विषय प्रवेश
बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।यस वर्ष सन् २०२४ मा ‘‘हाम्रो भूमि, हाम्रो भविष्य भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको छ । आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा विश्व वातावरण दिवस मनाउन आवश्यक रहेको छ ।
बिज्ञापन
वातावरण दिवसको पृष्ठभूमि
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र संघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता रहेको थियो ।यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अंगीकार गरिएको हो ।त्यो बेला देखि नै संयुक्त राष्ट्र संघले ५ जूनलाई हरेक बर्ष विश्व वातावरण दिवसको रुपमा मनाउदै आएको छ ।
नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले संचालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ । ऐनले नेपाल सरकारले प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग परामर्श गरी वातावरण संरक्षणका दृष्टिले अति महत्वपूर्ण मानिने प्राकृतिक सम्पदा वा सौन्दर्यपरक स्थल, दुर्लभ वन्यजन्तु, वनस्पति वा जैविक विविधतायुक्त स्थल वा ऐतिहासिक वा सांस्कृतिक महत्वको स्थललाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वातावरण संरक्षण क्षेत्र कायम गर्न सक्ने,कुनै सडक, भवन, नदी व्यवस्थापन, शहरी योजना वा अन्य कुनै भौतिक पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायसँगको समन्वयमा नेपाल सरकारले कुनै क्षेत्र वा क्षेत्रफल निर्धारण गरी कुनै क्षेत्र विशेषलाई वातावरण संरक्षण गर्ने उद्देश्यले खुला वा हरियाली क्षेत्र तोक्न सक्ने,वातावरण संरक्षण क्षेत्र तथा खुला वा हरियाली क्षेत्र भित्र तोकिए बमोजिमको कुनै काम गर्न नपाउने गरी रोक लगाउन सक्ने,कुनै क्षेत्र वा स्थान विशेषमा अत्याधिक वातावरणीय प्रदूषण, भूःस्खलन, प्राकृतिक सम्पदाको अत्याधिक दोहन वा प्राकृतिक विपत्ति हुन गई जनस्वास्थ्य वा वातावरणमा नकारात्मक असर परेको वा पर्ने सम्भावना देखिएको अवस्थामा नेपाल सरकारले सम्बन्धित स्थानीय तहको परामर्शमा त्यस्तो क्षेत्र वा स्थानलाई वातावरणीय दृष्टिले संवेदनशील क्षेत्र तोकी वातावरणीय सन्तुलन, व्यवस्थापन वा वातावरणीय पुनर्स्थापनाको लागि कुनै उपयुक्त आदेश गर्न सक्ने व्यवस्था गरेको छ । वातावरण नीति, २०७६ ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको वकालत गरेको छ । नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा ध्यानाकर्षण गर्दै आएको छ ।
हाम्रो अवस्था
वातारण संरक्षणप्रतिको हाम्रो चेतना कमजोर रहेको अवस्था छ । हामी जथाभावी रुपमा वनमा आगो लगाउदै हिड्छौ । बन मास्नु हाम्रे संस्कार जस्तो भएको छ ।हाम्रा पुर्खाले सयौं वर्षको मिहिनेतले हुर्काएका बाटो छेउका बर–पीपलका रूखहरू विकासका नाममा बिनास भएका छन् । वातावरण संरक्षण तथा सुधारको लागि नेपालले अवलम्बन गरेको राष्ट्रियस्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वनको क्षेत्रफल बढाए, वृक्षरोपण प्रशस्त गराए, वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेले पनि वातावरण संरक्षण प्रतिको हाम्रो चेतना कमजोर रहेको छ ।
प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौतीको रुपमा रहेको छ ।अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको अवस्था विधमान छ । प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन ।
बिज्ञापन
आगामी कार्य दिशा
जलवायु परिवर्तन र वातावरणमा देखिएका यावत् समस्याका विषयमा समाधान गर्न वन तथा वातावरण, कृषि तथा पशुपक्षी मन्त्रालय एवं अन्य विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूबाट संचालित वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमहरुलाई उकिकृत रुपमा लैजानु आवश्यक रहेको छ ।जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल प्रभावबाट अनुकूलित हुनका लागि चाहिने तत्कालीन र अत्यावश्यक राष्ट्रिय कार्यक्रम (नापा),स्थानीय अनुकूलन कार्ययोजना (लापा) कार्यन्वयनमा प्रभावकारीता ल्याउन आवश्यक छ । वातावरण संरक्षणका कार्यक्रमहरुलार्ई स्थानीय स्तरसम्म पुरयाई केही हदसम्म भए पनि इकोसिस्टम बेस एडप्टेसनका विषयमा जानकार बनाउनु, व्यावहारिक ज्ञान सिकाउनु आवश्यक छ । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।राखेका विषयहरू र गरेका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न गर्न आवश्यक छ । प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न हाम्रो मुलुकमा पूर्वाधार विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नु आवश्यक छ । । विश्वमा भइरहेको वातावरण विनाशको लागि हाम्रो योगदान नगण्य भए पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषय र गरेका प्रतिबद्धताहरूलाई देशानुकूल कार्यान्वयन गर्नु आवश्यक छ । दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रूपमा सम्बोधन गर्नुपर्ने देखिन्छ ।
दिवसको सन्देश
हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको देखिन्छ ।संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ। समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ । जंगल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर परिरहेको छ । यस्ता मानवीय क्रियाकलाप र व्यवहारलाई परिवर्तन गरी वातावरणको संरक्षणका लागि हामी सबै मानव जातीले गम्भीर भएर सोच्न आवश्यक छ । दिवसले यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ। प्रकृतिमुखी जीवनशैलीको लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न आवश्यक रहेको छ ।जनजीविका र स्वस्थ्य प्राकृतिक वातावरणका लागि स्वस्थ जमिनको आवश्यकता पर्ने, बढ्दै गरेको मरुभूमीकरणलाई रोक्न थप प्रयास गर्नुपर्ने तथा खानेपानीको अभावलाई सम्बोधन गर्नुपर्ने ,पृथ्वीका लागि मलिलो माटो, स्वस्थ पानी तथा रुखबिरुवाको उत्तिकै महत्त्व रहेको विषयलाई यस वर्ष महत्त्व दिइएको छ।यो दिवसको मुख्य सन्देश वातावरण जोगाउने कार्य गर्नु र सचेतना बढाउनु रहेको छ।
निष्कर्ष
संयुक्त राष्ट्रसंघको आह्वानमा आधा शताब्दी अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ। अघिल्लो वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने राष्ट्रिय नाराका साथ मनाइएको विश्व वातावरण दिवस यो वर्ष ‘हाम्रो भूमि हाम्रो भविष्य भन्ने नाराका साथ मनाइरहेका छौं। माटोलाई माया गरौं र माटोको स्वास्थ्यलाई विशेष ध्यान दिने कुरामा यस बर्षको नारले जोड दिएको छ ।यो अवसरमा हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
































