बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

 नेपाल आयल निगम पछिल्लो समय सुशासनभन्दा बढी विवादका कारण चर्चामा छ। एकातिर कर्मचारीहरूले ओभरटाइम (ओटी) भत्ताको नाममा राज्यकोषमा अनावश्यक आर्थिक भार थपेको आरोप खेपिरहेका छन् भने अर्कोतर्फ निगमकै डिपोबाट पटक–पटक इन्धन चोरी हुने घटनाले निगमको आन्तरिक सुरक्षा प्रणाली, कर्मचारीको भूमिका र व्यवस्थापकीय क्षमतामाथि गम्भीर प्रश्न उठाइरहेको छ। यस्तै अवस्थामा पछिल्लोपटक तेल चोरीका घटनाले बारम्बार बदनाम बन्दै आएको कोशी प्रादेशिक कार्यालय, विराटनगरमा योजना, प्रशासन तथा मानव संसाधन विभागकी निर्देशक (दशौँ तह) बिनी श्रेष्ठको सरुवा हुने चर्चा निगमभित्र तीव्र बनेको छ।

बिज्ञापन

निगम स्रोतका अनुसार बिनी श्रेष्ठ हाल कोशी प्रादेशिक कार्यालय, विराटनगरको प्रमुख बन्ने प्रयासमा छिन्। त्यहाँ हाल पुष्कर कार्की कार्यालय प्रमुखका रूपमा कार्यरत छन्। तर, लगातार तेल चोरीका घटनाले चर्चामा रहेको कार्यालयको नेतृत्व परिवर्तनको चर्चा भइरहेका बेला श्रेष्ठको नाम अगाडि आउनुले निगमभित्र नयाँ बहस सुरु भएको कर्मचारीहरू बताउँछन्।

बिज्ञापन

केही दिनअघि मात्र विराटनगर डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर नै रहस्यमय ढंगले गायब भएको घटना सार्वजनिक भयो। प्रारम्भिक अनुसन्धानअनुसार निगमका केही कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा पार्किङस्थलबाट ट्यांकर बाहिर निकालिएको र त्यसमा रहेको करिब १८ हजार ८ सय लिटर पेट्रोल अन्यत्र बिक्री गरिएको आशंका गरिएको छ। प्रहरीले ट्यांकरलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डबाट बरामद गर्दा त्यसमा करिब १२ सय लिटर मात्र पेट्रोल बाँकी रहेको पाइएको थियो।

भारतको सिलगुडीबाट २० हजार लिटर पेट्रोल बोकेर आएको ट्यांकर आइतबार राति निगमको पार्किङस्थलमा प्रवेश गरेको थियो। भण्डारण ट्यांकीमा पेट्रोल खन्याउने पालो कुरेर राखिएको उक्त ट्यांकर रातारात गायब भएको थियो। मोरङ–सुनसरी क्षेत्रमा प्रतिलिटर २१४ रुपैयाँ ५० पैसाको दरअनुसार बिक्री गरिएको अनुमानित १८ हजार ८ सय लिटर पेट्रोलको मूल्य करिब ४० लाख ३२ हजार ६ सय रुपैयाँ बराबर हुन्छ। यो घटनाले निगमको सुरक्षा संयन्त्र, निगरानी प्रणाली र आन्तरिक नियन्त्रण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

बिज्ञापन

यो विराटनगर डिपोमा भएको पहिलो घटना भने होइन। विगतमा पनि कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा इन्धन चोरी भएका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। त्यसैले निगमभित्र विराटनगर डिपोलाई ‘तेल चोरीको हटस्पट’ भनेर समेत चर्चा हुने गरेको कर्मचारीहरू बताउँछन्।

यहीबीच कोशी प्रादेशिक कार्यालयको नेतृत्व सम्हाल्न खोजिरहेकी भनिएकी निर्देशक बिनी श्रेष्ठ स्वयं पनि विभिन्न विवादका कारण चर्चामा छिन्। निगमभित्र कार्यरत कर्मचारीहरूका अनुसार उनको कार्यशैलीप्रति व्यापक असन्तुष्टि छ। कर्मचारी स्रोतहरूले अरूलाई नियम र अनुशासनको पाठ पढाउने श्रेष्ठ स्वयंले भने सरकारले तोकेको ड्रेस कोडसमेत पालना नगर्ने गरेको आरोप लगाएका छन्। उनी जहाँ जिम्मेवारीमा पुगे पनि कुनै न कुनै विवाद सिर्जना हुने गरेको कर्मचारीहरूको दाबी छ।

श्रेष्ठमाथि सिनामंगलस्थित निगमको प्रयोगशालाका लागि सामान खरिद प्रक्रियामा अनियमितता गरेको आरोप पनि लागेको स्रोतको दाबी छ। यद्यपि यस विषयमा कुनै आधिकारिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छैन। यसअघि पोखरामा कार्यरत रहँदा पनि उनी जग्गासम्बन्धी विवादमा मुछिएको र त्यसबारे निगमको केन्द्रीय कार्यालयले स्पष्टीकरण मागेको स्रोतले जनाएको छ।त्यस्तै, दशौँ तहमा बढुवा हुँदा उनको शैक्षिक योग्यता नमिलेको भन्दै उद्योग मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको दाबी गरिएको छ। ती उजुरीबारे सम्बन्धित निकायबाट अन्तिम निर्णय सार्वजनिक भएको जानकारी भने छैन।

लामो समय टेकुस्थित आन्तरिक तथा गुणस्तर शाखामा कार्यरत रहेकी श्रेष्ठ हाल प्रशासन शाखाको नेतृत्वमा छिन्। प्रशासन शाखामा रहँदा संस्थाका गोप्य सूचनाहरू बाहिर चुहाउने गरेको आरोपसमेत उनीमाथि लागेको कर्मचारी स्रोतहरूको भनाइ छ। आफूलाई मन नपरेका कर्मचारी वा व्यक्तिसँग सम्बन्धित आन्तरिक विवरण बाहिर पुर्‍याउने गरेको आरोप पनि उनीमाथि लगाइएको छ। यी आरोपहरूले निगमभित्र प्रशासनिक निष्पक्षता, गोपनीयता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ।यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा निर्देशक बिनी श्रेष्ठले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरिन्। उनले आफूले कुनै पनि अनियमितता नगरेको र आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नरहेको बताइन्।

नेपाल आयल निगमभित्र एकातिर करोडौँ रुपैयाँ बराबरको इन्धन चोरीका घटना दोहोरिइरहेका छन् भने अर्कोतर्फ उच्च तहका अधिकारीहरूमाथि पनि विभिन्न प्रकारका आरोपहरू सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा निगमको नेतृत्व र सम्बन्धित सरकारी निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग कर्मचारी तथा सरोकारवालाहरूले उठाएका छन्। आरोपहरूको अन्तिम सत्यता भने सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक निष्कर्षबाट मात्र स्थापित हुनेछ।

आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष