डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । उनी एउटा कुशल समय व्यवस्थापक पनि हुन् । कुशल समय व्यवस्थापक भएकै कारणले प्रशासक, लेखक, गीतकार धेरै विधामा उनी सफल देखिन्छन् । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए ।अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरु उनका लेखका मुख्य क्षेत्रहरु हुन् । संघीयता र वित्तीय संघीयताका विविध आयाममा उनका सयौं लेखहरु प्रकाशित भएका छन् । एक हजार भन्दा बढी लेखहरु र दर्जनौ पुस्तकहरुमा एउटा स्थापित लेखकको रुपमा यसको प्रतिविम्व देख्न पाइन्छ। अहिले उनी गीतकारको पहिचानमा समेत स्थापित भएका छन् । एउटा स्थापित लेखक र गीतकारको प्रतिभा उनीसंग रहेको छ । उनका लेख नपढ्ने पाठक कमै छन् अझ विश्व विद्यालय र विविध प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनेहरु उनका लेखहरु नछुटाइ पढ्ने गर्दछन् । कुनै पाठकले सीधै प्रकाशित श्रोतमा उनका लेखहरु पढ्ने अवसर नजुटे उनकै फेसबुक पेज डि रेग्मी मिनी इ लाइव्रेरी र उनका नाममा रहेका सामाजिक सञ्जालहरुमा नियमित पढ्न पाइन्छ। उनका यस्ता केही लेखन सामग्रीहरु उनको युट्यूव च्यानलमा हेर्न र सुन्न पनि सकिन्छ । उनका दिनहुं जसो आउने लेखहरुले तुरुन्त सामाजिक सञ्जालमा स्थान पाइहाल्छ । उनका सवै सामाजिक सञ्जालहरु पुस्तकालय सरह छन् जहां धेरै जसो विषयका लेखहरु हेर्न र पढ्न सकिन्छ चाहेका विषयहरु खोज्न पनि सकिन्छ । फेसबुक पेज डि रेग्मी मिनी इ लाइव्रेरी र अन्य सञ्जालहरुमा जोडिएर आफ्ना लेखमा पहुंच कायम गर्न सकिने उनी बताउंछन् ।
बिज्ञापन
बिज्ञापन
यी सवै काम गर्न समय व्यवस्थापन अतिनै आवश्यक हुन्छ । डा. रेग्मी एउटा कुशल समय व्यवस्थापक हुन् । कुशल समय व्यवस्थापक भएको कारणले नै यस्ता कामहरु गरिरहन संभव भएको छ । डा. रेग्मीका अनुसार संसारमा सबैभन्दा महत्वपूर्ण चीज भनेकै समय हो। समयलाई रोक्न र छेक्न सकिँदैन न यसलाई किन्न नै सकिन्छ। समय एक पटक गुमेपछि फेरि कहिले फर्केर आउँदैन। त्यसैले पनि समयको ठूलो महत्व रहेको हुन्छ। सबैका लागि एक दिनमा २४ घण्टा नै प्राप्त हुन्छ। सबैका लागि समय समान रुपमा उपलब्ध रहेको हुन्छ तर केही व्यक्ति समयको सही उपयोग गरी सफलताको चुचुरो चुम्ने गर्दछन् भने केही ठीक समयमा ठीक निर्णय एवं कार्य गर्न नसक्दा सफलता हासिल गर्न सक्दैनन्। त्यसैले समय व्यवस्थापनको विषय आज व्यवस्थापनको सन्दर्भमा अपरिहार्य बनेको छ।
समय न छिटो चल्छ न ढिलो। यसको आफ्नै गति हुन्छ। समय आफैमा अदृष्य छ यो आफ्नै रफ्तारमा निरन्तर चलिरहन्छ तर यसलाई आफ्नो वशमा राख्न सक्ने अर्थात समयको गतिसंग आफूलाई समायोजन गर्ने सामर्थ्यको लागि इच्छाशक्ति र स्व अनुशासनको आवश्यकता रहन्छ । समय व्यवस्थापनले कार्यदक्षता र कार्य कुशलता वृद्धि गरी गुणात्मकता कायम गर्न, स्रोत र साधनको समूचित प्रयोग गरी लक्षित उद्देश्य हासिल गर्न, अधिक कामका कारण हुने तनाव कम गर्न, विकल्पहरुको खोजी गरी सही समयमा सही विकल्पको उपयोग गर्न र सीमित समयवीच कामहरु सम्पन्न गरि फुर्सद वा आरामको समय निकाल्न समेत सहयोग गर्दछ ।
बिज्ञापन
स्टेफेन कोभे ले समय व्यवस्थापन म्याट्रिक्सकोअवधारणा निर्माण गरेका छन्, यस अनुसार समयको व्यवस्थापन गर्ने सन्दर्भमा कामहरुको प्राथमिकीकरण गरिन्छ।जसमा पहिलो महत्वपूर्ण र जरुरी, दोस्रो महत्वपूर्ण तर कम जरुरी, तेस्रो महत्वपूर्ण नभएको तर जरुरी र चौथौ महत्वपूर्ण नभएको र कम जरुरी भएको गरि प्राथमिकता निर्धारण गरि काम गरिन्छ।
सांझको सुत्ने समय र विहान उठ्ने समयमा नियमितताको आवश्यकता पर्दछ । सामान्यतया सात देखि आठ घण्टा सुत्ने गर्नु पर्दछ । विहान चाँडो उठ्ने वानीले सिर्जनात्मक शक्ति बढ्ने र धेरै कामहरु विहानमै सम्पन्न गर्न सकिन्छ । राती धेरै समय वस्ने तर विहान ढिलो उठ्ने मानिसका धेरै कामहरु समयमा भैरहेका हुदैनन्।अमृतवेलाको उठाइले हामीमा धेरैमात्रामा सिर्जनात्मक बनाउंदछ ।
समय व्यवस्थापनका लागि कामहरुको प्राथमिकीकरण र प्राथमिकताका आधारमा कामहरू गर्दै जानुपर्दछ। तर काम र समयको सूचि त बनाउने तर, त्यसलाई व्यवहारमा नउतार्ने प्रवृत्ती धेरै देखिन्छ । यसको लागि स्व अनुशासन पहिलो आवश्यकता हो । समय व्यवस्थापनमा ठीक समयमा समय अनुसार कार्यसम्पादनको प्रतिबध्दता हुनु आवश्यक हुन्छ।
कार्यालयमा गर्नु पर्ने महत्वपूर्ण कामहरु कहिले कुन समयमा गर्ने भन्ने स्पष्ट कार्ययोजना बनाउनु आवश्यक हुन्छ तदनुरुप वैठक व्यवस्थापन जनसम्पर्क व्यवस्थापन आदिमा सामञ्जस्य मिलाउनु आवश्यक हुन्छ ।
अहिले इमेल र सामाजिक सञ्जालका अन्य माध्यमवाट सूचनाको प्रवाहवाट समय व्यवस्थापन गर्न सकिन्छ । मनोरञ्जनका लागि प्रयोग गर्ने सामाजिक सञ्जालको लागि भने फुर्सदको समय मिलाउनु पर्दछ ।परिवार, समाज, कार्यालय, साथी, संगाती संगको सम्पर्क र समय व्यवस्थापन कौशलता पनि हुनु आवश्यक हुन्छ ।
अहिले समयमा बैठक वा कार्यक्रम शुरु नहुने परम्परा नै वसेको छ यसको लागि समयको परिपालना गर्ने व्यक्तिहरु अरुको कुरामा बस्नु पर्ने बाध्यता छ । यसमा सुधार हुनु आवश्यक छ ।
सधैँ कसिलो कार्य सूचिका साथ काम गर्दा मानसिक तनाव पनि उत्पन्न हुन सक्दछ। यस कुरामा सचेत हुनुपर्दछ। त्यसैले बेलाबेलामा खेलकूद, मनोरञ्जन वा इच्छा अनुकुलका कार्यक्रमहरूमा सरिक हुनु पनि आवश्यक छ।
पढ्ने कार्यमा समय व्यवस्थापन धेरैको लागि समस्या बन्ने गरेको छ । यसको लागि दैनिक कति समय पढ्ने हो त्यसको कार्ययोजना बनाउने, कार्ययोजना बनाउदा आफ्ना नियमित न्यूनतम आवश्यक उत्तरदायित्व प्रति निर्मम नबन्ने ।समय व्यवस्थापनवाट सवै काम संभव हुन्छ। धेरै समय पढेर कम कुरा स्मृतिमा राख्नुको साटो पढेजति सम्झन सकिने किसिमबाट पढ्ने गर्नु पर्दछ । पढ्दा आफूलाई सजिलो हुने गरी नोट तयार गर्ने । नोटको तयारीले लेखनकलालाई पनि सहयोग गरिरहेको हुन्छ । एक विषय पढिसकेपछि अर्को विषय पढ्दा ती दुई विषयको अन्तरसम्बन्ध पहिचान गर्ने । विषयहरुको एक अर्कासंगको अन्तरसम्बन्ध कायम गर्ने । जति अन्तरसम्बन्ध कायम गर्न सक्छौं त्यति विषयहरु सम्झन सकिन्छ र लेखाइ राम्रो तथा प्रभावकारी हुन्छ । पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने क्षमताको विकास गर्ने । यसले समय व्यवस्थापन गर्न र लेखाइ राम्रो तथा प्रभावकारी बनाउन सहयोग गर्दछ । सम्झन कठीन कुराहरुलाई सूत्र, अक्षर वा अंकको आधारमा सम्झने अथवा आपूलाई सजिलो हुने उपाय अवलम्बन गर्ने गर्नु पर्दछ।
अधिकांश परीक्षार्थीहरुमा समय व्यवस्थापनको समस्या देखिने गर्दछ । यो कौशलताको बुद्धिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, बढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना बनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ । प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरको लम्बाइ व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुति आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा आफूलाई समस्या आउन नदिन परीक्षापूर्व स्वलेखन अभ्यास गर्नु राम्रो हुन्छ । कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ । अंकभार अनुरुपको समय व्यवस्थापन कौशलता सफलताको आधार हो ।
एक सफल व्यक्ति बन्न समय व्यवस्थापनले सहयोग गर्दछ। समयको महत्व नबुझ्ने र समय व्यवस्थापन गर्न नसक्ने व्यक्ति कार्यालयको मात्र होइन स्व व्यवस्थापक बन्न सक्दैन । स्व अनुशासन र प्रतिबध्दता सहितको व्यवहारिक कार्ययोजनाले कुशल समय व्यवस्थापक बन्नमा सहयोग गर्दछ ।(प्रशासनविद तथा गीतकार डा.दामोदर रेग्मी संगको कुराकानीमा आधारित )