नेपालको प्रशासनिक इतिहासमा सचिव तहबाट अवकाश पाएको व्यक्ति वकालत पेशा अगालेको घटना बिरलै भेटिएला तर पूर्व प्रशासक यादव कोइराला,कालो कोटमा सजिएर रामशाहपथ,पुल्चोकतिर हिडिरहेका हुन्छन ।उनीसँगै सचिव भएकाहरु वा जुनियर साथीहरु अवकाश अघि वा पछि कोही संवैद्यानिक निकाय,आयोग वा राजदूत लगायतका नियुक्ति खाइरहँदा उनी भने अवकाश पछि वकालततिर पेशातिर मोडिएका हुन । उनलाई अहिले सर्वाेच्च,उच्च अदालत परिसरतिर बढी भेटिन्छ ।
बिज्ञापन
मुख्य सचिवका प्रवल दावेदारका रुपमा हेरिएका सचिव थिए यादव कोइराला तर नियमित प्रक्रियाको अवसान भएर मुख्य सचिवमा भोलिपल्ट अवकाशमा जान लागेका बैकुण्ठ अर्यालले बाजी मारेसँगै गत असार ४ गतेबाट उनी निजामती सेवाबाट अवकाश लिएर हिडे ।राजनीतिक नियुक्ति खानका लागि नेताको दैलो चहार्न जानेनन्,भन्छन्,आजसम्म एक जना मुख्य सचिव,नेताको घर देखेको छैन । नेपालमा इमान्दारिता र योग्यताको कदर हुँदैन भन्ने एउटा उदाहरण हुन यादव ।
बिज्ञापन
स्पष्ट,खरो वक्ता,दायाँ बायाँ नजान्ने प्रशासकका रुपमा आफ्नो छबि बनाएका कोइरालाले निजामती सेवामा २१ बर्ष बढी समय व्यतित गरे । २०५९ मंसिर ११ गते प्रशासन सेवाको उपसचिवबाट निजामतीमा प्रवेश गरेका कोइराला पदमा रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग,स्थानीय विकास, शिक्षा मन्त्रालय तथा उद्योग मन्त्रालयमा काम गरे । २०६६ असोज १ मा सहसचिव भएका कोइराला २०७५ असार तीन गतेसम्म गृह मन्त्रालय काठमाडौँबाट शुरु भई जिल्ला प्रशासन कार्यालय झापा, धनकुटा, ललितपुरलगायत जिल्लामा प्रमुख जिल्ला अधिकारी भई काम गरे ।
त्यसपछि गृह, अख्तियार हुँदै ऊर्जामा सहसचिवका रूपमा काम गरेको उनी २०७५ असार ४ गतेदेखि नेपाल सरकारको विशिष्ट श्रेणीमा उक्लिए । सचिवका रुपमा प्रदेशमा चार महिना, काठमाडौं महानगरको प्रमुख कार्यकारीका रूपमा एक वर्ष, सामान्य प्रशासनमा नौ महिना, स्वास्थ्यमा चार महिना, प्रधानमन्त्री कार्यालयमा तीन महिना, पर्यटनमा एक वर्ष, शिक्षामा नौ महिना हुँदै राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश पाए । अवकाश अघि वा पछि नै कला जान्ने प्रशासकहरुले सेटिङ मिलाएर संवैद्यानिक निकाय,राजदूत खाइरहँदा उनी पनि विशुद्ध वकालत पेशातिर मोडिएका छन् । डिल्लीबजारमा तपशी ल फर्म खोलेर अहिले वकालततिर मोडिएका हुन । अधिवक्ताहरु कृष्णजीवि घिमिरे,डा देवबहादुर बोहराहरु ल फर्मका पार्टनर हुन ।
बिज्ञापन
कर्मचारी प्रेससँग कुराकानी गर्दै पूर्व सचिव कोइरालाले ‘आफूले जनताको भन्दा अरुको काम नगरेको सुनाए । भन्छन्,मन्त्रीहरुलाई लाग्दो रहेछ, मलाई भेट्न,मेरो चाकडी गर्न आउँदैन यो मूला पनि सचिव हो र ? मैले तल जनताको काम गर्नुपर्दछ भनेर काम गरें तर हामीकहाँ पद्धतिले माथिका ५ जनामान्छे खुसी पारे पुग्ने रहेछ । वरिपरिका चाकडी गरेको खण्डमा,घर घर धाएर भेटेको खण्डमा उनीहरु खुसी हुँदा रहेछन् । मैले अहिलेसम्म एक जना मन्त्री,एक जना मुख्यसचिवको घर देखिन,अनि कहाँबाट खुसी हुन्छन ? मेरो दुर्भाग्य त्यो पद्धति अगाल्नै सकिन । त्यो नअगाल्नु मेरो अपराध हो भने मैले ठूलो अपराध गरें ।’गृह सचिवका प्रवल दावेदार हुँदाहुँदै चाकडी,चाप्लुसी नजान्ने,नेतृत्व रिझाउन नसक्दा गृह सचिव नपाएको उनको अनुभव छ ।