पर्वतारोहीहरुले लियोजन अफिसर चाहिनेभन्दा धेरै खटाइएको र उनीहरुले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो गरेका छन् । १७ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही पासाङ्ग टेण्डी शेर्पाले यस्तो गुनासो पोखेका हुन ।
बिज्ञापन
सगरमाथाको चौथो क्याम्पमा पुग्दा मोवाइल र घडीमा चीनको समय देखाउने गरेको बिषयमा आफूले सरकारी अधिकृतहरुलाई जानकारी गराउन खोजेको भए पनि यस पटक सम्पर्क अधिकृत बनेर गएका ४० जना नै बेसक्याम्पमा नभेटिएको कारण उक्त बिषय तत्काल राख्न नपाएको बताए । एउटा सार्वजनिक फोरममा प्रधानमन्त्री र पर्यटन मन्त्रीकै अगाडि उनले यो गम्भीर बिषय उठान गरेको भए पनि उनीहरुले यसलाई गम्भीर रुपमा नलिएकोमा दुखेसो पोख्छन्,उनी । आक्रोश पोख्दै उनले भने ‘अरुको देशको समय अनुसार मेरो देशको सगरमाथा चढ्नुपर्ने ?’ संखुवासभामा जन्मिएका टेण्डी १३ बर्षकै उमेरदेखि ट्रेकिङ्ग क्षेत्रमा लागेका हुन । २० बर्षकै उमेरमा सगरमाथाको सफला आरोहण गरे । सन् २००३ देखि यताका १७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । हालैमात्र एक सातामै दुई पटक सगरमाथा आरोहण गरेर फर्किएका छन्,उनी । यस अघि २००७ मा पनि सातामा दुई पटक सगरमाथा आरोहण गरेका थिए । यसरी साता दिनमै दुई पटक सगमाथाको चुचुरोमा पुग्नेमा कामीरिता शेर्पा,पासाङ छिरिङ शेर्पा,दावा शेर्पा,पासाङ भोटे लगायत औलामा गन्न सकिने शेर्पाहरु छन् ।
यस पटक सगरमाथा आरोहणका स्वदेशी तथा विदेशी गरेर ४२१ जनाले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा,गाइड गरी झण्डै ६ सय हाराहारीले सगरमाथा आरोहण गरेर फर्किएका छन् । सगरमाथा आरोहणका लागि ४६ वटा ग्रुप त्यता गएकोमा ४० जना कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाइएको थियो,सगरमाथातिर । आधारशिविरसम्म पुग्ने सम्पर्क अधिकृतलाई एजेन्सीले नै हवाई टिकट, बेसक्याम्पसम्म खाने–बस्ने व्यवस्था गर्ने हुँदा पनि सरकारी कर्मचारीहरू सम्पर्क अधिकृत बन्न मरिहत्ते गर्छन् । यसरी मरिहत्ते गरेर लियाजोेन अफिसर बनेर गएकाहरु जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगर्ने गरेको पासाङ्गको गुनासो छ ।
धेरै चाहिँ भत्ता पचाउनका लागि वेस क्याम्पसम्म पुग्ने,आफूलाई दिइएको जिम्मेवारी समेत पूरा नगरी बेस क्याम्पमा पुगेर फर्किने गरेको पासाङ्गजस्तै आरोहीहरुको अनुभव र गुनासो छ । दुई–चार जना मात्र एकदमै खटेर काम गर्ने देखेको छु । लियाजोन अफिसरहरुले आरोही टिम वेसक्याम्पमा पुगेपछि टिममा अवैद्यानिक काम भइरहेको छ वा छैन ? कुन ट्रेकिङ कम्पनीबाट आएको हो ? गाइडहरुले बुझेको छ कि ? राम्रोसँग निरीक्षण गर्नेुपर्ने हो तर वेसक्याम्पसम्म पुग्छन्,काठमाडौं फर्किहाल्नेमात्र धेरै छन् । झण्डै साढे तीन सय डलर हाराहारी कमाउन पाइने हुँदा राम्रा कम्पनी छानेर सगरमाथा जान कर्मचारीको होडबाजी चढ्छ । एउटा गाइड झण्डै तीन महिना खट्दा,रगत छादेर काम गर्दा मुस्किलले १५ लाख कमाउला तर लियाजोन अफिसर एक दिन बेसक्याम्प पुग्छन्,तीन लाखसम्म असुल्छन् । ४० वटा ग्रुप हुन्छन भने ४० जना अफिसर किन चाहियो ? पर्यटन विभाग,मन्त्रालयले आफ्नो रेकर्ड हेरोस र धेरै राम्रो काम गर्नेहरुको चार जनाका लागि एउटा बेसक्याम्पमा एउटा स्टेसन अफिस खडा गरेर उनीहरुलाई पूर्ण अधिकार दिएर काम लगाउँदा राम्रो हुन्थ्यो भन्छन् शेर्पा ।
































