गृह मन्त्रालयका केही यस्ता ‘भाग्यमानी’ कर्मचारी छन्,जसले लगातार सात वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य पाएका छन् । सहसचिव रुद्रादेवी शर्मा,यस्तै भाग्यमानी प्रशासकहरुमध्ये पर्दछिन् । जसलाई गृह प्रशासनले हिजोमात्र कास्कीबाट धनकुटा खटाइएको छ । यो उनको सातौं जिल्ला हो ।२०८२ जेष्ठ २० गते कास्कीको सिडिओमा हाजिर भएकी शर्मा ठ्याक्कै एक वर्ष कास्कीको कमाण्ड पूरा गरेर धनकुटा पुगेकी हुन्।
बिज्ञापन
०६६ सालमा राजपत्रांकित तृतीय श्रेणीबाट निजामती सेवामा पाइला राखेकी रुद्रादेवीले ६ वर्ष राष्ट्रिय योजना आयोगमा काम गरेको उनको वैयक्ति अभिलेख हेर्दा भेटिन्छ । ०७२ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव र २०७५ सालमा सहसचिव बनेकी उनी त्यस यता लागातार प्रमुख जिल्ला अधिकारी चलाउने अवसर पाएकी छिन् ।
शर्माले रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक, बर्दिया,कास्की हुँदै धनकुटाको जिल्ला प्रशासनको नेतृत्व गर्न लागेकी हुन । ०७६ माघ २४ गतेदेखि रामेछापको सिडिओ बनेर गृह प्रशासनको कमाण्ड शुरु गरेकी उनी करिब एक वर्षपछि गुल्मी पुगिन । त्यहाँ ९ महिना काम गरेपछि २०७८ असोज ४ गते भक्तपुरको सिडिओ भएर १६ महिना चलाइन । त्यस पछि काभ्रेपलाञ्चोकमा ९ महिना र त्यसपछि बर्दियामा एक वर्ष कमाण्ड गरेर कास्की पुगेकी थिइन उनी गत बर्ष । त्यहाँ जाने गरी भिजिट भिषा प्रकरण लाग्नु अघि नै तिर्थ भट्टराईले जोडबल गरिरहेका थिए । तर गृहले सो स्थानमा गत बर्ष रुद्रादेवीलाई खटाएकोमा बर्ष दिनपछि उनी सातौ जिल्लाको कमाण्ड गर्दै धनकुटा पुग्न लागेकी हुन ।
































