अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरविरुद्ध अकुत आर्जनको मुद्धा दायर गरेको छ । आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध २ करोड २६ लाख अकुत आर्जनको मुद्धा दायर गरेको हो ।
बिज्ञापन
६५ सालमा निजामती सेवामा पाइला राखेका चौधरीले १७ बर्षको अवधिमा २ करोड २६ लाख रकमको स्रोत देखाउन नसकेको भन्दै अख्तियारले विशेषमा मुद्धा लगेको हो । चौधरीले १७ बर्षको जागिरे अवधिमा चार करोड अन्ठान्नब्बे लाख अठ्सठ्ठी हजार आठ सय उनानब्बे रूपैयाँ बयालीस पैसा आम्दानी गरेको देखिएको जनाइएको छ ।
बिज्ञापन
उनले सार्वजनिक सेवाबाट प्राप्त गरेको पारिश्रमिक तथा तलब बचत वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय, चौधरीको श्रीमतीको पारिश्रमिक बचत वापतको रकम, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा बापतको रकम, घर बहालबाट कर कट्टपश्चात प्राप्त आय, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भएको मौज्दातमा कर कट्टी पश्चात प्राप्त ब्याज आय, जग्गा बैनाबापत प्राप्त रकम, कर्मचारी संचय कोषबाट ऋण लिएको रकम, व्यक्तिगत सापटी लिएको रकम, कृषि आय, बुबाको पेन्सन आयसमेत गरी निज तथा निजका एकाघर परिवारका सदस्यहरूले जाँच अबधिमा बैधानिक रूपमा कूल दुई करोड बहत्तर लाख पचपन्न हजार सात सय छैसठ्ठी रूपैयाँ छ पैसा आय आर्जन गरेको पृष्टि भए पनि यो अवधिमा चार करोड अन्ठान्नब्बे लाख अठ्सठ्ठी हजार आठ सय उनानब्बे रूपैयाँ बयालीस पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट पृष्टि भएका कारण दुई करोड छब्बीस लाख तेह्र हजार एक सय तेईस रूपैयाँ छत्तीस पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको र उनैले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएकोले बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

























