बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/ ८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको प्रदेश सरकारले बजेटको आकार केही घटाएर बजेट ल्याउन लागेको हो ।
बिज्ञापन
प्रदेश सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ६ अर्ब ५१ करोड बजेट छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेश अन्तर्गतका सबै पालिकाहरूलाई जाने गरी कुल ६ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ अन्तरसरकारी वित्त हस्तान्तरण बजेट विनियोजन गरेको हो ।
यस्तै बागमती प्रदेश सरकारले प्रदेशका अति विपन्न परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश अति विपन्न १ हजार परिवारको घर निर्माण गर्न २० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन ।
प्रदेश सरकारले पत्रकारका लागि १ करोड बजेट छुट्याएको छ । स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशभित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्ने कार्यक्रमका लागि उक्त बजेट छुट्याएको बताए ।






























