११ वटा उपमानगरपालिकामध्ये सबैभन्दा अब्बल बुटवल उपमहानगरपालिका देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ६४ दशमलव ४४ अङ्क प्राप्त गर्दै पहिलो भएको छ । यस्तै सबैभन्दा कमजोर भने सुनसरीको इटहरी उपमहानगरपालिका ३८ दशमलव ९६ अङ्कका साथ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।
बिज्ञापन
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाई आधार मानेर देशैभरका स्थानीय तहको मूल्यांकन गरेको थियो । जसमध्ये स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे वा नगरेको, असार मसान्तभित्र बजेट पास गरे तथा नगरेको,घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातलाई समेत आयोगले मूल्यांकनका आधार मानेको छ । सोही आधारमा ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका ६४ दशमलव ४४ अङ्क प्राप्त भएको छ भने दोश्रोमादाङका तुल्सीपुर ६१ दशमलव ५३ अङ्क र घोराही ६१ दशमलव ०८ अंक प्राप्त गरेर दोश्रो र तेस्रो स्थानमा छन् । कैलालीको धनगढी ५६ दशमलव ६०, बाँकेको नेपालगन्ज ५६ दशमलव ५४ अङ्क हासिल गरी पाँचौं स्थानमा रहेका छन् ।
यस्तै, हेटौँडा उपमहानगरपालिकाले ५४ दशमलव १३,जनकपुरधाम उपमहानगरपालिकाले ५१ दशमलव ५८ अङ्क ल्याउँदा धरान उपमहानगरपालिका ४९ दशमलव ७६, बाराको कलैया ४९ दशमलव ५७ र जीतपुर सिमरा उपमहानगरपालिका ४८ दशमलव ३९ को प्राप्तांक प्राप्त गर्न सकेको छ । उपमहानगरपालिकाहरू मध्ये सुनसरीको इटहरी उपमहानगरपालिका ३८ दशमलव ९६ अङ्कका साथ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।

























