पछिल्लो समय तस्करहरुका लागि हब बन्न पुगेको छ मुस्ताङमा भन्सार कार्यालय । तातोपानी र रसुवा भन्सार कार्यालयबाट कडाइ हुन थालेपछि तस्करहरुको रोजाईमा पर्न थालेको यही भन्सारबाट हिजोमा यार्डमा जाँच नगरी सिल लगाएर ल्याइएका आठ वटा शंकास्पद कन्टेनरसहित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा गरिएको जाँचका क्रममा कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएसँगै आठ वटै कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि प्रहरी टोलीसहित राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ ।
बिज्ञापन
श्रावण दोश्रो सातामात्र यही भन्सार कार्यालयबाट छुटेका दुई मालवाहक गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर १४ लाख रुपैयाँ जरिवाना तिराइएको थियो । घोषणापत्रमा उल्लेख गरिएको परिमाण (क्वान्टिटी) र वास्तविक मालवस्तुबीच फरक भेटिएपछि एउटा मालबाहक गाडीलाई ८ लाख रुपैयाँ र अर्को गाडीलाई ६ लाख रुपैयाँ गरी कुल १४ लाख रुपैयाँ जरिवाना तिराइएको स्रोतले जनाएको छ । प्रारम्भिक जाँचका क्रममा क्वान्टिटीमा भएको फरक पत्ता लगाउन नसक्ने जाँचकी वा संलग्न कर्मचारीमाथि भने हालसम्म कुनै कारबाही नभएको स्रोतले जनाएको छ। यसले भन्सारको जाँच प्रणालीमाथि नै प्रश्न उठाएको छ। यस्का अलवा यही नाकाबाट बजेटको मुखमा ६४९ वटा इभी गाडी छुटेको थियो । उही र उस्तै प्रकरणमा रसुवा भन्सारका सिंगो टिमलाई कारवाहीमा पर्दा मुस्ताङ भन्सार कार्यालयका कर्मचारीमाथि कुनै प्रकारको एक्सन लिइएन बरु उल्टै अर्थ मन्त्रालयले छानबिन समिति बनाएर क्लिन चिट दिएको थियो । सो को केही अघि सोही भन्सारबाट ठूलो परिणाममा भेप तस्करी भएको थियो । सो भन्सार कार्यालयका प्रमुख छन्- बिदुर चुडाल । चुडाल स्वर्णीम बाग्ले अर्थमन्त्री भए पछि सो कार्यालयको प्रमुख हुन पुगेका हुन । गत १६ चैत्रमा अर्थमन्त्री बाग्लेले ३० उपसचिवको सरुवा गर्दा मेरिटका आधारमा सरुवा गरेको थियो । मेरिट लिष्टको अन्तिममा रहेका चुडाललाई मुस्ताङ्ग भन्सारमा खटाइएको थियो ।
बिज्ञापन



























