मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न २६ निर्णयहरु सार्वजनिक भएको छ । जसमा भ्रमण स्वीकृतिसँग सम्बन्धित ५ वटा निर्णय गरेको छ भने नियुक्ति,बढुवा,सरुवासँग सम्बन्धित निर्णयहरु भएका छन् ।
बिज्ञापन
मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको छ ।
यस्तै ०८१ जेठ १७ गतेदेखि १८ गतेसम्म मंगोलियाको उनलबाटरमा आयोजना भएको कोलम्बो प्लानको ४८ औँ बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृत दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा जर्मनीको बोनमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्स अन्तरगतको एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा योजना आयोगकै सदस्य डा अरनिकोकुमार पाँडेलाई जेठ २१ गतेदेखि २५ गतेसम्म सहभागि हुन र ०८१ जेठ १९ गतेदेखि २४ गतेसम्म कोलम्बियाको बोगटानमा आयोजना हुने शान्तिका लागि विशेष अधिकार क्षेत्र बोगोटामा सहभागि हुन महान्यायाधिवक्ता डा दिनमणी पोखरेल नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ । यस्तै एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा जेठ २१ देखि २२ गतेसम्म सञ्चालन हुने लिडरसिप फोरम अन राइजिङ द प्रोफाइल अफ पर्फोमेन्स अडिट्स फर एसएआई लिडरस एण्ड के स्टेकहोल्डरस विषयक कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै क्याविनेटले सहसचिव तारादत्त भट्टलाई नेपाल प्रत्यायन केन्द्रको कार्यकारी निर्देशक,लोकसेवा आयोगका सिफारिसमा सात जनालाई सहसचिव सरह पदमा नियुक्ति गर्ने,तीन जना न्याय सेवाका कर्मचारीलाई सचिव तहमा बढुवा गर्ने र तीन सचिवको सरुवा गर्ने निर्णय गरेको छ । यस्तै सरकारले कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजतबाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरेको छ । यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने निर्णय क्याविनेटले गरेको छ ।
यस्तै, नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।यता,विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरेको छ भने त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाँउमा रहेको जग्गामध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन एवं अचल सम्पत्तिको खोज र लगत संकलन गरि प्रतिवेदन पेस गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि क्याविनेटले गरेको छ ।
बिज्ञापन
बैठकले १५ शय्याको अस्पताल निर्माण गर्न बनेपा नगरपालिका काभ्रेपलाञ्चोकलाई सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । न्यादी जलविद्युत आयोजनाको प्रसारण लाइन आयोजनाको टावर र राइट अफ वेको विकास निर्माणको लागि लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको वनको २.९५ हेक्टर जग्गा प्रयोग गर्न दिने र जग्गामा रहेका रुख, पोल हटाउन स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।
सुरीखोला जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण गर्नको लागि गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत रहेको दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको २.९९३ हेक्टर जग्गा प्रयोग गर्न दिने र रुख, पोल हटाउन स्वीकृत दिने निर्णयसमेत भएको छ । साँघुखोला जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइन आयोजना निर्माणको लागि दोलखा जिल्लाको बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ३.९८४३ हेक्टर जग्गा प्रयोग गर्न दिने तथा वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख, पोल हटाउन स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
बिज्ञापन
मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका दोलखा र चीनको छेन्दुस्थित डुजियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गरेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा, सुविधा सम्बन्धी पहिलो संशोधन निर्देशिका २०८१ र सडक दस्तुर उठाउने कार्यविधि २०८० पनि बैठकबाट स्वीकृत भएको छ ।
नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गर्नेगरी सिमरा विशेष आर्थिक क्षेत्रको ब्लक ए विस्तारलाई विकास तथा सञ्चालन गर्न स्वीकृत पनि दिइएको छ ।