पहिलो कार्यकालको एक बर्षमा सात वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष आफू अनुकुलको निमित्त हाकिम खोज्दै संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयमा धर्ना दिइरहेका छन् । गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको कुनै पनि प्रमुख प्रशासनिक अधिकृतलाई टिक्न दिँदैनन । तर उनले आफू अनकुलका कर्मचारीलाई निमित्त हाकिम बनाउन पाए पनि तीन बर्षसम्म ढुक्कले आर्थिक र प्रशासनिक अधिकार दिएर काम लगाउँदै आएका छन् ।तर संघीय मामिला तथा सामान्यले शाखा अधिकृत तहका कर्मचारी खटाउँदा होस वा अरुलाई निमित्त दिँदा सो पालिकामा कुनै पनि प्रशासकीय अधिकृत लामो समय टिकेको देखिन्न भने निमित्त हाकिम पनि छोटै समयमा परिवर्तन भएको देखिएको छ ।
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस १४ गते बीर सिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो तर भण्डारी खटाइएको पालिकामा गएनन् । हाल डोलिडारको प्रशासन शाखामा रहेका उनको सरुवा भए पनि सहरी विकास मन्त्रालयका सहसचिव नारायण मैनालीले रमाना नदिएका कारण उनी सो पालिकामा हाजिर हुन पुगेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक ती शाखा अधिकृतलाई रमाना दिन भने पनि सहरी मन्त्रालयका उच्च प्रशासकहरुको दबाबमा रमाना नदिइ त्यही अड्काइराखिएको छ ।
उता प्रमुख प्रशासकीय खोज्दै मन्त्रालयमा धर्ना दिइरहेका उनले गत मंसिर २५ मै मन्त्रालयमा पत्र लेखेर कृष्णबहादुर बोहरोलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत दिन माग गरेका थिए तर मन्त्रालयले उनको माग सुनेन कारण सो पालिकामा उनीभन्दा सिनियर सातौं तहका महामल सिंह घटाल रहेका छन् । मन्त्रालयले घटाललाई निमित्त दिन सकिने अडान राख्दा पालिकाका अध्यक्ष चन्दले भने घटालभन्दा जुनियर कृष्ण बहादुर बोहरालाई निमित्त बनाइदिनुपर्ने भन्दै अडान राख्दा सामान्यले त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन । बोहरा यस अघि सोही पालिकामा ७८ साल चैत्र २० गतेदेखि ८० साल भदौं ४ गतेसम्म अर्थात झण्डै डेढ बर्ष निमित्त चलाइसकेका जुनियर कर्मचारी हुन । अहिले सामान्य प्रशासन मन्त्रालय र सो गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दबीच यही बिषयलाई लिएर लफडा परिरहेको छ ।
सो पालिकामा ०७८ पुष १८ गते अधिकृत छैठौँका जगदीश जोशीले निमित्त चलाए । जोशीलाई हटाएर दुई महिना पछाडि नै फागुन १० गते अधिकृत छैठौं तहका रामसागर शाहले निमित्तको जिम्मेवारी पाए ।सो को एक महिना पछाडि कृष्ण बहादुर बोहराले निमित्त चलाउने अवसर पाएका हुन । निमित्तका रुपमा लामो समय पालिकामा टिक्ने कर्मचारी उनै हुन । कृष्णबहादुर बोहरा अध्यक्षको निर्देशन पालना गर्ने भएकाले उनी २०८० भदौ ४ गतेसम्म टिकेर बसेको रेकर्ड खोतल्दा भेटिन्छ ।
यही बीचमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० भदौ ४ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा उज्वल आनन्दलाई खटायो। तर उनलाई पठाएको महिना दिन नपुग्दै उज्जवल आनन्दको सरुवा गरिदिन माग गर्दै मन्त्रालयमा धर्ना दिए,पालिकाको अध्यक्षले । आनन्दलाई विष्णु गाउँपालिका सप्तरी सरुवा गरियो असोज १५ गते । उनको सामान्य प्रशासन मन्त्रालयले ८१ साल भदौं २६ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश पाश्री लाई खटाएको देखिन्छ तर ती शाखा अधिकृत पनि त्यहाँ ६ महिना पनि टिक्न सकेनन् । ०८१ चैत ६ मा पाश्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेसँगै ०८२ वैशाख २१ गते अधिकृत छैठौं तहका रामसागर शाह नै निमित्त प्रमुखको रुपमा चलाएको देखिन्छ ।
बिज्ञापन
दुई महिना पछि संघीय मामिलाले दलबहादुर थामीलाई सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटायो । त्यसको तीन महिनामै उनको सरुवा गरेर मेलौली नगरपालिका बैतडीमा पठाइयो । २०८२ माघ १४ गते सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरसिंह भण्डारीलाई खटाएको छ। तर गाउँपालिका अध्यक्ष चन्द भने आफू अनुकुलका व्यक्ति नै निमित्त हुनुपर्ने अडानमा छन् । उनले खोजेका निमित्त हाकिम बैतडीकै स्थानीय हुन् । तर उक्त गाउँपालिकामा सिनियर कर्मचारी छन् महामल सिंह घटाल । सामान्य प्रशासन मन्त्रालयले महामल सिंहलाई निमित्त दिन सकिने अडान लिएको छ तर चन्द भने आफैैले खोजेका व्यक्ति निमित्त हुनुपर्दछ भन्दै धर्ना जारी राखेका छन् । अहिले उनै अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै सामाजिक सञ्जालहरूमा आक्षेप लगाइरहेका छन्। तर वास्तविकता भने मन्त्रालयले पठाएको कुनै पनि कर्मचारी टिक्नै नसकेको विगत हेर्दा स्पष्ट देखिएको छ ।


























