काभ्रे जिल्लाका प्राचीन सात शहरहरू भन्नाले नाला, बनेपा, साँगा, श्रीखण्डपुर, चौकोट, पनौती र धुलिखेल हुन् । हाल बनेपा नगरपालिकाभित्र बनेपा, साँगा र नाला रहेका छन् भने धुलिखेल नगरपालिकाभित्र धुलिखेल, श्रीखण्डपुर र चौकोट पर्दछन । तर पनौती नगरपालिकामा भने पनौती तथा वरपरका गाउँहरु रहेका छ्न । धुलिखेल नगरपालिकाको बडा नम्बर ५ मा श्रीखण्डपुर सहर पर्दछ ।
बिज्ञापन
श्रीखण्डपुर शहर काभ्रे जिल्लाका एउटा पुरानो व्यापारिक शहर हो । यो शहर काठमाडौंबाट झण्डै २८ कि।मी। पूर्वमा अवस्थित छ । त्यहाँ विभिन्न देवी देवताहरूका पुराना मन्दिरहरू रहेका छन् । श्रीखण्डपुरमा रहेका मन्दिरहरू मध्ये नासटोलमा रहेका श्वेत भैरवको मन्दिर पनि एक हो । यो मन्दिर श्रीखण्डपुरमा रहेका चार ढोका मध्ये उत्तरी ढोका नजिक रहेको छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर तीन तल्लाको रहेको छ । मन्दिरमा रहेका टुँडालहरूमा कलात्मक देवीदेवताका मूर्तिहरू कुँदिएका हुन्। श्रीखण्डपुरको गौरव , पौरख र प्रतिष्ठा नै यो मन्दिरले थामेको छ ।मन्दिरको प्रवेशद्वरमा ढुङ्गाको कलात्मक एक जोडी सिंहहरू रहेका छन । श्रीखण्डपुरका नागरिकहरूले यस श्वेत भैरवलाई आफ्नो आराध्यदेवको रूपमा मान्दै आइरहेका छन ।
बिज्ञापन
श्रीखण्डपुरलाई नेवार समुदायले खड्पु अथवा खंपु पनि भन्ने गर्छन् । श्रीखण्डपुरको ठूलो जात्रा अथवा पर्व भनेको नै बिस्केट जात्रा हो। यस जात्रामा नालाबाट लिंगो लगि हरेक वर्षको चैत्र मसान्तमा उठाई अर्को बर्षको वैशाख महिनामा ढाल्ने गरिन्छ । लिंगो यसै स्वेत भैरवको परिषदमा उठाउने गरिन्छ ।
स्वेत भैरव मन्दिरभित्र जमिनभन्दा गहिरो भागमा स्वेत भैरवको साथ अन्य अष्टमातृकासहितको प्रतिमा स्थापना गरिएको छ । मन्दिरको नाममा गुठी स्थापना गरिएको छ । गुठीद्वारा नै जात्रा पर्वमा पूजाआजा गर्ने व्यवस्था गरिएको छ । यस मन्दिरमा असार महिनामा भुसाराम देश पूजा महत्त्वपूर्ण मानिन्छ । उक्त पूजामा पञ्चबली दिने व्यवस्था मिलाइएको हुन्छ । वैशाखमा हुने जात्रामा गणेश, कुमार र श्वेत भैरवको प्रतिमालाई रथमा राखेर शहरमा बाजागाजाका साथ घुमाउने प्रचलन रहेको छ।
स्मरणीय कुरा यो छ कि श्रीखण्डपुरमा स्वेत भैरव रहेकै कारणले गर्दा यहाँ लाखे नचाउन नहुने , जंकु अथवा भीमरथारोहण गर्न नहुने, पोंगा बाजा बजाउन नहुने, हरिसिद्धि नाँच भित्राउन नहुने र भक्तपुरबाट नवदुर्गा यस स्थानमा आउँदा स्वेत भैरवले ङा लाकेगु अथवा माछा मार्ने नाँच देखाउनु हुँदैन ।
वास्तवमा क्षेत्र स्वेत भैरव एक लुप्त अवस्था र शान्त रहने भएकोले यस प्रकारका क्रियाकलाप गर्नु हुदैन भने जनविश्वास रहेको छ। कुनै पनि स्थानमा त्यहाँ रहेका अथवा चलाएका परम्पराले त्यस ठाउँमा प्रभाव पार्दछ । यही स्वेत भैरव रहेका कारणले गर्दा काभ्रेका सात शहर मध्ये श्रीखण्डपुर शान्त, शालीन र प्राय लुप्त जस्तै देखिन्छ। यहाँको साँस्कृतिक परम्पराले गर्दा यस्तो भएको हो। यहाँ मानिसहरू पनि शान्तिप्रिय तडकभड़क नगर्ने र आफ्नै स्वभावका रहेका छन ।