हाल सालै पुराना दलका एक नेताको भनाइ छापामा आएको पढ्न पाईयो, त्यो के थियो भने – यहां पुराना दलहरूले केही गर्न सकेनन् भन्ने भाष्य बनाईएको छ । यिनको यो भनाइ सर्वथा गलत हो। यस्तो भनाइ यस पटक मात्र हैन पटक पटक र उनले मात्र हैन पुराना दलका हरेक नेताले भन्ने गरेका छन्। यो केही गरेनन् भन्ने भाष्य बनेको सही हो तर यो भनाइ पुराना दलहरू प्रति हैन कि ती दलका पुराना नेता प्रति लक्षित छ। आफूलाई पानी माथि ओभानो बनाउन यी नेताहरूबाट यस्तो भनाइ आई रहन्छ। खास रूपमा भन्नु पर्दा निवृत्त हुन पुगेका यी नेताले पार्टी चलाउन नसकेको यथार्थ हो। यसैले यो अपजश पार्टीलाई दिने गरिन्छ। यसो भन्दैमा पार्टीका विधानहरू समय सापेक्ष हुनै नसक्ने गीता र वेदहरू जस्ता पनि हैनन्।समय सापेक्ष रूपमा संशोधन गर्न मिल्ने पार्टी विधानलाई दोष लगाएर नेताहरू चोखिन खोज्नु आफैमा हास्यास्पद हो।
यहां यूवा पुस्ता भन्नाले २० वर्ष देखि ४० वर्ष बीचको उमेर समूहको यूवालाई भन्न खोजिएको छ। हुन त यो उमेर समाजिक,कानूनी र संगठनात्मक परिवेशले निर्धारण गर्छ। हाम्रो जस्तो देशमा विवाह योग्य उमेर, मतदान गर्ने उमेर, निर्वाचनमा उम्मेद्वार हुन पाउने उमेर, सरकारी जागिरमा प्रवेश पाउने उमेर आदिलाई परिपक्वता संग जोडेर हेरेको पाईन्छ। त्यसैले राजनीति पनि यस्तै उमेरका यूवाले संचालन गरून् भन्ने चाहना हो ।
बिज्ञापन
देश र समाजका हरेक क्षेत्रमा यूवाको सहभागिताको अपेक्षा गरिएको हुन्छ। किनभने उनीहरूमा Energy,Enthusiasm,Curiosity, Creativity,Adaptability, Idealism, Ambition,Courage ,Risk taking capabilities, Social Connectivity आदि क्षमताहरू हुन्छन्। यी क्षमताले राजनीतिलाई सजिलै Drive गर्न सक्छ। अहिले हाम्रो देशको राजनीति Drive गर्ने नेताहरूमा यी गुणहरूको सर्वथा अभाव छ। त्यसैले हाम्रो राजनीति , ईन्जिन बिग्रेको गाडीको गतिमा हिडेको पाईन्छ। देशको राजनीतिले आफूलाई यूवाको हातबाट चलोस भन्ने चाहेको छ तर सो चलाउने सिटमा यूवाहरूलाई निषेध गरिदिएका छन् यी पुराना नेताले।
बिज्ञापन
हाम्रा हरेक दलमा देखिएको बिमार हो -हाल पार्टीको नेत्तृत्त्वले यूवा पुस्तामा नेत्तृत्त्व हस्तान्तरण गर्न नमान्नु। वास्तवमा नेपाली जनताले राजनीतिमा यूवा प्रवेशको चाहनालाई गएको निर्वाचनमा परिणामबाट प्रकट गेरेकै हुदा केही पार्टी सभापति र केही स्वतन्त्र उम्मेद्वारले उल्लेख्य मत प्राप्त गरेकै हुन् तर त्यो पर्याप्त देखिएन। संगठन बलियो भएका पार्टीहरु यूवाहरू प्रति उदार नदेखिएका कारण संसदमा यूवाहरूको उपस्थिति त्यति बलियो देखिएन। भौतिक उपस्थितिमा संख्यात्मक रूपमा केही यूवाहरू नभएका पनि हैनन् तर तिनीहरूमा झोले प्रवृत्ति देखियो। यसरी निर्वाचित यूवाहरूले तिनै निष्कृय नेत्तृत्त्वको खराऊ पूजा गरेर बसे तर आफ्नो खुवी र क्षमता देखाउने आंट गरेनन्। आफ्ना नेताले देशको राजनीति उनीहरूको ब्यक्तिगत स्वार्थमा प्रयोग गरिरहदा यी यूवाहरू ताली बजाएर बसेको देखियो।
यसको अर्थ यो नलागोस कि नेपालका हरेक दलभित्र आफ्ना शीर्षस्थ नेताहरू प्रति त्यहाका यूवाहरूको असन्तुष्टी देखिएको छैन। यसै भएर कतिपय नेत्तृत्त्वले असन्तुष्ठहरू उपर कारवाहीको डण्डा हान्न शुरू गरी सकेका छन्। यो डण्डाबाट नतर्सिएर यी असन्तुष्ठहरू एकाकार र गोलबद्ध हुने अवसर पनि आएको सन्दर्भमा ती यूवाहरूद्वारा यो अवसरको सदुपयोग गर्नु पर्ने देखिन्छ।
बिज्ञापन
नेपालमा यूवाहरूको विषयमा कुरा गर्दा हरेक दिन अन्तर्राष्ट्रिय एयर पोर्टबाट विदेशिन वाध्य यूवाहरूको संख्याले नै जवाफ दिन्छ कि देश भित्र रहेका यूवाहरू कति क्षमतावान् होलान भनेर। आजभोली देश भित्र कति यूवा रहेका होलान् भन्ने प्रश्नको उत्तर खोज्न टाढा जानै पर्दैन। यसको निम्ति अधिकांश लाशले आफ्ना सन्ततिको प्रतिक्षामा ४/५ दिन कुर्नु पर्ने स्थिति रहेबाट बुझ्न सकिन्छ। अधिकांश बस्तीहरू उजाडिएको परिस्थितिले पनि यूवाको उपस्थिति खड्किने गरेको छ। विकास निर्माणको काममा यूवाहरूको सहभागिता हेर्ने हो भने पनि उदेक लाग्दो स्थिति देखिन्छ।
हाम्रा देशका यूवाहरू मध्ये मेधावी यूवाहरू टिन एज को अवस्थामै उच्च शिक्षा अध्ययनको लागि विदेशिन्छन् र उच्च शिक्षा लिए पछि स्वदेश फर्कन चाहदैनन्। किनभने उच्च शिक्षा पछिको सीपको प्रयोग गर्ने सहज वातावरण नेपालमा पाईदैन र विदेशमै राजगारीमा रमाउछन् र पछिल्लो जीवन विदेशमै विताउन बाध्य हुन्छन्। यसैले हामीले स्तरीय र प्रतिस्पर्धी उच्च शिक्षा दिने वातावरण नेपालमा मिलाउन नसकेकै कारण मेधावी यूवाहरू गुमाउन पुग्यौ। त्यसै गरी अन्य यूवाहरू वेरोजगार हुदा कामको खोजीमा वर्किंग भीसा लिएर कोरिया, जापान, मध्य पूर्वका देश तिर जाने गर्छन्। यसरी देश भित्र यूवाहरू रहने वातावरण हरेक दिन क्षीण हुदै गएको पाईन्छ।
बांकि रहेका यूवाहरू देश भित्र रहे पनि सरकारी नोकरी तिर लाग्ने र केही यूवाहरू निजी क्षेत्रको रोजगारी तिर लाग्ने हुदा नेपालको राजनीतिमा गुणस्तरीय यूवाहरूको संख्या सीमित रूपमा रहेको पाईन्छ तर तिनै यूवाहरूलाई पनि राजनीतिमा सकृय भूमिका निर्वाह गर्न ति नै म्याद गुज्रेका नेताले पन्छाउछन् भने नेपालको राजनीति कसरी चलायमान होला ? सोझै कल्पना गर्न सकिन्छ।
यसो भनिरहदा नेपालको राजनीतिमा यूवाहरूको भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन। यूवाहरू विदेशिए भनेर यी बुढाहरूलाई नेपालको राजनीतिमा सधै सांढेपांढे हुन दिई रहन सकिदैन। देशको राजनीतिलाई सही मार्गमा हिडाउन यूवाको विकल्प छैन। त्यसैले नेपाल र नेपालीको भविष्य संग जोडिएको राजनीतिमा यूवाहरू अगाडि बढेर राजनीतिक नेत्तृत्त्व लिन कस्सिनु पर्छ।