अख्तियार दुरुपयोग अनुसन्धान आयोग छल्नका लागि कर्मचारीदेखि जनप्रतिनिधिहरुले घुस खाने नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । यस अघि नगदै,हातहाती घुस खाँदा अख्तियारको फन्दामा पर्ने भए पछि घुसका लागि बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरिएकोमा अब जग्गा जमिन नै घुस वापत खाने शैली अपनाउन थालेको देखिएको छ । घुस रकम छोराको बिहेभोज दिँदा होटलमा तिरिदिने शैलीदेखि विलासिताका सामान घुसवापत खाने थालिएको अधिकारीहरुले जनाएको छ ।
बिज्ञापन
अघिल्लो आर्थिक बर्षमा मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५४५ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएकोमा ३३ अर्थात ५२० जना राष्ट्रसेवक कर्मचारीरहेका थिए । जसमा विशिष्ट श्रेणी अर्थात सचिव सरहका ६ जना, सहसचिव वा सो सरहका ३० जना, उपसचिव वा सो सरहका ८२,बढी शाखा अधिकृत वा सो सरहका २०२ र सहायकस्तरका २०० जना रहेका छन् । त्यसपछि क्रमश मनोनित पदाधिकारी १४८ जना, निर्वाचित जनप्रतिनिधि १०६ जना, राजनितिक नियुक्ति खाएका ३२ जना, लेखापढी व्यवसायी, विचौलिया, संघ संस्था र अन्य व्यक्ति ७३९ जना रहेका छन् । ति सबै प्रतिवादीबाट ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो मागदाबी गरिएको थियो अख्तियारले ।
यसरी मुद्धा दायर भएकै मध्य एक हुन लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले उनले ठेक्का लगाउँदा निर्माण कम्पनीसँग घुस वापत जग्गा लिएको भेटियो । उनले ठेकेदार बाबुल निर्माण सेवाका प्रोपाइटर सफिक अहमदमा आयोजना ठेक्का मिलाए वापत कमिसनस्वरुप सिधै घुस नलिएर भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ स्थित कित्ता नं। १३७४ र १३७५ को क्रमशः दुई रोपनी नौ आना र दुई आना क्षेत्रफलको जग्गा बेच्नेलाई ठेकेदारमार्फत भुक्तानी गरेर जग्गा खरिद गरेको भेटियो । यो प्रकरणमा विशेष अदालतले उनलाई दोषी समेत ठहर गरिसकेको छ ।
यस्तै, हालैमात्र अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा लागेका काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले समेत लाजिम्पाटको शंकर होटलमा छोराको बिहेभोज दिँदा उनै घरजग्गा कारोबारी राजु कँडेललाई २४ लाख ७२ हजार ६३७ रूपैयाँ घुसवापत भुक्तान गरेको अर्को तथ्य उजागर भएको छ । यस्ले कर्मचारी,नेताहरुको घुस लिने शैली बदलिएको पृष्टि गर्दैछ ।
संघीय मामिला तथा सामान्य प्रशासनका एक नासुले पूर्वसचिवलाई उपहार स्वरुप लोकेन्द्र बहादुर चन्दको घर नजिकै करोडौं मूल्य पर्ने जग्गा सौगातमा चढाएकै शैलीमा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत अर्को सचिवले अर्को अधिकृतबाट सौगातमा जग्गा भेटेको चर्चा गरिँदैछ,अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर ।