काठमाडौं । सुनसरीको देवानगञ्जमा बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा निकायमा व्यापक हेरफेर गरेको छ। घटनामा सुरक्षा व्यवस्थापन कमजोर भएको निष्कर्ष निकाल्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लादेखि प्रदेश तहसम्मका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ टोली खटाएको हो।
बिज्ञापन
गृह मन्त्रालयले सुनसरीका सीडीओ बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ। उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको नयाँ सीडीओका रूपमा सरुवा गरिएको छ।
बिज्ञापन
घटनापछि नेपाल प्रहरीतर्फ पनि नेतृत्व परिवर्तन गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, नक्साल तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाउने निर्णय गरिएको छ।
सशस्त्र प्रहरी बलतर्फ पनि व्यापक फेरबदल भएको छ। सुनसरीमा कार्यरत सशस्त्र प्रहरीका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय फिर्ता बोलाएर उनको ठाउँमा प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाइएको छ। त्यस्तै कप्तानगञ्जस्थित सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उनको स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको छ।
बिज्ञापन
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच विवाद चर्किँदा हिंसात्मक झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको क्रममा भएको घटनामा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र घटनाको कारण, सुरक्षा व्यवस्थापन, बल प्रयोगको औचित्य र जिम्मेवार पक्षबारे प्रतिवेदन पेश गर्न समय दिइएको छ।
उता, घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्था सामान्य नहुँदासम्म कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ।
बोलबम यात्राका क्रममा भएको एउटा विवादले मानवीय क्षति, दर्जनौं घाइते, कर्फ्यु र प्रशासनिक नेतृत्व परिवर्तनसम्मको अवस्था सिर्जना गरेपछि घटनाले राष्ट्रिय स्तरमै चासो र बहस उत्पन्न गरेको छ। अब छानबिन समितिको प्रतिवेदनले घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गर्ने अपेक्षा गरिएको छ।

























