काठमाडौँ । नेपाल ट्रस्टका पूर्वसहसचिव लेखबहादुर कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धान जारी छ। जिल्ला अदालत काठमाडौंले उनलाई थप ८ दिन हिरासतमा राखी अनुसन्धान अगाडि बढाउने अनुमति दिएको हो।
बिज्ञापन
बिज्ञापन
६६ वर्षीय कार्की नेपाल सरकारका अवकाशप्राप्त सहसचिव हुन्। चितवनको भरतपुर महानगरपालिका–१५ निवासी कार्कीलाई शुक्रबार प्रहरीले चितवनबाट पक्राउ गरेको थियो।
बिज्ञापन
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार, कार्कीमाथि नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंस्थित जग्गा लिजमा दिँदा संस्थालाई आर्थिक नोक्सानी हुनेगरी बदनियतपूर्वक सम्झौता गरेको आरोप छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूले कार्कीले ट्रस्टको जग्गा ३० वर्षका लागि भाडामा दिँदा कानुनी प्रक्रिया उल्लङ्घन भएको आशंका गरेको बताएका छन्। सोही प्रकरणमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार, ट्रस्टको जग्गा लिज सम्झौतामा अनियमितता र बदनियतको प्रमाण फेला परेपछि कार्कीलाई पक्राउ गरिएको हो। अनुसन्धान सकिएपछि यसबारे थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


























