बाबुराम भट्टराईले प्रधानमन्त्री हुने एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए,‘हामी टिभी हेर्ने दर्शक मात्र हौं, रिमोर्ट अर्कैको हातमा छ ।’ उनले भनेको कुरा पुष्टि पनि भइसकेको छ । नेपालको राजनीतिकमा भारतको धेरै चलखेल हुने गरेको आम सर्वसाधारण खुलेआम रुपमा भन्छन् ।
बिज्ञापन
२०६४ चैत २८ गते दुई क्षेत्रबाट चुनाव हारेका माधवकुमार नेपाल देशको प्रधानमन्त्री भयो । त्यसमा भारतकै साथ सहयोग रहेको सर्वसाधारण बताउँछन् । हिजो जनयुद्धको बेला पनि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भारत’ मै लुकेर बसेका हुन् । आन्दोलनका क्रममा जनता मरे, प्रचण्ड भने भारतमा गएर बसे ।नेपालमा एक जना पनि नेता नभएको सर्वसाधारणको भनाइ छ । कुनै भारतको त कुनै अमेरिकाको ‘दलाल’ हुन् । बुढाखाडा भारततिर, युवा अमेरिकातिर । कार्यकर्ताले हाम्रो पार्टीको नेता भनेर के गर्नू, जनताले नेता भन्नुपर्यो नि । नेपालमा साँच्नै नै नेता भएको भए आफ्नो देश र जनताका लागि काम गर्थे ।
बिज्ञापन
नेताहरु नभएरै हो, नेपाल र नेपाली बर्बाद भएको । जसले आफूलाई नेता भन्छन् ती अर्काको झोले हुन् । देशलाई तहसनहस बनाएर विदेशी मुलुकको हितमा काम गर्छन् । यस्ता नेताका कारण आज अन्तर्राष्ट्रियस्तरमा नेपालको बद्नाम भइरहेको छ । हामीकहाँ कस्तो बन्यो भने केही सानो निर्णय लिनुपर्यो भनेपनि छिमेकीकै पुग्छन् ।
नेताहरुलाई थोरै पेट दुख्नुपर्छ, भारत दौडिहाल्छन् । नेता मात्रै होइन्, सरकारी कर्मचारीको पनि भारतप्रति झुकाव बढेको सर्वसाधारणको बुझाइ छ । सरुवा बढुवा गर्नुभयो भनेपनि भारतीय राजदूतावास धाउने गरेको बताइन्छ । छिमेकी देशले कहिले कसलाई प्रयोग गर्छ, आफूले फाइदा लिन्छ ।त्यसैले यस्ताबाट विकास हुन्छ भनेर सोच्नु बेकार छ । बाबुराम भट्टराईले पहिल्यै भनिसकेका थिए, रंग अहिले देखिरहेको छ । आफ्नो पद टिकाउनका लागि नेपालको धेरै भूभाग राजनीतिक दलका नेताहरुले छिमेकीलाई बुझाए । हाम्रो महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्रीहरुको चर्तिकला देखेर सर्वसाधारणलाई लाज लाग्न थालिसकेको छ ।मुलुकका अर्थमन्त्री वर्षमान पुन केही दिनअघि भारतले दिएको स्कुल बस र एम्बुलेन्स लिन दूतावासमै पुगे । नेपाली जनताले कर तिरेका छन्, विदेशमा रगतपसिना बगाएर नेपालीले रेमिट्यान्स पठाएका छन् । गम्भीर प्रश्न के हो भने, यो पैसा कहाँ गयो ? नेता र सरकारी कर्मचारीले झ्याम्म बनाएका होइनन् ?
विकास भयो भनौं भने देशको अवस्था उही छ । एउटा स्कुल बस र एम्बुलेन्सका लागि समेत अर्काको भर पर्नुपर्छ भने योभन्दा लज्जास्पद कुरा के होला ? मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा भारतले नेपालमा नाकाबन्दी गर्यो । तर, उनी झुकेनन् । उनले हेलिकप्टरमार्फत अन्य मुलुकबाट इन्धन र नुन ल्याएर जनताको आवश्यकता टारे ।
मूल्य पनि बढाएनन् । भारतले एक साता नाकाबन्दी गरिदिने हो भने अहिलेका नेताहरुको सातो उड्छ । भारतको एउटा कुनै दूत आउँदा अघि र पछि गर्ने यिनीहरुको भारतको अगाडि एक शब्द निस्किँदैन् । के नाकाबन्दी खोल्नु ? भारतले एक महिना नाकाबन्दी गरिदियो भने नेपाली भोकभोक मर्नुपर्ने अवस्था आउँछ ।
किन कि नेताहरुले नेपालका उद्योग कलकारखाना सबै बन्द गराए । भारतको बजार स्थापना गर्नका लागि भएका उद्योग कलकारखाना बन्द गरियो । खेतीयोग्य जमिन मासेर घरैघर बनाइयो । उब्जनी गर्नलाई जमिन छैन् । मरिचमानको पालोभन्दा सयौं गुणा बढी गाडी बढेको छ । भारतले पेट्रोल डिजेल पठाएन् भने ती गाडी जम्मै थन्किन्छन् । ग्याँस आएन् भने खाना पकाउनै सकिँदैन् । नेपाल यस्तो भुमरीमा फस्यो कि निस्किने कुनै उपाय नै छैन् । आफ्नो व्यक्तिगत फाइदाका लागि नेता भनाउँदाहरुले देश सकाइदिए । हिजो मरिचमानले लिएको अडान लिन सक्ने स्थिति अहिले छैन् ।
बिज्ञापन
नेताहरुले मरिचमानले देखाएको हिम्मत, राष्ट्रियतालाई ‘वालुवामा पानी’ बनाइदिए । विदेशी ऋण लिन क्रम पछिल्ला दिन निकै बढेको छ । एक जना नेपालीको टाउकोमा ८२ हजार विदेशी ऋण पुगिसकेको छ । २०७८ सालको जनगणनाले नेपालमा २ करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या छ । कतिपय त विदेशमा छन् । तर, यी सबै ऋणी भएका छन् । भर्खर जन्मिएको बच्चासमेतले ऋणको भारी बोकेको छ । ऋण लिएको लिर्यै छ तर कसरी तिर्ने भन्ने ? भिजन छैन् । जनतामा भ्रम छर्ने, सञ्चारकर्मीलाई ढाँट्ने र आफ्नो कुर्सी बचाउने खेल चलिरहेको छ । यहाँ आम्दानीको स्रोत केही पनि छैन् । राजश्व उठाउन त कलकारखाना चाहिएला । त्योपनि छैन् । अब सरकारी खर्च कसरी धान्ने ? विदेशीबाट लिएको ऋण कसरी तिर्ने ? एउटाबाट ऋण लिने, अर्कोको साँवाब्याज तिर्ने खेल चलिरहेको छ । नेपाल धितो राखेर यी दलालहरुले खर्बौं रुपैयाँ ऋण लिएका छन् । नेपाल भन्नेबित्तिकै नक्साभित्रैको सबै पर्छ ।जनता भने आफ्नो यति सम्पत्ति रहेको बताउँछन् । नेताले त्यो सब धितो राखिसकेको जनताले बुझेका छैनन् । गणेशमान सिंहले ‘नेपाली जनता भेडा हुन्’ भनेर त्यत्तिकै भनेका रहेनछन् । नेताहरुले देश सर्वस्व बनाइसके, तैपनि हामी कार्यकर्ता भन्दै हिँड्छन् । जनताहरु कोही खान नपाएर आत्महत्या गरेका छन्, उपचार गर्न नसकेर मर्ने दिन कुरेर बसेका छन् ।
दलालहरु भने देश धितो राखेर मोजमस्ती गर्छन् । कोही यिनको विरोधमा सडकमा आउन सक्दैनन् । दलालहरुले अहिले आफू बच्न तीनवटा रणनीति अप्नाएका छन् । पढेकालाई अष्ट्रेलिया, अमेरिका, नपढेकालाई खाडी । अलिक बाठाटाठालाई सरकारी जागिरमा नियुक्ति गरिरहेका छन् । करारमा भटाभट राख्छन्, आफ्नो पार्टीको कार्यकर्ता बनाउँछन् । अनि यिनको विरोध कसले गर्छ ? कि राजदूत बनाउँछन्, कि सरकारी जागिर लगाउँछन् । जसरी भएनि आफू बचिरहेका छन् । मानव सबैभन्दा चेतनशील प्राणी हो । तर, हाम्रो चेतना कहाँ गयो ? जनताले आवाज नउठाउँदा नेताहरुले मनोमानी चलाएको प्रष्टै छ ।
दलाल हरेक क्षेत्रमा छन् । सेयर, घरजग्गा, यातायात, औषधी, तरकारी, माछामासु सबैतिर दलाल छन् । तर, तिनले देश बेच्दैनन् । एक सयको सामान पाँच सयमा बेचेर यिनीहरुले सोझासाझीलाई ठग्छन् । यद्यपि, देशचाँहि यिनीहरुले देश धितो राखेका छैनन् । जनताले तिरेको करबाट तलबभत्ता खाएका, लुगा लाएका सुरक्षाकर्मीहरु त्यस्ता एजेण्टको अगाडि-पछाडि हिँडिरहेका छन् । सुरक्षाकर्मीहरुले यस्ताको अनुहार चिन्नुपर्छ । यस्ता दलालहरुलाई सुरक्षा दिएर के फाइदा ? यिनीहरुकै कारण देश डुब्यो । जनताले नेताको अघिपछि लाग्नु र सलाम ठोक्नु भनेर सुरक्षकर्मी पालेका होइनन् । देशको भूभाग सुरक्षा गर्नु र विदेश हस्ताक्षेप रोक्नु भनेर पालेका हुन् ।
छिमेकीले नेपालको भूभाग रातारात मिचिरहेको खबरहरु सार्वजनिक भइरहेको हुन्छ । तर, कसैलाई मतलब छैन् ? जनता व्यक्तिगत स्वार्थमै रमाएका छन् । देशमा के भइरहेको छ ? तिनलाई चासो छैन् । जसको फाइदा नेताहरुले उठाए । जनता दलालहरु मालपोत र यातायातमा हुन्छ भन्ने ठान्थे । तर, सिंहदरबार र वालुवाटारमा सबैभन्दा धेरै दलाल छन् ।
-अनुषा थापा,भक्तपुर