केही वर्ष यता हरेक छापाहरूमा नियमित रूपमा प्रकाशन हुने समाचार हो- गाऊ घरमा रित्ता घरहरू बढ्दै गए, विद्यालयहरू क्रमशः विद्यार्थी विहीन हुदै गए। समाचारमा आएका यस्ता खवरहरू वास्तविक हुन्। यसले देशमा कस्तो अशर पर्छ? बस्ती विहीन भए पछि त्यो क्षेत्र अपांग हुन पुग्छ। त्यो क्षेत्रले आफ्नो प्रकृति गुमाउछ। त्यो क्षेत्र क्रमशः मरूभूमि जस्तो हुदै जान्छ। बसोबास विनाका बस्ती खण्डहर हुन पुग्छन्।
बिज्ञापन
यसरी मानव विहीन बस्ती बढ्दै जानुको मुख्य कारण अब्यबस्थित वा वाध्यात्मक बसाई सराई हो। जव मानिसले साविक ठाऊमा पूर्ण रोजगारी पाउदैन, सामाजिक सुरक्षाको प्रत्याभूत गर्न पाउदैन, आधारभूत आवश्कताको परिपूर्ति गर्न सक्दैन तव ऊ आफ्नो थाकथलो छोड्न बाध्य हुन्छ। यी र यस्तै आवश्यकताको खोजीमा हिड्दा ऊ गाऊ बाट शहर पस्छ, पहाडबाट तराई झर्छ, मोफसलबाट राजधानी सर्छ र हुदा हुदा देशबाट विदेश जान्छ। यसरी मानवलाई घचेट्ने तत्व ( Push Factors) ले थाकथलो छोड्न वाध्य पार्छन् र तान्ने तत्व ( Pull Factors) ले लोभ्याउछन्। मानवीय भूगोलका ज्ञाताहरूले यस्तो परिस्थिति हुन सक्छ भनेर हरेक देशका विधि र नीति निर्मातालाई बेलैमा सचेत गराएकै हुन्छन् र हाम्रो देशका ती वेत्ताहरूले पनि हाम्रा नीति निर्मातालाई बेला मै सचेत गराएको पाईन्छ। यति हुदा हुदै पनि हामीले यो समस्या भोग्दै आयौ र अहिले त यो समस्या विकराल हुदै आएको छ।
बिज्ञापन
हो, मानवीय गतिविधिमा वसाई सराई सामान्य र स्वभाविक प्रकृया पनि हो तर यो ब्यबस्थित र योजनावद्ध रूपमा हुनु पर्दछ। हामीले योजना बनाएर वसाई सराईलाई ब्यबस्थित गराउन नसकेकै कारणले अहिले यस्तो असन्तुलित बसोबसोबासको अबस्था सिर्जना भएको छ। सार्वजनिक, पर्ति, ऐलानी,नदी किनार, वन क्षेत्र आदिको अतिक्रमण हुदै गएको छ र यी क्षेत्रमा अब्यबस्थित बसोबास बढ्दो छ।
खासमा भन्ने हो भने नेपालका हिमाली एवं पहाडी क्षेत्रका वस्तीहरू क्रमशः पातलिदै गएका छन्। यसको शुरूवात धेरै पहिला देखि नै भएता पनि यसले माओवादी द्वन्द संगै तिव्रता पाएको हो। यो द्वन्दमा घर घर बाट यूवाहरू अपहरण गर्ने, बुज्रूवा शिक्षाको नामबाट विद्यालयमा तोडफोड गर्ने, शिक्षक विद्यार्थी अपहरण गरी कथित युद्धमा समावेश गर्ने, दुर्गम र निर्जन ठाऊमा रहेका विकासका संरचना ध्वंस पार्ने, निजी क्षेत्रलाई आतंकित पार्ने, जवर्जस्ती चन्दा असुली गर्ने, लुटपाट गर्ने जस्ता त्रासदीले गाऊ वस्तीबाट नेपालीहरू वाध्य भएर धपाईए। यो द्वन्दले लामै समय लिएको हुदा यसका कारण विस्थापित हुन पुगेकाहरू साविक स्थानमा फर्कन सकेनन् र गाउ, बस्तीहरू खाली हुन पुगे र स्वभावतः शिक्षण संस्थाहरू पनि खाली हुन पुगे।
नेपाल र बेलायत बीच भएको सन्धी अनुसार नेपालका गुरूंग, मगर, राई, लिम्बु जस्ता आदिवासीहरू बृटिश सेनामा भर्ना हुने गर्छन् र यो ब्यबस्था आज पर्यन्त कायम छ। यसमा लागेर सेवा निवृत्त हुनेहरुलाई बेलायतले नागरिकता दिएर स्थायी रूपले बसोबास गर्ने नियम बनाएकोले सेवा निवृत्त भएर गाऊ बस्तीलाई गुल्जार बनाएको यो समूह बेलायत तिर सर्यो। यसरी बसाई सरेको यो समूहले ढाकेको पहाडी बस्ति रित्तो हुन पुग्यो।
बिज्ञापन
त्यसै गरी माओवादी आतंकले बिस्थापित यूवाहरू कामको खोजीमा देश कै शहरी र सुगम स्थानमा भौतारिदा पनि रोजगारीको बिकल्प नहुदा वैदेशिक रोजगारीका लागि विश्वका सम्पन्न एवं रोजगारीका अवसर भएका मुलुक तिर जान थाले र यो क्रमले माओवादी शान्ति प्रकृया आए पछि पनि निरन्तरता पायो जसका कारण बस्तीहरू रित्तिन पुगे। हाल आएर त के सम्म हुन थाल्यो भने नेपाली यूवाहरू अवैध बाटो वा अवैध तरीका अवलम्वन गरेरै भए पनि विदेश जान थाले। काम गर्ने भीसा नपाए पनि पर्यटक भीसामा विदेश गएर अवैध रूपले काम गर्न जाने परिपाटी नै बन्यो। यसरी हाल नेपालमा काम गर्न सक्ने उमेरको जनशक्ति नै करीव करीव नभएको जस्तो देखिएको छ। गाऊमा मात्र नभएर देश भर नै बृद्ध बृद्धाको उपस्थिति मात्र छ भने पनि हुन्छ। यिनीहरू पनि आफ्नो साविकको बस्ती छोडेर शहर बजार तिर भाडामा बसेको पाईन्छ। देश विकासको लागि यो ठूलो समस्या हो। राज्यले विकासका संरचनाहरू गाऊ गाऊमा पुर्याएको दावी गर्छ तर त्यसको उपभोग गर्ने कोही छैनन्। खेत वारी बाझै छन्। अर्थतन्त्रको मेरूदण्ड मानिएको कृषि एवं पर्यटन क्षेत्रबाट पाईने योगदान करीव शून्य हुदैछ। गाऊ घर मात्र हैन देशै भर रोजगारीका अवसरहरू छैनन्। लगानी कर्ताहरूलाई सहज बनाउने कानूनी प्रावधानलाई सरकारले उपेक्षा गरेको स्थिति छ। रोजगारीको हकमा यहां न सरकारी क्षेत्र सक्षम छ न त निजी क्षेत्र आकर्षित हुने वातावरण नै छ। यस्तो अवस्थामा देशका बस्ती त के देशै रित्तो हुने अवस्था देखिदैछ। अब त यहां राजनीतिमा लागेका बाहेकका अरू बस्ने वातावरण होला जस्तो लागेको छैन।
यसो भनेर निराशा मात्रै प्रकट गरेर समस्या समाधान हुदैन। यसको निम्ति कहांबाट बिग्रेको छ त्यहीबाट शुरूवात गर्ने नीतिहरू अवलम्बन गर्न जरुरी देखिन्छ। बसाई सराई नियमित प्रकृया हो र यो रोकेर रोकिने विषय पनि हैन। यहां के जरूरी देखिन्छ भने हाम्रा वसाई सराईका प्रकृया मध्ये Push Factor लाई क्रमशः घटाउदै गरेर Pull Factor लाई बढवा दिनु जरूरी हुन्छ। यसको निम्ति Pull Factor लाई बलियो , दीगो र सक्षम बनाउन गाऊ घरमा लागानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तर निजी क्षेत्र आउनका लागि आधारभूत संरचनाहरू जस्तै सडक, बिजुली, सन्चार र बजारको राज्य पक्षले ब्यबस्था गरिदिने। त्यस्तै निजी क्षेत्रलाई आवश्यक पर्ने पूजीका लागि सस्तो र दीर्घकालीन ऋण उपलब्ध हुने ब्यबस्था राज्यले मिलाउने। यसमा निजी क्षेत्रको अतिरिक्त सहकारी क्षेत्रलाई पनि उपयोग गर्न सकिन्छ। यस्तो विसंगति वा विकृति रोक्न सर्व प्रथम सरकारले नै अग्रसरता लिनु पर्ने हुन्छ। सरकारका नीति तथा कार्यक्रम यसै तर्फ लक्षित हुनु जरूरी छ।
नेपालका यी नै क्षेत्रबाट बिस्थापित भएका नेपालीहरू विश्वका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् ता पनि तिनीहरू गैर आवासीय नेपालीको नाममा एकतावद्ध भएको अवस्था छ। यसरी नेपालबाट विदेशिएको जनशक्ति एक भएर रहेको वातावरणलाई राज्यले उपयोग गर्न सक्छ। राज्यले गैर आवासीय नेपाली र वाध्यतावस विदेशिनु परेका नेपालीहरूलाई देश बनाउने र देशको विकास गर्ने क्रममा प्रतिस्पर्धी नठानेर नजिकको मित्र ठानेर सोही ब्यबहार गर्नु पर्छ तर हाल नेपाल सरकारबाट भए गरेका ब्यबहार त्यति गैर आवासीय नेपाली मैत्री पाईएको छैन। यसैले यस तर्फ सकारात्मक रूपमा सोची हाम्रा रित्तिएका बस्तीहरूको कृषि क्षेत्र र पर्यटकीय क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपाली संघलाई जिम्मेवार बनाउनु पर्छ। सरकार त यी नै माथि राजनीति पो गरेको देखिदैछ जुन देशको लागि कुनै पनि हालतमा सकारात्मक देखिदैन। किनभने गैर आवासीय नेपालीहरू कुनै एक राजनीतिक दलका झोले कार्यकर्ता हैनन् र हुन पनि चाहदैनन्। यिनीहरू समस्त रूपमा नेपालका कार्यकर्ता हुन् , यिनीहरूलाई एकमुष्ट नेपालको चिन्ता छ र यिनीहरू नेपालमा लगानी गर्न सक्षम पनि छन्। त्यसैले नेपालमा रित्तिएको बस्तीलाई हराभरा गर्न प्रारम्भिक अवस्थामा नेपालबाटै बाध्यताबस् विदेशिनु परेका यी नै गैर आवासीय नेपालीको संगठनलाई उपयोग गर्न सकिन्छ। यसको निम्ति सरकारको तर्फबाट पहल गर्न जरूरी देखिन्छ।