अख्तियारले भूमिसुधारका दुई जना कर्मचारीलाई निलम्बनको आदेश दिएको छ । प्रमुख नापी अधिकृत, नापी अधिकृत र सर्वेक्षकले सेवाग्राहीलाई महिनौं झुलाई लाखौं असुलेर मात्र काम गरिदिएको उजुरीपश्चात निलम्बनमा परेका हुन् । ७ वर्षदेखि निरन्तर एउटै व्यक्ति प्रमुख रहेको नापी विभागअन्तर्गतको नापी कार्यालय कलंकीका नाअ हिरालाल पार्धे र नुवाकोटका सर्वेक्षक अमित श्रेष्ठको जागिर अख्तियारको आदेशमा धरापमा भएको हो ।
बिज्ञापन
कलंकीमा कार्यरत हिरालाल टोली प्रमुख थिए । अमित नुवाकोटबाट काजमा आए । प्रमुख अधिकृत सुदीप श्रेष्ठको आदेशमा अमितलाई हिरालालकै टोलीमा सामेल गराइयो । सेवाग्राहीसँग लिइने ‘खुश’ (सेवाग्राही खुशी भएर दिने रकमलाई कर्मचारीवृत्तमा ‘खुश’ भन्ने गरिन्छ) को काम पनि चलिरहेकै थियो । हिरालालकै क्षेत्रअन्तर्गत घडेरी किनबेचका क्रममा लालपुर्जामा उल्लेख गरिएभन्दा फिल्डमा बढी जग्गा भएको काम आयो । बेच्ने र किन्ने दुवै राजी, बढेको जग्गा कायम गरी क्रेताका नाममा लालपुर्जा बनाउनुपर्ने थियो । बढेको जग्गा पुर्जामा समेटेवापत केही लाख कर्मचारीलाई दिने सहमति भयो । फाइल अमितले टोली नेता हिरालाललाई बुझाए ।
बिज्ञापन
दाङ नापीमा काम गर्दादेखि नै कमाउन सिपालु हिरालालले अमितमार्फत जग्गा किन्नेले गरेको कबुलभन्दा बढी रकम आशा राखे । हाकिमसँग समन्वय गरी फाइल घर्रामा थन्काइदिए । यता अमितले पनि ध्यान दिएनन् । यस क्रममै अमितको काज अवधि सकियो र त्रिशुली फर्किए । दुई महिनासम्म पनि काम नभएपछि जग्गावालाले अमितलाई फोन गरे । उनले तत्काल हिरालाललाई फोन गरी अझै त्यो काम भएन सर ? भनी सोधे । हिरालालले यो तपाईंले नै गर्ने हो, मैले सुदीप सरसँग पनि कुरा गरिसकेको छु, उहाँ र म सँगै छौं भने । म त यता आइसकें, अब कसरी गर्न सक्छु र भन्दा हिरालालले तपाईं त्यहाँ बिदा लेखेर आउनुस्, कामबारे यतै छलफल गरौंला भनेपछि अमित कलंकी आए । काम अमितमार्फत नै अघि बढाइयो ।
महिनौं काम नभएर दिक्क जग्गावालाहरू मागबमोजिम रकम दिन तयार भए । योजनाबमोजिम अमित जग्गावालाबीच भेट भयो । तर, अमित वातावरण अनुकूल नभएको छनक पाई पिसाब फेर्ने बहानामा सुइँकुच्चा ठोके । हिरालालले नै लगातार फोन गरी विभागदेखि मन्त्रालयसम्म पहुँचको आश्वासन दिंदै आऊ, काम गरौं, केही फरक पर्दैन भनेपछि अमित फेरि अर्कोपटक बिदा लिएर कलंकी आए । हिरालालले लुकाएर घर्रामा थन्काएको फाइलमा अमितले काज रहँदाकै पुरानो मिति राखी हस्ताक्षर ठोके । सबै काम सुदीपसँग समन्वय गरी हिरालालले मिलाए र मागबमोजिमको रकम पनि बुझे । मन्त्रालयमा राम्रै शुभलाभ पुर्याएर कलंकी नापीको प्रमुख बनेका भनिएका सुदीप, हिरालाल र अमितले आएको ‘खुश’ भागबण्डा त गरे तर यता अख्तियारमा उजुरी परिसकेको थियो ।
बिज्ञापन
बढी रकम माग गरी महिनौंसम्म काम नगरिदिएर हैरानी खेपेका सेवाग्राहीले घुसको रकम र नम्बरसहित उजुर दिएपछि शुरुमा अमित र पछि हिरालाललाई पनि अख्तियारले हिरासतमा राख्यो । उजुरी, आरोपीको बयान र फोनमा उपलब्ध प्रमाणलाई आधार बनाई अख्तियारले असार २५ गते पत्र पठाएर उनीहरूलाई निलम्बन गर्न आदेश दिएको छ । आयोगको पत्रमा हिरालाल र अमितलाई निलम्बन गरी जानकारी महाशाखा नं. १२, कोठा नं. ३१ मा यथाशीघ्र गराउन भनिएको छ । साथै भ्रष्टाचारको आरोपमा कारवाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफूविरुद्धको प्रमाण लोप वा नाश गर्नसक्ने वा अनुसन्धान र तहकिकातमा बाधा पुर्याउन सक्ने भएकाले निलम्बन गर्नुपर्ने उल्लेख छ ।


























