भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझैं पनि स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । नयाँ नेतृत्व आएसँगै देशभरीका गाउँपालिका र नगरपालिकामा पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत पठाएको दावी गरेको भए पनि अझैं १४ नगरपालिका र ४ वटा गाउँपालिका निमित्तकै भरमा चलिरहेका छन् । उपसचिवको दरबन्दी रहेका १४ र शाखा अधिकृतको दरबन्दी रहेका ४ वटा गाउँपालिका निमित्तले प्रमुख प्रशासकीय अधिकृत चलाइरहेका छन्। स्थानीय तहमा निमित्तहरूलाई सिनित्त बनाउने मन्त्रीको घोषणा पूर्ण रुपमा कार्यन्वयन हुन सकेको छैन । कतै शिक्षा,कतै स्वास्थ्य त कतै स्थानीय सेवाकै कर्मचारीहरु निमित्तको भूमिकामा छन् ।
यस्तै निमित्तकै भरमा चलिरहेको पालिकामध्ये एक हो कर्णाली प्रदेशमा रहेको डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिका । सो पालिकाका अध्यक्ष सेनांङ गुरुङ प्रमुख प्रशासकीय अधिकृतको खोजीमा भौतारिएको लामो समय भयो तर मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । पालिकाका अध्यक्षले मन्त्रालयका सचिवलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत खटाइदिन आग्रह गरे पनि सुनुवाइ भएको छैन । अध्यक्ष गुरुङका अनुसार,छार्का ताङसोङ गाउँपालिका डोल्पामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाललाई सरुवा गरेर झिमरुक गाउँपालिका प्युठानमा खटाइएको कारण त्यहाँ विशाल पौडेल निमित्तको जिम्मेवारीमा छन् । लामो समयदेखि रिक्त रहेको दरबन्दीमा खटाइएको नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म कार्यालयमा हाजिर हुन नआएको र सम्पर्कमा समेत नरहेको हुँदा पालिकाको दैनिक प्रशासनिक, आर्थिक तथा विकास निर्माण सम्वन्धि कार्यसम्पादनमा कठिनाइ उत्पन्न भइरहेको उनले जनाएको छ ।
बिज्ञापन

बिज्ञापन
पालिकाका अनुसार त्यहाँ केशव बहादुर सुनारलाई खटाइएको भए पनि उनी हाजिर हुन नगएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुसार उपसचिवको दरबन्दी रहेका १४ वटा पालिकाहरु शाखा अधिकृत तहका कर्मचारीले निमित्त चलाइरहेका छन् । यस्का केही उदाहरण धनकुटाको पाख्रीबास, सप्तरीको सुरुङ्गा र हनुमाननगर कंकालिनी, महोत्तरीको भङ्गाहा, बलवा, धनुषाको मिथिला, रौतहटको ईशनाथ, देवाही गोनाही, वृन्दावन र बौधीमाई तथा डडेल्धुराको अमरगढी नगरपालिका हुन । यस्का अलवा ऐन विपरित धनुषाको सबैला नगरपालिकामा र बाजुराको बुढीगंगा नगरपालिकामा शिक्षा सेवाका उपसचिवहरूलाई निमित्तको जिम्मेवारी दिइएको छ । जबकी प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाका कर्मचारीलाई खटाउने प्रचलन छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाकै कर्मचारी राख्नुपर्छ र कुनै कर्मचारीलाई लामो समयसम्म निमित्त प्रमुख प्रशाकीय अधिकृतको रूपमा खटाउनु नहुने भनिए पनि संघीय मामिला तथा सामान्य प्रशासनको स्थानीय कर्मचारी प्रशासन हेर्ने फाँट कमजोर हुँदा ती स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकिएको हो । उता बाराको पचरौता नगरपालिकामा स्थानीय तहकै कर्मचारीलाई निमित्त तोकिएको मन्त्रालयले जनाएको छ ।
उता दार्चुलाको व्यास गाउँपालिका, स्याङ्जाको हरिनास गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकामा समेत मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । यस अघि सिंहदरबार र काठमाडौं उपत्याकामै बस्ने र कहिले नछाड्ने ५ हजार बढी कर्मचारीहरुको सूची नै तयार पारेर ती कर्मचारीहरुलाई दुर्गममा पठाउने र दुर्गममा सेवा गरेका कर्मचारीहरुलाई सिंहदरबार ल्याउने भनिए पनि कर्मचारी ट्रेड युनियनका २० कर्मचारीलाई दुगर्ममा पठाएर सो यात्रा पूर्णविराम लागेको स्थिति छ ।
























