममा रहेका शाखा अधिकृतदेखि सहसचिवसम्मको तलब बढ्नेछ । मर्यादाक्रममा शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ रुपियाँ छ । यस्तै उपसेनानीको तलब ४५ हजार १०३ रुपियाँ छ ।
समान मर्यादाक्रममा रहेका निजामती सेवा उपसचिवको शुरु तलब ४८ हजार ७३७ रुपैंया रहेको छ सोही मर्यादाक्रमका सुरक्षा निकायमा ५२ हजार २७९ रुपियाँ छ ।
यस्तै सहसचिव मर्यादाक्रमको १६ औँ स्थानमा छन् । उनीहरुको सुरु तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सुरक्षाकर्मीहरुको तलब ६० हजार ९५० छ । मर्यादाक्रम अनुसार तलब समायोजन हुँदा कम्तिमा अधिकृतहरुको तलब ३ हजारदेखि ४ हजार ५ सयसम्मले बढ्नेछ । सर्वाेच्चको यो आदेशसँगै राजपत्राकिंत र राजपत्राअनंकित कर्मचारीहरुबीचको तलबमानमा ठूलो अन्तर पर्ने देखिएको छ ।