प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिमा छलफल चलिरहेको संघीय निजामती विद्येयक यो अधिवेशनमा पनि नआउने भएको छ ।
बिज्ञापन
यही संसद् अधिवेशनबाटै संघीय निजामती सेवा ल्याउने उद्घोष मन्त्री राजकुमार गुप्ताले गर्दै आएका भए पनि संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाट पनि आउने भएको हो ।
महिना दिन अगाडि गठन भएको उपसमितिमा विवादित बिषयहरुमा उपर गोप्य रुपमा विधेयकसँग सरोकार राख्ने सरकारी पक्षहरू लोकसेवा आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन मन्त्रालयका पदाधिकारीले गोप्य बैठक चलिरहेको छ । राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकका १ देखि १० दफासम्म टुंगो लगाएर उपसमितिमा पठाएको थियो । संघीय निजामती विधेयकमाथि छलफल गर्न राज्यव्यवस्था समितिले सत्तारुढ कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू संयोजकत्वमा काँग्रसकै तर्फबाट ईश्वरीदेवी न्यौपाने, एमालेका रघुजी पन्त र लिलानाथ श्रेष्ठ, माओवादीका हितराज पाण्डे, रास्वपाका डा चन्दा कार्की, राप्रपाका बुद्धिमान तामाङ, जसपाका अशोक राई, जसपा नेपालका प्रकाश अधिकारी, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र लोसपाका सर्वेन्द्रनाथ शुक्ला सदस्य रहेका छन् ।
जहाँ कर्मचारी ट्रेड युनियन,अवकाश पछि कुलिङ पिरियड राख्ने वा नराख्ने भन्ने बिषयमा सांसदहरु राख्नुपर्ने पक्षमा छन् भने प्रशासकहरु राख्नु नहुनपर्ने लविइङमा छन् । यस्तै अतिरिक्त सचिव राख्ने बिषयमा सबैको एक मत छ तर कहाँ कहाँ र कति संख्यामा राख्ने भन्ने बिषयमा निक्र्यौलमा पुगिसकेको छैन । भेटनरी डाक्टर आठौं तहमा लिने वा नलिने भन्ने बिषय र कर्मचारीको अवकाशको उमेर हद ६० बर्ष पुर्याउने तर एकै पटक ६० राख्ने कि ऐन पारित भएको बर्ष ५८,अर्काे बर्ष ५९ र तेश्रो बर्षमा ६० पुर्याउने भन्ने बिषयमा पनि उपसमिति निष्कर्षमा पुगिनसकेको उपसमतिका एक सदस्यले कर्मचारी प्रेसलाई जनाएका छन् ।
बिज्ञापन
अहिले प्रतिनिधि सभामा नारा जुलुसका कारण सदन स्थगित हुन पुगेको छ । सदन स्थगित भइरहे उपसमितिका सदस्यहरु आज पनि बैठकमा बस्नेछन् । उसो त अबको केही दिन पछि नै संघीय संसदको हिँउदे अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । यसअघि चालु अधिवेशनबाट पारित गर्ने भनिएका निजामतीलगायत विधेयक कम्तीमा अर्को हिउँदे अधिवेशनसम्म धकेलिने स्थिति बनेको छ ।
अबको महिना दिनभित्रैमा बजेट अधिवेशन डाक्नु पर्ने अवस्था र अर्काेतिर सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपियु) को सम्मेलनमा भाग लिन विदेश जाने कार्यक्रम रहेका कारण सो अगाडि नै संसदको चालु अधिवेशन अन्त्य हुन सक्ने संसद सचिवालय स्रोतले जनाएको छ । सभामुखसहित संसदका केही पदाधिकारी आइपियुको १५० औं सम्मेलनमा भाग लिन चैत २२ गते उज्बेकिस्तान जाने कार्यक्रम छ । सम्मेलन राजधानी तासकन्तमा चैत २३ देखि २७ गतेसम्म हुँदै छ ।
सभामुख लामो समय मुलुक बाहिर रहनुपर्ने भएकाले संघीय संसदको माघ १८ गतेदेखि चालु हिउँदे अधिवेशन अन्त्य गर्नेतर्फ सरकारले आवश्यक तयारी थालेको बताइन्छ ।
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने व्यवस्था छ।

























