भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब विशेष परिस्थिति बाहेक कुनै पनि सडक अवरुद्ध भएमा ६ घण्टाभित्र सञ्चालनमा ल्याउने व्यवस्था मिलाएको छ। शनिबार मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो जानकारी दिनुभयो।
बिज्ञापन
चाडपर्वमा जनतालाई सहज यात्राको वातावरण बनाउने उद्देश्यले सडक विभाग सक्रिय रहेको उल्लेख गर्दै उहाँले हालको मौसमी कारणले कतिपय राजमार्ग अवरुद्ध भएको बताए। शर्मा अनुसार पृथ्वी राजमार्गको मुग्लिङ खण्डस्थित तुइन खोलामा रातिदेखि सडक अवरुद्ध छ। बिहान त्यहाँ सुख्खा पहिरो खसेपछि समस्या झन् गम्भीर बनेको छ।
बिज्ञापन
“पहिरो सक्रिय अवस्थामा हुँदा तत्कालै काम गर्न जोखिम हुन्छ, तर सडक विभागको टोली पुगिसकेको छ। सफाइ सुरु भएको चार घण्टाभित्र सडक खुल्नेछ,” सचिव शर्माले बैठकमा जानकारी दिनुभयो। उहाँका अनुसार सडक विभागले घटनास्थलमा आधा घण्टादेखि एक घण्टाभित्र मेसिन पुर्याउने व्यवस्था पनि मिलाएको छ।
बैठकमा मन्त्री घिसिङले चाडपर्व नजिकिएकाले यात्रु सहजताका लागि फास्ट ट्रयाक कार्ययोजना बनाउन निर्देशन दिनुभयो। उहाँले आन्तरिक छलफलपछि समस्या समाधानका ठोस कदम चालिने बताउनुभयो।
बिज्ञापन
यातायात व्यवसायीहरूले भने राति सञ्चालन हुने बसलाई अस्थायी रूपमा दिउँसो चलाउन अनुमति दिन माग गरे। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर र वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अविरल वर्षा र पहिरोका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन्।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।