२८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा

मुस्ताङस्थित चीन–नेपाल सीमाको कोरोला नाकाबाट भित्रिएको करिब २८ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद प्रकरणले सीमावर्ती क्षेत्रमा सक्रिय तस्करी सञ्जाल, सुरक्षा संयन्त्रको भूमिकासहित उच्च तहको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ। मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जेठ १ गते राति दुई वटा कन्टेनर नियन्त्रणमा लिएपछि घटनाले राष्ट्रियस्तरमै तरंग पैदा गरेको हो। प्रारम्भिक अनुसन्धानले यो सामान्य तस्करी नभई संगठित नेटवर्कको काम हुनसक्ने संकेत दिएको छ।

बिज्ञापन

कोरोला भन्सार प्रमुख बिदुर चुडालका अनुसार पछिल्लो समय कोरोला नाकाबाट विशेषगरी रेडिमेड सामान आउने गरे पनि क्वारेन्टाइन हुने वस्तु खासै आउने गर्दैनन्। उच्च हिमाली भूगोल, अक्सिजनको कमी र कमजोर पूर्वाधारका कारण त्यहाँ काम गर्न अत्यन्त कठिन हुने उनले बताएका छन्। “हाइ अल्टिच्युडका कारण यहाँ काम गर्न निकै कष्टकर छ। भौतिक पूर्वाधार पनि राम्रो छैन,” उनले भनेका छन्, “तर गाडीहरू हाम्रो सूचना प्रणालीभन्दा बाहिर गइरहेको संकेत पाएपछि हामी सतर्क भएर बसेका थियौँ।”

बिज्ञापन

उनका अनुसार चीनतर्फबाट गाडी निस्किएको सूचना आएपछि भन्सार टोली रातिदेखि निगरानीमा बसेको थियो। सामान्यतया राति १२ वा १ बजे नाका पार गरेको गाडी एक घण्टाभित्र यार्डमा आइपुग्ने भए पनि ती गाडीको गतिविधि शंकास्पद देखिएपछि टोलीले भन्सार यार्डभन्दा तल बसेर निगरानी गरेको थियो। त्यसपछि दुई वटा गाडी नेपालतर्फ प्रवेश गरेपछि टोलीले पछ्याएर पुनः नियन्त्रणमा लिएको थियो।

“पहिले हामी कर्मचारी मात्रै थियौँ। पछि नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्यौँ। उहाँहरूको सहयोगपछि राति १२ बजे गाडीलाई यार्डमा ल्याउन सफल भयौँ,” चुडालले बताएका छन्।

बिज्ञापन

ना ६ ख ४८४३ र ना ५ ख ७९२१ नम्बरका कन्टेनर नियन्त्रणमा लिएर खानतलासी गर्दा करिब १ लाख २० हजार पिस भेप बरामद भएको छ। भन्सार स्रोतका अनुसार २ सय ५९ कार्टुनमा राखिएको उक्त भेप अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार करिब २८ करोड रुपैयाँ बराबरको हुनसक्ने अनुमान गरिएको छ। साथै विभिन्न कम्पनीका जुत्ता, रेडिमेड कपडा, मोजा र सामान प्याकिङमा प्रयोग हुने कार्टुन बक्ससमेत फेला परेका छन्।

घटनामा धादिङका सन्तोष लामा, सिन्धुपाल्चोकका फुन्चु दोर्जे तथा अर्का सहयोगी पक्राउ परेका छन्। यसै प्रकरणमा सिन्धुपाल्चोकका रविन्द्र दर्नाललाई भने मुस्ताङको लेते क्षेत्रबाट ट्र्याकिङ गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। अनुसन्धान अधिकारीहरूका अनुसार गाडी नियन्त्रणमा परेपछि दर्नाल सम्पर्कविहीन बनेका थिए र उनी भाग्ने प्रयासमा रहेको आशंका गरिएको थियो।

दर्नाल लिसंखु पाखर गाउँपालिकाका कांग्रेस निकट कार्यपालिका सदस्य रहेको खुलेको छ। तर अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनी पनि मुख्य योजनाकार नभई ‘भरिया’ वा समन्वयकर्ताको भूमिकामा मात्रै रहेको हुनसक्छन्। अनुसन्धान स्रोतले दाबी गरेअनुसार वास्तविक योजनाकार र आर्थिक लगानीकर्ता अझै बाहिरै छन्।

अनुसन्धानमा संलग्न एक कर्मचारीका अनुसार “यति ठूलो परिमाणको खेप कुनै सामान्य समूहले ल्याउन सक्दैन।” ती अधिकारीले उच्च तहको संरक्षणबिना यस्तो जोखिमपूर्ण तस्करी सम्भव नहुने दाबी गरेका छन्। उनका अनुसार घटनाका मुख्य व्यक्तिहरूको सम्बन्ध सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरूको परिवारसँग समेत निकट रहेको आशंका गरिएको छ। यद्यपि यसबारे औपचारिक पुष्टि भएको छैन।

स्रोतहरूका अनुसार कोरोला नाकामा कार्यरत केही पुराना कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका केही अधिकारीहरूको मिलेमतोबिना यस्तो खेप सहज रूपमा नेपाल प्रवेश गर्न नसक्ने आशंका गरिएको छ। सीमावर्ती नाकामा हुने ‘पासिङ सिस्टम’, निगरानी बिन्दु र आवतजावतको सूचना आन्तरिक संरचनामा आबद्ध व्यक्तिबाहेक अरूलाई थाहा पाउन कठिन हुने भएकाले अनुसन्धान अहिले सुरक्षा संरचनातर्फ समेत केन्द्रित हुनुपर्ने माग उठेको छ।

अनुसन्धानमा संलग्न स्रोतहरूले त्यहाँ कार्यरत कर्मचारीहरूको मोबाइल फोन, सम्पर्क विवरण र आर्थिक गतिविधिको अनुसन्धान गरिए वास्तविक ‘नेक्सस’ कहाँसम्म फैलिएको छ भन्ने प्रष्ट हुन सक्ने बताएका छन्। “मोबाइल डेटा, कल डिटेल र वित्तीय कारोबार हेरे मात्रै वास्तविक सञ्जाल पत्ता लाग्न सक्छ,” एक स्रोतले भन्यो।

घटनापछि अब यो प्रकरणलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गर्नुपर्ने माग बलियो बन्दै गएको छ। स्रोतहरूका अनुसार स्थानीय तह वा सामान्य अनुसन्धान संयन्त्रबाट मात्रै यो घटनाको जरोसम्म पुग्न कठिन हुनसक्छ। राजनीतिक र प्रशासनिक दबावका कारण घटनालाई सामान्य बरामदीमै सीमित पार्ने प्रयास हुनसक्ने आशंका पनि व्यक्त गरिएको छ।

सुरक्षा निकायका अनुसार पछिल्लो समय नेपालमा भेपको माग बढ्दै जाँदा चीन सीमावर्ती नाकाहरू तस्करहरूको प्रमुख ट्रान्जिट रुट बन्दै गएका छन्। कोरोला, तातोपानी र कादेरी क्षेत्र हुँदै उच्च कर लाग्ने सामग्री अवैध रूपमा नेपाल भित्र्याउने क्रम बढिरहेको छ। मुस्ताङमा कन्टेनरमार्फत ठूलो खेप र सिन्धुपाल्चोकमा जंगलको बाटो प्रयोग गरेर ‘मानव भरिया’मार्फत भेप भित्र्याइएको घटनाले तस्करी सञ्जाल झन् संगठित र बहुआयामिक बन्दै गएको संकेत दिएको छ।

अब प्रश्न उठेको छ—यो प्रकरण पक्राउ परेका केही व्यक्तिमै सीमित हुनेछ, वा राज्य संयन्त्रले यसको जरोसम्म पुगेर वास्तविक योजनाकार र संरक्षणकर्तालाई सार्वजनिक गर्ने साहस गर्नेछ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

बिशेष