बिज्ञापन
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा मनोजकुमार शर्मा सहितको संवैधानिक इजलाशमा आजका लागि पेशी तोकिएको छ । प्रधानन्यायाधीश राउतले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
बिज्ञापन
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो ।
जेनजी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री नियुक्ति, प्रतिनिधिसभा विघटन र सरकार गठनसँग जोडिएका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
बिज्ञापन
आन्दोलनपछि प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुनेछ । प्रेमराज सिलवाल, युवराज पौडेल, किर्तिनाथ शर्मा पौडेल, आयुष वडाल, मकबुल मिया, खड्क बहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल, विपिन ढकाल, आयुष भण्डारी, आभाष पोखरेल, ओमप्रकाश जङग शाह, विमल पोखरेल, पुण्डप्रसाद खतिवडा र शेरबहादुर रोक्काले संसद् विघटनविरुद्ध रिट दायर गरेका छन्। रिटमा कार्की नेतृत्वको सरकार गठन बदर र संसद् पुनःस्थापना मुख्य माग गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ विपरित कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकाले कार्कीको नियुक्ती बदर गर्न माग गरिएको छ। यस्का अलवा प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाको उल्लंघन गरिएको बारे पनि निवेदकहरुले रिटमा प्रश्न उठाएका छन् ।
यता, प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहसकर्तालाई पाँच/ पाँच मिनेट समय दिइने भएको छ । संवैधानिक इजलासमा बहसकर्तालाई समय व्यवस्थापन गर्नका लागि समय तय गरिएको हो । यो रिटमा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लगायतले सुरुवाती बहस गर्दैछन् । उनीहरूले रिट निवेदकको पक्षबाट बहस गर्न लागेका हुन् ।
सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ति रिटहरूमाथि आजबाट सुनुवाई हुन लागेको हो ।


























