निजामतीभित्र भेगीय,क्षेत्रीय,जातीय पकड कायम राखेर लुटको साम्राज्य कसरी चल्छ ? यो बुझ्नका लागि तत्कालीन गृहमन्त्री रमेश लेखक हुँदा पर्वते कर्मचारीहरुको हालीमुहाली चलाएको र सोही समयमा त्रिवि अध्यामगनमा भिजिट भिसा प्रकरण चलेबाटै प्रष्ट हुन्छ । सोही प्रकरणमा आफैंले डायरीमा लेखेका टिपोटहरु डिजी तीर्थराज भट्टराईका लागि घाँडो भयो । त्यही सबुत बनेर अहिले उनी भ्रष्टाचार मुद्धा खेप्दैछन् । मन्त्रीका स्वकीय रहेका बद्री तिवारीहरु अख्तियारको राडरमा छन् । उस्तै हाल छ जेनजी सरकारका वन मन्त्रालयमा त्यहाँ अहिले अरु कर्मचारीहरु फाल्दै धमाधम जुम्लेली टिम बन्दै छ ।
बिज्ञापन
उसो त यस्तो रोग मन्त्रालय मात्र होइन,विभागहरुमा समेत निश्चित समूह र व्यक्तिको लामो समयदेखि पकड देखिन्छ । यस्तो देखिन्छ,खानेपानी तथा ढल व्यवस्थापन विभागमा । सो विभाग गोर्खाली महानिर्देशकहरुको पकडमा छ । त्यो पनि रोटेसनमा । यही हालत छ औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ।
कुनै विभागको नेतृत्वमा एउटै जिल्लामात्र होइन,एकै गाउँ र ठाउँका एक पछाडि अर्काे कर्मचारीलाई प्रमुख बनाएर पठाइएको भेटिन्छ । यस्तो देखिएको छ,खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय,पानीपोखरीमा । जहाँ पछिल्ला चार जना महानिर्देशकहरु एउटै जिल्लाका मात्र नभइ एउटै गाउँ र ठाउँका कर्मचारीले नेतृत्व लिने अवसर पाएका छन् ।
काँग्रेस नेता प्रदीप पौडेल निकट मानिएका महानिर्देशक रमाकान्त दुवाडी ०७९ साउन ५ गतेदेखि विभागका महानिर्देशकको भूमिकामा रहे । सूर्यराज कँडेल अनिवार्य अवकाशमा गएसँगै विभागमा दवाडीलाई लगिएको थियो । झण्डै एक बर्ष अख्तियारमा बिताएका दुवाडी गोर्खा जिल्ला गण्डकी गाउँपालिका दुर्बुङका स्थानीयवासी हुन । ०६० सालमा अधिकृत (इञ्जिनियर)को रुपमा निजामती सेवामा प्रवेश गरेका दवाडी त्यतिखेर स्थानीय विकास मन्त्रालय अन्तर्गतको जिल्ला प्राविधिक कार्यालयमा केही समय काम गरे । सहसचिवमा बढुवा भएसँगै उनले मेलम्ची खानेपानी आयोजनामा २ बर्ष,पश्चिमाञ्चल क्षेत्रीय कार्यालय झण्डै एक बर्ष,एक बर्ष खानेपानी विभागको उपमहानिर्देशक भएर काम गरे । एक बर्ष बढी खानेपानी मन्त्रालयमा खानेपानी तथा वातावरण महाशाखा सम्हाले, खानेपानीको डिजी बन्नु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । त्यहाँ २० महिनासम्म जिम्मेवारी निभाएका उनलाई खानोपानी तथा ढल निकासमा पठाइएकोमा १३ महिनामा त्यहाँबाट सरुवा गरिएको थियो । उनी अध्ययन बिदामा बसे । अहिले मन्त्रालयमै फर्किएका छन् । उनी पछिका दुई प्रमुखहरु समेत सोही जिल्ला,एकै भेगका हुन । दुवाडी पछि विभागको महानिर्देशकमा कमलराज श्रेष्ठलाई लगियो । श्रेष्ठ मेलम्ची विकास समितिका कार्यकारी निर्देशक थिए । उनलाई ०८० असोज ०१ गतेदेखि विभागको महानिर्देशक बनाएर लगिएको थियो । त्यस अघि खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक,आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) को आयोजना निर्देशकको जिम्मेवारी सम्हालेर अनुभव हासिल गरेका उनलाई अवधि नपुग्दै त्यहाँबाट हटाइयो र उनकै नातेदार रामकुमार श्रेष्ठलाई त्यहाँ खटाइएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको केही दिनअघि तत्कालिन खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी विकास समितिमा कार्यकारी निर्देशक रहेका कमलराजलाई खानेपानी विभाग ल्याएका थिए । अहिले रामआधार साह सचिव बनेसँगै उनै कमलराजलाई हटाएर फेरि रामकुमारलाई विभागमा पठाउने गरी चलखेल शुरु भएको छ । रामकुमार कार्यसम्पादनमा कमजोर कर्मचारी मानिन्छन् । खानेपानीका कर्मचारीहरुका अनुसार, ०७८ असारमा रामकुमार मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक रहँदा मेलम्चीमा भीषण बाढी आएको थियो । बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाउँदा आयोजनामा झण्डै दुई अर्बको क्षति पुग्यो । तर,बाढीपछि आयोजना पुनःस्थापना गर्नतिर भन्दा पनि कार्यकारी निर्देशकको जिम्मेवारीबाट छुट्कारा पाउनतर्फ रामकुमार लागे ।
र, समितिमा कार्यकारी प्रमुखका रुपमा आएको अढाई महिनामै राजनीतिक पहुँचका आधारमा गण्डकी प्रदेशको ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरुवा भएका थिए । यसरी आपतकालमा जिम्मेवारीबाट पन्छिने रामकुमारलाई फेरि खानेपानी विभागको महानिर्देशक बनाउन भइरहेको चलखेल भइरहेको छ । स्रोतका अनुसार रामकुमार र कमल श्रेष्ठ नातेदार हुन । आफ्नै नातेदार कमललाई चलखेल हटाएर रामकुमार फेरि पानीपोखरीस्थित खानेपानी विभागमा जान चलखेल गरिरहेका छन् । यही कारण श्रेष्ठद्धयबीच तिक्तताको स्थिति छ । माओवादी निकटका भनेर चिनिएका रामकुमार जेनजीको बलमा बनेको सरकारको समयमा कुस्त लगानी गरेर विभागको नेतृत्वमा पुग्न जोडबल गरिरहेका छन् ।
बिज्ञापन
पानीपोखरीमा रहेको उक्त विभागमा मात्र होइन औषधि व्यवस्था विभागमा समेत यस्तै रोटेसन छ,दुई सहसचिवको । अहिले त्यहाँका महानर्देशक छन् नारायण प्रसाद ढकाल । ढकाललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत मन्त्री हुँदा चौथौं पटक स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएका थिए । त्यस समयमा १६ महिनासम्म जिम्मेवारीविहिन अबस्थामा थिए उनी । ढकाललाई त्यहाँ लैजादा भरत भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा खटाइएको थियो । उपेन्द्र यादव,विरोध खतिवडा,भानुभक्त ढकाल लगायतका काँग्रेस इत्तरका मन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एउटा कोठामा बस्ने कुर्सी समेत नदिइ जिम्मेवारविहिन भएका उनी गगन थापा,उमेश श्रेष्ठ हुँदै मोहनबहादुर बस्नेत लगायतका काँग्रेसी खेमाका मन्त्री हुँदा औषधि व्यवस्था विभागको डिजी बन्न सफल भइरहने कर्मचारी हुन । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा क्याविनेटको निर्णय गराएर ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशकमा नियुक्ति गरेका थिए । पछि गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै भरत भट्टराईलाई हटाएर विवादित छविका नारायण ढकाललाई महानिर्देशक बनाइएको थियो । यस अगाडि ढकाल २०७३ भदौ ३१ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । त्यो पनि बिभिन्न विवादमा मुछिएकाले तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा ढकाललाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए । यसरी एउटा कर्मचारी,सोही विभागको हर्ताकर्ता बन्न चाहनुको पछाडि कुन फ्याक्टरले काम गरेको होला ? उनी ८० जेठदेखि विभागको कुर्सीमा छन् । सो विभागमा पछिल्ला केही बर्षदेखि नारायण र भरत भट्टराईको रोटेसन चलिरहेको छ ।
उनीझैं आकर्षक अड्डामा बस्न नपाए अक्सिजन लगाएका विरामीझैं छटपटीमा पर्ने अर्काे सहसचिव छिन्, मतिना वैद्य जो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बाहेक अन्यन्त्र बस्नै नमान्ने सहसचिव हुन । लामो समय खाद्य प्रविधि मन्त्रालयको नेतृत्व गरेकी वैद्यलाई सरकारले कर्णाली प्रदेशमा खटाएको थियो तर त्यो सरुवालाई उल्टाएर भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशको सचिवका रुपमा केही समय काम गरिन । ०७१ देखी २०७६ सम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपमहानिर्देशक हुँदै ०७६ देखी २०७७ सम्म सोही विभागको महानिर्देशक बनेकी उनी ०७७ देखी २०७८ सम्म कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सचिवको भूमिकामा रहेर ०७८ साल असोजमा फेरि विभागको महानिर्देशक बन्न पुगेकी थिइन । ०७७ भदौं १९ मा तत्कालीन कृषि मन्त्री घनश्याम भुषाल मन्त्री हुँदा उनलाई विभागबाट कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय धपाइएको थियो । तर अटेर गरेर बाग्मती प्रदेश सचिव खान गइन । त्यहाँ १८ महिना बस्दा समेत अनेकन बदमासीमा मुछिएकी उनी प्रधानमन्त्री शेरबहादुर देउवाले नै कृषि मन्त्रालय सम्हाल्दा बागमतीबाट पुन विभागमै फर्किन सफल भएकी कर्मचारी हुन उनी । उनलाई हटाएर ८१ भाद्रमा सरुवा गरेर सञ्जिवकुमार कर्णलाई विभागमा पठाइएको थियो । कर्ण फागुनमै सरुवा गराएर त्यहाँका स्थायी डिजीको रुपमा फेरि वैद्यलाई स्थापित गरिएको छ । ०७७ सालमा उनी सो विभागको महानिर्देशक हुँदा ७२ हजार किलो अखाद्य चिनीलाई खान योग्य भनेर अनुमति दिएसँगै कृषिका सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्व रहेको छानबिन समितिले घटनाको महानिर्देशक वैद्यसहितका कर्मचारीको संलग्नता पुष्टि गर्दै कारबाही सिफारिस गरेको थियो ।
निजामती ऐनको मर्म र भावना विपरित,एउटै कर्मचारी लामो समयसम्म एउटै कार्यालयमा किन बस्छ ? त्यहाँबाट सरुवा हुँदा अन्यन्त्र जान किन मान्दैन ? यदी मुलुकमा सुशासन कायम गर्ने हो भने यस्ता स्थायी डिजीहरुलाई हटाएर अरु योग्य र दक्ष कर्मचारीहरुलाई समान अवसर दिइनुपर्नै आवाज उठ्न थालेको छ ।
‘स्थायी डिजी’ :हाइप्रोफाइल कार्यालय नभेटे छटपटीमा पर्ने हाकिमहरु


























