निरन्तरले बहाबले ठूल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तरको लगाव,कर्मप्रतिको झुकाव,सकरात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एक पछि अर्काे सफलता मिल्दै जान्छ । यस्कै उदाहरण हुन कृष्णकुमारी श्रेष्ठ । गत शुक्रवारमात्र उपसचिव तहका ५ कर्मचारी सहसचिवमा उक्लिएका छन् ।
बिज्ञापन
प्रशासन सेवातर्फ खुलाबाट उपसचिवद्धय कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल,महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लगि सिफासि हुँदा न्याय सेवा,कानुन समूहबाट लिलाधर सुवेदी नियुक्तिका लागि सिफारिस भएका छन् । लोकसेवा आयोगले यस वर्ष सहसचिव खुलातर्फ २ पदमा मात्रै माग गरेको थियो । परीक्षामा लिखिततर्फ १ हजार २५ जना सहभागी थिए । ती सबैलाई पछि पार्दै कृष्णकुमारी श्रेष्ठले रेकर्ड भत्काएकी हुन । उनी नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक खुलातर्फबाट सहसचिवमा नाम निकाल्न सफल महिलाको रुपमा दर्ज भएकी छन् । यो दुनियाँ नै जित्नेहरूको हो, जित्नेहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ ? कसैले हिसाब राख्दैन तिनको,कसैले भाउ दिँदैनन्,कसैले खोज्दैनन् हार्नेहरूलाई । तर जीवनका परीक्षामा सफल हुनका लागि पटक पटक पौठेजोरी खेल्दैपर्दछ असफलतासँग ।
बिज्ञापन
पाल्पा जिल्लाको एउटा मध्यम बर्गीय परिवारमा जन्मिएकी हुन उनी । परिवारमा १६ सन्तानमध्येकी कान्छी । दुई वटा आमा,दुवैतर्फबाट ८÷८ सन्तान । ठूली आमा तर्फको ६ छोरी २ छोरा र आफ्नो आमातर्फका ५ छोरी,तीन छोरामध्य कान्छी हुन कृष्णकुमारी । खाने मुख धेरै,आम्दानीको श्रोत सीमित । बुबा आमाले खाई नखाई हुर्काए पढाए । निकै कहालिलाग्दो विगत भोगेर आएका हुन उनी । अभाव त तनावको पहाडले किचिएर हुर्किएकी हुन कृष्णकुमारी । गाउँमै रहेको पाल्पा,रामपुर ८ मा गंगा माविमा एसएलसी तहसम्म अध्ययन पूरा गरिन । पढाईमा कहिल्यै दोश्रो भइनन् । माटोसँगै मितेर साइनो गाँसेका बुवा आमा । अन्न बाली र तरकारी खेती गरेर रमाउँदै आएका छन्,घरको कामसँग सँगै पढाईलाई अगाडि बढाइन । एसएलसी लगदै गाउँकै प्राविमा शिक्षिकाको जागिर खाँदै आफ्नो अध्ययनलाई अगाडि बढाइन् । रामपुर शहीद बहुमुखी क्याम्पसबाट आइएदेखि व्याचलरसम्म पार गरिन । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर यो अवसर सबैका लागि जुर्दैन । निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन भन्ने ज्वलन्त उदाहरण हुन् कृष्णकुमारी । गाँउकै गाविस सचिवहरु देख्दा उनको मनको कुनामा पनि निजामती सेवामा प्रवेश गर्न पाए हुने भन्ने लाग्दथ्यो । स्नातक तह पार लगाए पछि उनी भित्रिइन,राजधानी । त्रिविविमा मानविकी संकायमा पढ्न थालिन । ६५ सालमा खरिदारको परीक्षा दिइन । मेलोमेसो केही थाहा थिएन,अनुत्र्तीण भइन । यसरी कुनै समय खरिदारमा परीक्षामा अनुत्र्तीणका भएकी उनले अहिले १ हजार २४ प्रतिष्प्रर्धीलाई पछि पार्दै खुलातर्फबाटै सहसचिवमा पहिलो नम्बरमा नाम निकालेर रेकर्ड कायम गरेकी छिन् ।
खरिदारको परीक्षामा हात लागेको असफलताले उनलाई ठूलो पाठ सिकायो । अध्ययनको शैली र गति परिवर्तन गरिन । आफूलाई निर्खादै लगिन । अध्ययनको दायरा बढाइन । खरिदारको परीक्षामा असफल भएकी उनी पाँच बर्षपछि एकै पटक अधिकृतमा नाम निकाल्न सफल भइन । मास्र्टस डिग्री त्रिविमा अध्ययन गरिन । अग्रेजी मानविकी । गाउँका गाविस सचिव देख्दा सरकारी सेवामा लाग्ने प्रेरणा लागेको हो । ०६५सालमा खरिदारको परीक्षा दिए तर मेलोमेसो मिलेन । ६८/६९ मा नेम इन्स्टिच्यूडमा लोकसेवा तयारी गर्दै थिइन । उनलाई त्यहाँ पढाउनेमध्येका एक पूर्व प्रशासक प्रतीक ढकाललाई लाग्थ्यो यी नानीले कहिल्यै पनि महिला र जनजातिको कोटा पर्खिरहनु पर्ने छैन । यी खुलाबाटै माथि पुग्नेछिन् । यिनको लेखाइ सफा, शुद्ध र कुरो पुगेको मात्र होइन, अरूको भन्दा भिन्नै दृष्टिकोण भएको पनि हुन्छ । नभन्दै सहसचिव तहको परीक्षामा उनले आफूलाई अब्बल सावित गरेर प्रमाणीत गरिदिइन । ७० साल भदौं १९ गते सरकारी सेवामा पाइला राखेकी हुन कृष्णकुमारीले । १६ सन्तानमा सरकारी सिन्दुर लगाउने सौभाग्य पाएकी उनीमात्र हुन । तर उनको अनुहारको खुसीको रङ्ग हेर्ने पिता अहिले साथमा छैनन । ५८ जेठ १२ मा उनको पिताले यो धर्ती छाडे । सोचेजस्तो सहज ढंगबाट कहाँ तय भएको हो र जीवनको बाटो ?
बिज्ञापन
सरकारी जागिर खान्छु भन्नका लागि अँगेनामा आमाले पकाएर ठिक्क पारिदिएको तरकारी, भातजस्तो कहाँ थियो र ? त्यसका लागि जरुरी थियो कडा मिहिनेत र अध्ययन । पहिलो पोस्टिङ्ग सञ्चार मन्त्रालय मातहतको जिल्ला हुलाक कार्यालय धादिङ्गमा भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,राष्ट्रिय ट्रमा सेन्टरमा केही समय काम गरिन । अब एक खुड्किलो उक्लिनु थियो अर्थात् उपसचिव हुने हुटहुटी पसिसकेको थियो । तर,कहाँ सजिलो थियो र ? निरन्तरको बहावले ठुल्ठूला चट्टानहरूलाई त पगाल्न सक्छ भनेझैं लगाव र निष्ठाकै कारण उनी सरकारी सेवामा पाइला राखेका पाँच बर्षमै उपसचिव तहमा उक्लन सफल भइन । उपसचिवमा उक्लिएसँगै केही समय स्थानीय तह र मन्त्रालयमा कार्यअनुभव बटुलिन । ०७५ साल असार २७ गते उपसचिवमा उक्लिएपछि गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा १८ महिना,२७ महिना रक्षा मन्त्रालय हुँदै हाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा योजना तथा वैदेशिक साहयता शाखा सम्हाल्दै आएकी थिइन । त्यही समय काम र पढाईलाई सँगसँगै अघि बढाइन । पढ्नमा सदैव अब्बल कृष्णकुमारी भन्छिन्, कहिलेकाँही पढ्दापढ्दै यतिसम्म पढिएछ कि संविधानका कतिपय धारा उप धाराहरू आँखा चिम्लेर कण्ठस्थ पारिएछ, जुन कहिल्यै पनि बिर्सदैन । निजामती सेवामा पाइला राखेको १० बर्षमै उनी सहसचिवमा उक्लिन सफल भइसकेकी छिन् । उनलाई आफू टपर नै हुन्छु भन्ने लागेको थिएन तर पढाइप्रति मेरो धेरै नै लगाव थियो, त्यसैले सफल हुन सके भन्ने लाग्छ । निजामती किताबखानको तथ्यांक अनुसार अहिले ८५ हजार ५ सय १२ जना कर्मचारी कार्यरत छन् । निजामती सेवामा महिलाले २८ दशमलव २३ प्रतिशत हिस्सा ओगटेका छन्। निजामती सेवामा ५८ जना सहसचिव र ३ सय ६५ उपसचिव महिला छन्। शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति उल्लेख्य छ । निजामतीमा पछिल्लो समय महिला प्रशासकहरुले एक पछाडि अर्काे रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैमा थपिएकी छिन,कृष्णकुमारी श्रेष्ठ ।
कुनै बेला निजामती क्षेत्रमा महिला कर्मचारी पाउन मुस्किल पर्थ्यो । निजामतीमा पुरूषकै बाहुल्यता थियो । समावेशिता र लक्ष्यका साथ अध्ययनमा लागेपछि अहिले आएर निजामती क्षेत्रमा महिलाको संख्या बढ्दै गएको छ । संख्या मात्र बढेको छैन, केही सरकारी कार्यालयहरू पनि महिलाले नै हाँकिरहेका छन् । निजामती सेवामा ६१ हजार चार सय २६ पुरुष कर्मचारीले काम गर्दा महिलातर्फ २४ हजार ९४ महिला छन् । जसमा ८ सचिव महिला कार्यरत छन् । राधिका अर्याल,उपराष्ट्रपतिको कार्यालय ,प्रम कार्यालय (कानुन)हेर्ने लीलादेवी गडतौला,सरिता दवाडी जलस्रोत तथा सिँचाई,सेवा लम्साल,परराष्ट्र,विन्दु विष्ट उप–महालेखापरीक्षकका रुपमा कार्यरत छिन भने नेपाल ट्रष्टमा प्रमिलादेवी बज्राचार्य र लक्ष्मीकुमारी बस्नेत गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा छिन् । यीमध्ये पनि कान्छी सचिवका रुपमा सरिता दवाडी,परराष्ट्र सेवामा पहिलो महिला सचिवका रुपमा सेवा लम्सालले कीर्तिमानी कायम गरेका छन् । त्यही भीडमा कीर्तिमानी थपेकी हुन कृष्णकुमारीले ।
निजामती सेवामा ५८ जना सहसचिव र ३ सय ६५ उपसचिव महिला छन् । शाखा अधिकृत, नायव सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति बढ्दै गएको छ । न्याय सेवामासमेत महिला उपस्थिति बढेको छ । कृष्णका श्रीमान जगतबहादुर बानियाँ पनि सरकारी सेवामै छन् । उनी नेपाली सेनामा सुबेदार पदमा कार्यरत छन् ।