रसुवामा जलविद्युत् आयोजनामा प्रयोगका लागि राखिएको म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बिज्ञापन
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ मा सोमबार विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा अचानक विस्फोट भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
बिज्ञापन
विस्फोटमा नेपाली सेनाका दुई जनासहित सात जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। बाँकी घाइतेमध्ये तीन जनाको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
काठमाडौं ल्याइएका घाइतेहरूको सैनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार उक्त विस्फोट जलविद्युत् आयोजनामा प्रयोगका लागि राखिएको तर म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा भएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।
बिज्ञापन
विस्फोटको कारण तथा डिस्पोज गर्ने क्रममा अपनाइएको सुरक्षा व्यवस्थाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।



























