देशकै सबैभन्दा ठूलो र प्रभावशाली मन्त्रालयमध्ये एक मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यतिबेला तीन सांसदबीच प्रतिस्पर्धाको केन्द्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विषयमा आन्तरिक ‘रोस्टर राजनीति’ चर्किएको देखिन्छ।
बिज्ञापन
यो दौडको अग्रपंक्तिमा सुनिल लम्साल देखिएका छन्। रुपन्देही–५ बाट निर्वाचित उनी पार्टीभित्र प्रभावशाली मानिन्छन्। उनलाई गृहमन्त्री बनाउने पक्षबाट समेत बलियो लबिङ भइरहेको चर्चा छ। यदि उनले गृह मन्त्रालय सम्हाल्ने अवस्था बनेन भने, भौतिक पूर्वाधार मन्त्रालय उनको लागि पहिलो विकल्पका रूपमा राखिएको बुझिन्छ।
दोस्रो स्थानमा आशिष गजुरेलको नाम छ, जो सिन्धुली–२ बाट निर्वाचित हुन्। यातायात तथा पूर्वाधार क्षेत्रका विज्ञ आशिष गजुरेल सिन्धुली–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धाबीच उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) लाई पछि पार्दै संसद्को यात्रा तय गरेका हुन्। उनले पूर्वाधार र यातायात क्षेत्रको अनुभवलाई अब नीति निर्माण तहमा उपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
चुनावअघि गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उक्त पदमा उनले दोस्रो कार्यकाल समेत पूरा गरिसकेका छन्। पूर्वाधार विकास र यातायात व्यवस्थापनमा उनको अनुभवलाई अब संसद्मा प्रभावकारी रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ।गजुरेललाई प्राविधिक रूपमा सक्षम र पूर्वाधार क्षेत्रका विज्ञको रूपमा हेरिन्छ। इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका उनले नीति निर्माण र कार्यान्वयन दुवै तहमा अनुभव बटुलेका छन्। पार्टीभित्रको सन्तुलन मिलाउने रणनीतिअनुसार, यदि लम्साल गृह मन्त्रालयतर्फ सरे भने गजुरेल भौतिक मन्त्रालय सम्हाल्ने सम्भावना उच्च रहेको स्रोतहरू बताउँछन्।
बिज्ञापन
यता गोरखा–१ बाट निर्वाचित सुदन गुरुङले पनि मन्त्रालयमा दाबी पेश गरेका छन्। तर, पार्टीभित्रको शक्ति सन्तुलन र प्राथमिकता हेर्दा उनको सम्भावना अपेक्षाकृत कमजोर देखिएको छ।
समग्रमा हेर्दा, मन्त्रालयको भागबण्डा केवल योग्यता वा अनुभवमा सीमित नरही आन्तरिक शक्ति सन्तुलन, नेतृत्वबीचको समझदारी र रणनीतिक व्यवस्थापनमा निर्भर देखिन्छ। भौतिक पूर्वाधार मन्त्रालय कसको हातमा जाने हो भन्ने टुंगो लाग्न अझै केही समय लाग्ने भए पनि, यसले पार्टीभित्रको शक्ति संरचना कस्तो छ भन्ने स्पष्ट संकेत भने दिइरहेको छ।


























