अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिज्ञापन
आयोगले आर्थिक वर्ष २०७५/ ०७६ मा पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । उनीसहित छाँयानाथ रारा नगरपालिकाका तत्कालिन इन्जिनियर हरिदेव पण्डित, सबइन्जिनियर विष्णुभक्त हितान, ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्थाका सञ्चालक सुरबहादुर बुढा, कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्ल र रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ । त्यसैगरी छायानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पंडित र सव-इन्जिनियर विष्णुभक्त हितानलाई पनि आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ । त्यसैगरी ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढाविरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ ।कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम छुट्टाछुट्टै बिगो कायम गरेर मुद्दा दायर गरिएको हो ।


































