कुनै राष्ट्रको शासन व्यवस्था सञ्चालन गर्ने, जनताको आकांक्षा र आवश्यकतालाई नीतिमा रूपान्तरण गर्ने तथा समाजलाई विकास र समृद्धिको मार्गमा अग्रसर गराउने महत्वपूर्ण माध्यम भनेको राजनीति हो । राजनीति केवल सत्ता प्राप्त गर्ने प्रतिस्पर्धा मात्र होइन, जनसेवा, सामाजिक रूपान्तरण र राष्ट्र निर्माणको उच्च दायित्व पनि हो । त्यसैले राजनीतिक नेतृत्वको सोच, दृष्टिकोण, चरित्र र व्यवहारले राष्ट्रको वर्तमान मात्र होइन, भविष्यको दिशा समेत निर्धारण गर्दछ । इतिहासले प्रमाणित गरेको छ कि सही दृष्टिकोण र सकारात्मक सोच भएका राजनीतिक नेताहरूले राष्ट्रलाई समृद्ध, स्थिरता र प्रगतितर्फ डो¥याएको हुन्छ भने संकीर्ण सोच, स्वार्थ र नकारात्मक दृष्टिकोण भएका नेतृत्वले समाजलाई विभाजन, द्वन्द्व र पछौटेपनतर्फ धकेलेका छन् । गौतम बुद्धले भन्नुभएको छ– ‘मनोपुब्बङ्गमा धम्मा, मनोसेवा मनोमया’ अर्थात् मन नै सबै कुराको मूल हो, मानिस जस्तो सोच्दछ, अन्ततः त्यस्तै बन्दै जान्छ ।’ यो भनाइले नेतृत्वमा सही सोच र सकारात्मक दृष्टिकोणको महत्व स्पष्ट गर्दछ । नेतृत्वको सोच सकारात्मक भए राष्ट्रले आशा, प्रेरणा र प्रगतिको बाटो समात्छ । सोच नै नकारात्मक भए समाजमा निराशा, अविश्वास र विभाजन तर्फ लैजान्छन् ।
बिज्ञापन
असल राजनीतिक नेतृत्वमा राष्ट्रहित, जनहित, सुशासन, सामाजिक न्याय, समावेशिता, पारदर्शिता, उत्तरदायित्व तथा दीर्घकालीन विकासप्रतिको स्पष्ट दृष्टिकोण हुनुपर्छ । सही दृष्टिकोण भन्नाले राष्ट्र र समाजका विषयलाई सत्य, तथ्य, विवेक, न्याय र नैतिकताका आधारमा हेर्ने क्षमता हो । यस्तो दृष्टिकोण भएको नेतृत्वले व्यक्तिगत स्वार्थ, दलगत आग्रह, गुटगत हित वा सत्ताकेन्द्रित मानसिकता भन्दा माथि उठेर सार्वजनिक हितलाई प्राथमिकता दिन सक्छ । सकारात्मक सोचले उसलाई चुनौतीका बीच सम्भावना देख्न, निराशाका बीच आशा जगाउन र समस्याका बीच समाधान खोज्ने तर्फ काम गर्न स्वयं आफै लाग्छ र लाग्न प्रेरित गर्छ । नेपाली उखान छ, ‘जस्तो दृष्टि, उस्तै सृष्टि ।’ नेतृत्वको दृष्टिकोण जस्तो हुन्छ, समाजमा पनि त्यस्तै संस्कार र वातावरण निर्माण हुन्छ । नेपालका प्रजातान्त्रिक नेता वि.पि. कोइरालाले लोकतन्त्रको सार जनताको सम्मान र स्वतन्त्रतामा रहेको बताउनुभएको थियो । उहाँका विचारमा राजनीतिक शक्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्छ, शासन गर्ने अधिकारका लागि मात्र होइन । यही सोचले नेतृत्वलाई जनउत्तरदायी, जवाफदेही र सेवामुखी बनाउँछ । सही दृष्टिकोण भएको राजनीतिक नेतृत्वले सम्पूर्ण नागरिकलाई समान दृष्टिले हेर्छ । उसले जात, धर्म, भाषा, लिङ्ग, भूगोल, संस्कृति वा राजनीतिक आस्थाका आधारमा विभेद गर्दैन । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सबै नागरिकको सम्मान अवसर र अधिकारको सुनिश्चितताका लागि प्रयत्नशील रहन्छ । समाजका सीमान्तकृत, पिछडिएका तथा कमजोर वर्गलाई विकासको मूलधारमा ल्याउने सोच राख्छ । यस्तो राजनीतिक दृष्टिकोणले समाजमा एकता, सहिष्णुता, सद्भाव र आपसी विश्वासको वातावरण निर्माण गर्दछ ।
बिज्ञापन
तर व्यवहारमा कहिलेकाहीं फरक राजनीतिक विचार राख्ने नागरिकलाई बेवास्ता गर्ने, विपक्षी विचारधाराका व्यक्तिहरूलाई शत्रुका रूपमा हेर्ने तथा आफ्ना समर्थक र कार्यकर्तालाई मात्र अवसर प्रदान गर्ने प्रवृत्ति हावी भएको देखिन्छ । लोकतन्त्रको मूल मर्म भनेको विचारको विविधताको सम्मान गर्नु हो । राज्य सबै नागरिकको साझा संस्था भएकाले विकास, सेवा र अवसरको वितरणमा राजनीतिक पूर्वाग्रह हुनुहुँदैन । नेपाली उखान ‘आफ्नालाई काखा, अर्कालाई पाखा’ यस्तै पक्षपातपूर्ण प्रवृत्तिको प्रतीक हो । जब राज्य सञ्चालनमा यही मानसिकता प्रवेश गर्छ, तब न्याय, समानता र सुशासन कमजोर हुन थाल्छ । विकास योजनाहरू पनि आवश्यकता र प्राथमिकताका आधारमा नभई राजनीतिक निष्ठाका आधारमा वितरण हुन थाल्यो भने त्यसले नागरिकबीच असन्तोष, विभाजन र राज्यप्रतिको अविश्वास बढाउँछ ।
राजनीतिक नेतृत्वको सोच सकारात्मक, रचनात्मक र समाधानमुखी हुनुपर्दछ । सकारात्मक सोच भएका नेताहरू आलोचनाबाट डराउँदैनन्, बरु त्यसलाई आत्मसुधार र नीतिगत सुधारको अवसर ठान्छन् । संकटका समयमा जनतालाई आश्वस्त पार्ने, कठिन परिस्थितिमा सही निर्णय लिने र राष्ट्रलाई सही दिशातर्फ डो¥याउने क्षमता नै नेतृत्वको वास्तविक परीक्षा हो । अब्राहम लिंकनले भन्नुभएको थियो– ‘जनताको सरकार, जनताद्वारा सञ्चालित सरकार र जनताकै लागि सरकार ।’ यो भनाइले राजनीतिक नेतृत्वको उद्देश्य सत्ताको संरक्षण होइन, जनताको सेवा र हित हुनुपर्छ भन्ने सन्देश दिन्छ । असल राजनीतिक नेतृत्वको अर्को महत्वपूर्ण आधार नैतिकता र इमानदारी हो । भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपात र शक्ति दुरुपयोग लोकतान्त्रिक शासनका प्रमुख शत्रु हुन् । जहाँ सही दृष्टिकोण र नैतिक नेतृत्व हुन्छ, त्यहाँ जनविश्वास बलियो हुन्छ । जहाँ स्वार्थ र अनियमितता हावी हुन्छन्, त्यहाँ जनताको विश्वास क्रमशः कमजोर बन्दै जान्छ ।
बिज्ञापन
राजनीतिक क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको अर्को चिन्ताजनक प्रवृत्ति भनेको चुनावका बेला जनतामाझ अव्यवहारिक, असम्भव वा पूरा गर्न नसकिने आश्वासन बाँड्ने संस्कृति हो । केही नेताहरूले जनताको वास्तविक आवश्यकता र राष्ट्रको क्षमताभन्दा बढी सपनाहरू देखाएर मत प्राप्त गर्ने प्रयास गर्ने । चुनावमा जित हासिल गरी सत्तामा पुगेपछि ती आफूले जनताका माझ गरेका प्रतिबद्धता कार्यान्वयन गर्न नसक्नुले मतदाताहरुमा निराशा, असन्तोष र राजनीतिक प्रणाली प्रतिको अविश्वास बढ्छ । यो प्रवृत्ति सही दृष्टिकोण र सकारात्मक सोचको परिणाम होइन, बरु अल्पकालीन राजनीतिक स्वार्थ र अवसरवादको उपज हो । नेपाली उखान ‘मुखमा रामराम, बगलीमा छुरा’ ले बचन र व्यवहारबीचको अन्तरलाई संकेत गर्दछ । नेतृत्वले जनतालाई भ्रमित गर्ने होइन, यथार्थमा आधारित आशा र सम्भावना प्रस्तुत गर्नुपर्छ । जब राजनीतिक नेतृत्वमा गलत दृष्टिकोण र नकारात्मक सोच हावी हुन्छ, त्यसको प्रभाव अत्यन्त गम्भीर हुन्छ । स्वार्थ, अहंकार, प्रतिशोध, असहिष्णुता र सत्तामोहबाट प्रेरित नेतृत्वले राज्य सञ्चालनको मूल उद्देश्यलाई कमजोर बनाउँछ । जनहितभन्दा व्यक्तिगत वा समूहगत हितलाई प्राथमिकता दिँदा भ्रष्टाचार, अनियमितता र शक्ति दुरुपयोग बढ्न थाल्छ । नकारात्मक सोच भएका राजनीतिज्ञहरूले समाजलाई एकताबद्ध गर्नुको सट्टा विभाजित गर्न सक्छन् । जातीय, धार्मिक, भाषिक, क्षेत्रीय वा राजनीतिक भावनालाई उक्साएर क्षणिक लाभ लिन खोज्दा सामाजिक सद्भाव खल्बलिन्छ र राष्ट्रिय एकता कमजोर बन्छ । नेपाली उखान ‘घर फुटे गवाँर लुटे’ ले पनि आन्तरिक विभाजनले समग्र समाजलाई कमजोर बनाउने सन्देश दिन्छ । जब नेतृत्वमा सही दृष्टिकोणको अभाव हुन्छ, तब समाजलाई जोड्ने भन्दा फुटाउने राजनीति बलियो बन्छ र विकासका मुद्दाहरू ओझेलमा पर्न थाल्छन् । महात्मा गान्धीले भन्नुभएको छ– ‘तिमी संसारमा देख्न चाहेको परिवर्तन पहिले आफैं बन’ भन्दै नेतृत्वमा नैतिकता, आत्मानुशासन र उदाहरणीय व्यवहारको महत्वलाई जोड दिनुभएको छ । यी विचारहरूले नेतृत्वको वास्तविक शक्ति पद, प्रभाव वा अधिकारमा होइन, सही दृष्टिकोण, सकारात्मक सोच, नैतिक चरित्र र जनप्रतिको उत्तरदायित्वमा निहित हुन्छ भन्ने स्पष्ट सन्देश दिन्छन् । नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिएको राष्ट्रमा राजनीतिक नेतृत्वको सही दृष्टिकोण र सकारात्मक सोच अझ बढी आवश्यक छ । नागरिकलाई दल, जात, क्षेत्र वा विचारका आधारमा विभाजन गर्ने होइन, सबैलाई समान अवसर र सम्मान प्रदान गर्ने नेतृत्व नै आजको आवश्यकता हो । विकासलाई दलगत प्रभावको साधन नभई नागरिक अधिकारका रूपमा स्थापित गर्न सकिए मात्र वास्तविक सुशासन कायम हुन सक्छ ।
अन्ततः सही दृष्टिकोण र सकारात्मक सोच राजनीतिक नेतृत्वका सबैभन्दा महत्वपूर्ण गुण हुन् । सही दृष्टिकोणले सत्य, न्याय, नैतिकता र राष्ट्रहितको मार्ग देखाउँछ भने सकारात्मक सोचले आशा, आत्मविश्वास, सिर्जनशीलता र समाधानको बाटो खोल्छ । जब राजनीतिक नेतृत्वमा यी दुबै गुणको समन्वय हुन्छ, तब सुशासन, स्थिरता, विकास र समृद्धिको आधार बलियो बन्छ । तर गलत दृष्टिकोण, झुटा आश्वासन, पक्षपातपूर्ण व्यवहार, स्वार्थ र नकारात्मक सोच हावी भएमा त्यसले राष्ट्रलाई विभाजन, अस्थिरता, भ्रष्टाचार र पछौटेपनतर्फ धकेल्न सक्छ । त्यसैले समुन्नत, सभ्य र समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक नेतृत्वमा सही दृष्टिकोण, सकारात्मक सोच, निष्पक्षता, समावेशिता, सत्यनिष्ठा र सबै नागरिकप्रति समान व्यवहारको संस्कृतिको विकास आजको अपरिहार्य आवश्यकता हो ।

























