काठमाडौँ — वैदेशिक रोजगार विभागभित्र अवैध क्रियाकलापमा संलग्न १३ जना विचौलियालाई पक्राउ गरिएको छ। विभागका कर्मचारी र ड्युटीमा खटिएका प्रहरीको संयुक्त टोलीले मिति २०८२।०८।२४ गते दिउँसो करिब २:३० बजे विभाग परिसरमै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
विभागका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अनलाइन फाराम भरी दिने, श्रम स्वीकृतिका काम सहज गरिदिने, ठगिएको रकम असुल गरिदिने जस्ता बहानामा मोलमोलाइ गर्दै हैरान पार्ने गरेका थिए। सो क्रममा सम्झाइ–बुझाई गर्दा समेत उनीहरूले उल्टै कर्मचारी तथा सुरक्षाकर्मीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।
बिज्ञापन
विभागले आरोपितहरूले सरकारी कामकारबाहीमा बाधा पुर्याउने अभद्र व्यवहारसमेत गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई कानुनअनुसार आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा बुझाइएको विभागले जानकारी दिएको छ।


























